Logo
Logo

कर बृद्धिको विरोधमा यातायात व्यवसायीद्वारा चक्का जाम


882
Shares

दाङ । सरकारले रूट परमिटका नाममा झन्डै चार गुणासम्म कर वृद्धि गरेका भन्दै दाङको घोराहीमा नेपाल यातायात राष्ट्रिय महासंघले विरोध प्रदर्शन गरेको छ । बुधबार बिहान घोराही सडक खण्डअन्तर्गत तुलसीपुरमा एक घण्टा चक्का जाम गरेर विरोध गरेको हो ।

महासंघका जिल्ला सचिव घनश्याम बस्नेतका अनुसार सरकारले रूट परमिटका नाममा कर वृद्धि र जरीवाना रकम समेत तीन हजारदेखि पाँच हजारसम्म पु¥याएपछि त्यसको बिरोधमा चक्काजाम गरिएको बताए ।

त्यस्तै सचिव बस्नेतले २०७५ सालमा निर्माण सुरू भएको तुलसीपुर–घोराही चार लेन सडक खण्ड पाँच वर्ष भइसक्दा पनि दश प्रतिशत काम नभएको भन्दै त्यसको पनि बिरोध भएको बताए ।

सरकारले यातायातको कर गुणात्मक रूपमा बृद्धि गर्दा ठूलो मर्कामा यातायात ब्यवसायी र मजदुर परेकाले विरोधस्वरुप चक्काजाम गर्नुपरेको बस्नेतले जानकारी दिए ।

उनले भने, ‘बढाइएको कर कम हुन सक्दैन भने पनि पहिले जति थियो, त्यति नै कायम गरिनुपर्छ भन्ने हाम्रो माग हो । हाम्रो माग सुनवाइ भएन भने दाङबाट सुरू भएको आन्दोलन देशब्यापी रूपमा हुनेछ ।’

झन्डै दुई महिना अगाडि सरकारले पहिला एक वर्षका लागि हुने रूट परमिट जाँच पास घटाएर ६ महिनामा झार्नुका साथै सवारी कर पनि बढाएको थियो । त्यसैको विरोधमा यातायात मजदुर सडकमा उत्रिएका हुन् ।

यस्तै, भदौ १० देखि ११ गतेसम्म यातायात ब्यवस्था कार्यालयमा पुगेर धर्ना दिने र त्यसबाट पनि समस्या समाधान नभए भदौ १९ गतेदेखि पूर्ण रूपमा यातायात बन्द गरि विरोधमा उत्रने कार्यक्रम तय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्