Logo
Logo

देउवालाई ओलीको प्रश्न- एमालेलाई निषेध गर्न ७ दल पुर्‍याउँनुभयो, अब कति पुर्‍याउँनुहुन्छ ?


20.4k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले निषेधको राजनीति गरेको बताएका छन् ।

झण्डै ६ महिनापछि बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार छिरेका एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीको भनाई उदृत गर्दै भेटघाटा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङका अनुसार ओलीले भने, ‘लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष हुन्छन । उनीहरूबीच प्रतिस्पर्धा हुन्छ । तर एमालेलाई निषेध गर्नका निम्ति सत्ता गठबन्धन ७ दलीय पुग्यो । अब ८, ९, १० कति पु¥याउनुहुन्छ ?’

यसबाहेक ओलीले बालुवाटारमा देउवासँग चार कुरा राखेका थिए । ओलीले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक दायरा अनुसार काम गर्दा सत्ता गठबन्धनले राष्ट्रपतिलाई चुनौती दिएर गैरजिम्मेवार चरित्र देखाएको बताएका थिए ।
‘राष्ट्रपतिले संवैधानिक दायराभित्रै रहेर नागरिकता विधेयकलाई पुनर्विचार गरिनुपर्छ भन्नुभएको हो’ ओलीले भने, ‘तपाईंहरूले गठबन्धनको बैठक नै राखेर कमा, फुलस्टप पनि परिवर्तन नगर्ने निर्णय गर्नुभयो। यो जिम्मेवारपूर्ण काम भएन ।’

प्रधानमन्त्री देउवाले प्रतिपक्षीले उठान गरेको विषय आफूले सकारात्मक रूपमा लिएको बताएका थिए । प्रधानमन्त्री देउवाले भने, ‘यसमध्ये कतिपय कुरा मैले गरुँला, तर कतिपय एक्लै गर्नसक्ने कुरा छैन । अबको गठबन्धन मिटिङमा पनि यसबारे कुरा राखौंला ।’

भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । एमालेले स्थानीय चुनावमा सत्तापक्षले राज्य संयन्त्र प्रयोग गरेर धाँधली गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्