Logo
Logo

मकैका ४ नयाँ जात सिफारिस


441
Shares

चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले मकैका ४ वटा नयाँ जात सिफारिस गरेको छ ।

सिफारिस गरिएका ३ वटा वर्णशंकर मकैको जातमा रामपुर हाइब्रिड १२, १४, १६ र एउटा खुला सेचित मकैको जात मनकामना ९ रहेको छ । वर्णशंकर मकै रामपुर १२, १४ र १६ यसै वर्ष तथा खुला मनकामना ९ सन् २०२१ मा सिफारिस गरिएको हो ।

यी नयाँ जातमध्ये खुला सेचित मकै मनकामना ९ लगाएको १ सय ३२ दिनमा पाक्नेछ । प्रतिहेक्टर ५.४४ मेट्रिक टन उत्पादन हुने यो मकै समुद्र सतहबाट ८ सय मिटरदेखि १ हजार ६ सय मिटर उचाइसम्मको मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यकमका प्रमुख चित्रबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी रामपुर १२ मकैको उत्पादन प्रतिहेक्टर ९.४४ मेट्रिक टन रहेको छ । यो तराई र भित्री मधेशमा लगाउन सकिन्छ । रामपुर हाइब्रिड १४ को उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक टन रहेको छ । यो मकै तराई, भित्री मधेश र मध्यपहाडमा लगाउन सकिने मकै प्रमुख कुँवरले बताए ।

त्यस्तै रामपुर हाइब्रिड १६ मकैको उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक टन छ । यसलाई पनि तराई, भित्री मधेश तथा मध्यपहाडी क्षेत्रमा लगाउन सकिन्छ । सन् २०१८ मा सिफारिस रामपुर हाइब्रिड १० तराई र भित्री मधेशमा हिउँदे सिजनको समयमा लगाउन मिल्ने कार्यक्रमका वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले जानकारी दिए ।

यो जातको मकैको उत्पादन प्रतिहेक्टर ८.०५ मेट्रिक टन छ । हाल नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब १८ प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको अनुमान गरिएको छ ।

विदेशबाट आयात गरिने हाइब्रिड बीउ प्रतिस्थापन गर्न स्वदेशमै विकास गरिएका हाइब्रिड बीउ उत्पादन गर्न आवश्यक भएको राष्ट्रिय मकैबाली कार्यक्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्