Logo
Logo

मुगुमा अपांग विद्यार्थीका लागि छात्रवास


441
Shares

मुगु । महाकाली नमुना माध्यमिक विद्यालयका १८ जना अपांगता भएका बालबालिकाको विशेष शिक्षाकालागि छात्रवास भवन निर्माण गरिएको छ ।

बालबालिकाको आवासका लागि दुई तल्ले (१६ कोठे) भवन बनेको हो । ब्याक्टु लाइफ जर्मनीको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक नेपाल) मुगुको प्राविधिक सहयोग र महाकाली नमुना माविको समन्वयमा उक्त भवन बनाइएको हो ।

फरक क्षमता भएका अपांग (कानले नसुन्ने र बोल्न नसक्ने) बालबालिकालाई बस्न समस्या हुँदै आएको थियो । अब उनीहरुलाई बस्न, खान, सुत्न र बिशेष अध्ययनमा सहज हुने भएको छ ।

३० जना अट्ने क्षमता भएको यस भवनमा ४ वटा शौचालय, भान्सा, डाइनिङ हल, मिटीङ हल सहितको व्यवस्था छ । छात्र र छात्राको लागि छुटाछुट्टै आवास र सुत्ने कोठा बनाइएको छ । २ जना शिक्षकका लागि छुट्टै कोठाको व्यवस्था छ ।

फरक क्षमता भएका बालबालिकाका लागि यस विद्यालयमा २४ वटा कोटा छ । हाल ९ जना छात्र र ९ जना छात्रा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक खडक बहादुर रोकायाले जानकारी दिए ।

भवन निर्माणमा १ करोड ३५ लाख ८९ हजार रुपैयाँ खर्च भएको हेरेन्डेक नेपाल मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्