Logo
Logo

घनश्याम भुसालको प्रस्ताव- पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गरौँ


2.5k
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्न पार्टी नेतृत्वमा प्रस्ताव अघि सारेका छन् ।

नेता भुसालले फरकमत पेस गर्दै पार्टीको गल्ती र कमजोरीप्रति क्षमा सप्ताह लिएर जनतामाझ जानुपर्ने प्रस्ताव गरेका हुन् । उनले मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकमा उक्त लिखित प्रस्ताव राखेका हुन् ।

नेता भुसालले भनेका छन्, ‘हाम्रा कुन गल्ती र कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित हामी जनताकोमा जाँदा जनताले ठूलो समर्थन दिनेछन् । अब हामीले गल्ती गर्दैनौं भनेर जनताका बीच गएर हामीले राजा ज्ञानेन्द्रविरूद्ध जनमतलाई एकतावद्ध पारेको कुरा यहाँ स्मरणीय छ । जनताका बीचमा जाने त्यस्तो कार्यक्रमलाई मैले क्षमा सप्ताह भनेको छु ।’

उनले पार्टीमा आफूले सुदृढीकरणको एजेण्डा उठाउँदा अनावश्यक विवादित बनाउने प्रयत्न भएको बताउँदै अनुशासन आयोगको नाममा आफूलाई विवादमा तान्ने प्रयत्न भएको गुनासो गरेका छन् ।

‘मैले पार्टीमा उठाएका प्रश्नहरू पार्टीको भविष्यसँग सम्बन्धित छ । व्यक्तिगत रूपमा लिनु–दिनु छैन’ उनले प्रस्तावमा भनेका छन्, ‘विचारको कुरा उठाउँदा म कहाँ पर्छु मेरो भविष्य के हुन्छ ? कोसँग मिल्दा/नमिल्दा मलाई लाभहानी हुन्छ भन्ने हिसाब–किताब मैले गरेको छैन ।’

एमालेको नेतृत्वमा वाममोर्चा बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने मत उनले राखेका छन् । एमालेको नेतृत्वमा वाममोर्चा बनेको परिस्थितिमा १ सय ५० सिट जित्न सक्ने उनको दाबी छ ।

‘स्थानीय तहको परिणाम हेर्दा वाममोर्चा बनेको अवस्थामा १ सय ६५ सिटमध्ये १ सय ५० सिटसम्म ल्याउन सक्ने देखिन्छ; भुसालले आफ्नो प्रस्तावमा भनेका छन्, ‘नेपाली कांग्रेसले एमालेविरूद्ध कम्युनिष्ट शक्तिलाई नै प्रयोग गर्ने अवस्था देखिँदैछ । त्यसो भएमा निर्वाचनमा मात्रै होइन कम्युनिष्ट आन्दोलनलाई पछिसम्म क्षति पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्