Logo
Logo
कला

‘आफ्नो कला र संस्कृतिलाई प्राथमिकतामा राखेकी छु’


7.2k
Shares

कला क्षेत्रमा सुक्मिता केरुङलिम्बू सुपरिचित नाम होइन । तर, उनी आफ्नो सुमदायमा चर्चित छिन् । ‘मिस लिम्बू-२०११’ सहभागी भएपछि कला क्षेत्रमा होमिएकी सुक्मिता पेसाले फार्मेसिष्ट हुन् । तर, उनी आफ्नो भाषा र कलाप्रतिको मोहले निरन्तर कलाकारितामा सक्रिय छिन् ।

लिम्बू भाषा र संस्कृतिमूलक फिल्म र म्युजिक भिडियोलाई प्राथमिकतामा राखेर कलाकारितामा सक्रिय पाँचथर फिदिमकी कलाकार सुक्मिता भन्छिन्- ‘लिम्बू भाषा, कला र संस्कृतिप्रति जान्ने इच्छाले मिस लिम्बूमा पाटिसिपेन्ट भएँ र, त्यसपछि लिम्बू संस्कृतिमूलक फिल्म र भिडियोहरुलाई प्राथमिकता दिँदै आएकी छु ।’ ‘थिम’, ‘केः’लगायतका लिम्बू कथानक फिल्मका आलाव आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी सुक्मिता सोमबार हङकङतर्फ उडिन् ।

हङकङमा रहँदा पनि कलाकारितालाई निरन्तरता दिने उनले विश्वास दिलाइन् । ‘आफ्नो कला र संस्कृतिका लागि पनि कलाकारितालाई छाड्दिनँ’ सुक्मिताले सुनाइन् । हङकङ उड्नअघि आइतबार दरबारमार्गस्थित एक क्याफेमा सुक्मितासँग भएको दृष्टिको जम्काभेट :

निकै व्यस्त देखिनुहुन्छ नि ?
आज व्यस्त नै छु । भोलि (सोमबार) हङकङ जाँदैछु । मेरो फ्लाईट सोमबार ६ बजे छ । त्यसैले आज किनमेल र भेटघाटमा व्यस्त भएँ ।

हङकङ घुम्नलाई कि उतै बस्नलाई जाँदै हुनुहुन्छ ?
पारिवारिक बाध्यताका कारण उतै बस्नका लागि नै जाँदैछ् । जसरी पनि हङकङ जानुपर्ने भएकाले बाध्य भएकी हुँ ।

तपाइँको फार्मेसिष्टको जागीर के गर्नुभयो ?
मेरो फिदिम जिल्ला अस्पतालमा जागीर थियो । तर, हङकङ जानुपर्ने भएकाले जागीरबाट रिजाइन दिएँ ।

कलाकारिताबाट पनि रिजाइन दिने कि ?
दिन्नँ । सकेसम्म र भ्याएसम्म हङकङमा पनि कलाकारितालाई निरन्तरता दिने प्रयास गर्नेछु । त्यहाँ पनि पछिल्लो समय विभिन्न नेपाली कार्यक्रमहरु हुने गरेको छ । विशेषगरी चासोक तङनाम, उभौली उधौली जस्ता सांस्कृतिक पर्वहरु हङकङमा हुने गरेको देख्छु । त्यस्ता कार्यक्रमहरुमा सकेसम्म सहभागी हुनेछु ।

पेसाले फार्मेसिष्ट हुनुहुन्छ । तर, कलाकारितामा सक्रिय देखिनुहुन्छ नि ?
कलाकारिता मेरो रहर र रुची हो । विशेषगरी मलाई आफ्नो भाषा, कला र संस्कृतिबारे जान्न उत्सुक थिएँ । अहिले पनि उत्सुक नै छु । त्यसैले लिम्बू भाषा, कला र संस्कृतिलाई प्राथमिकता दिएर कलाकारिता गर्दै आएकी छु ।

तपाइँको कलाकारितामा कहाँबाट सुरु भयो ?
‘मिस लिम्बू’मा सहभागी भएपछि कलाकारिता सुरु गरेकी हुँ । सन् २०१६ को ‘मिस लिम्बू’मा सहभागी भएकी थिएँ । र, मैले टपटेनमा परेकी थिएँ भने ‘बेस्ट स्माइल’ टाइटल अवार्ड पनि पाएकी थिएँ ।

‘मिस लिम्बू’मा सहभागी हुने रहर कसरी पलायो ?
मलाई सानैदेखि कलाकारितामा रुची थियो । त्यसमाथि मलाई आफ्नो भाषा, कला र संस्कृति सिक्ने र जान्ने रुची थियो । मिस लिम्बूमा पाटिसिपेन्ट हुँदा आफ्नो संस्कृतिबारे बुझ्न सकिन्छ भनेर सहभागी भएकी हुँ । धेरै कुरा पनि सिकेँ ।

मिस लिम्बूमा सहभागी भएपछि लिम्बू संस्कृतिबारे थाहा भयो त ?
धेरै कुरा थाहा भयो । हुन त मिस लिम्बूमा सहभागी हुनअघि पनि थोरै त थाहा थियो नै । तर, जब मिस लिम्बूमा सहभागी भएँ, त्यसपछि लिम्बू समुदायको चाडपर्व, भेषभूषा र कला संस्कृतिबारे थप जान्ने मौका पाएँ । यस्ता कल्चरल प्रतियोगितामा सम्बन्धीत क्षेत्रका विज्ञहरुले गु्रमिङ गरेको हुन्छ । त्यसैले पनि अबका पुस्ताका लागि यस्ता कल्चरल प्रतियोगिताहरु गर्न आवश्यक छ ।

तपाइँलाई आफ्नो भाषा बोल्न कतिको आउँछ ?
मलाई आफ्नो भाषा बोल्न एकदमै मनपर्छ । त्यसैले जानी नजानी भएपनि आफ्नो भाषा बोल्ने गरेकी छु ।

अहिलेसम्म कति वटा भिडियो गर्नुभयो ?
सोलो भिडियो धेरै गरेकी छैन । आधा दर्जन भयो । तर, मैले कोरसमा बसेर धेरै काम गरेकी छु । मैले त्यसबाहेक दुई फिल्ममा काम गरेकी छु । मैले अहिलेसम्म लिम्बू भाषाका मात्र गरेकी छु । मैले काम गरेका फिल्म ‘केः’ र ‘थिम’ हो । यी दुई फिल्म लिम्बू संस्कृतिमा आधारित हुन् । नेपाली गीतको भिडियोका लागि पनि अफर त आएको हो । तर अहिलेसम्म गरेकी छैन ।

तपाइँको कलायात्रा अनुसार कम ककाम गर्नुभयो । किन ?
पेसाले म फार्मेनिष्ट हुँ । मेरो जागीर गृहजिल्ला पाँचथरमा थियो । म पाँचथरको जिल्ला अस्पतालको औषधि विभागमा काम गर्थेँ । जिल्लामै धेरै बसेका कारण पनि थोरै काम गरेकी हु्ँ । यो मेरो गृह जिल्लाप्रतिको प्रेम पनि हो ।

हङकङ जाँदै हुनुहुन्छ । नेपाली फिल्मका लागि नेपाल बोलाइयो भने आउनुहुन्छ ?
अवस्था हेरेर हुन्छ । सकेसम्म आउने प्रयास गर्छु । राम्रो विषयवस्तुको फिल्मका लागि अफर आयो भने आउँछु किनकि मैले कलाकारितालाई चटक्कै छाडेर हङकङ गएकी होइन । हङकङमा पनि अवसर पाएसम्म कलाकारिता गर्ने सोच छ ।

यसअघि हङकङ जानुभएको थियो ?
थिएन । मेरो पहिलोपटक हङकङ । हङकङमात्र नभएर भारतबाहेक विदेश कतै गएकी छैन । पहिलोपटक नै बस्ने गरी हङकङ जाँदैछु ।

प्रतिक्रिया दिनुहोस्