‘म’ शब्द असाध्यै खतरा हुँदै गएको छ । आज मात्र ‘म’को महत्व बढेको होइन, पहिले पनि बढेकै थियो । जो–कोही कुरा गर्छन् ‘म’को महत्व दर्साउँछन् । आफूभन्दा असल र राम्रो अरुलाई ठान्दैनन् । बरु अरुले आफूलाई ठूलोठालु मानून् भन्ने चाहना जोसुकैको ‘म’मा हुन्छ ।
म शब्द अरुको पनि हुन्छ भन्ने कुरा मान्छेले बुझेकै हुँदैन । उसले बुझेको हुन्छ आफ्नोमात्र म । त्यसैले नजानी–नजानी पण्डित्याइँ छाँटेको हुन्छ । आफूलाई सर्वश्रेष्ठ ठान्छ । अरुलाई साना–तिना भुसुना मानेको हुन्छ ।
म यति घमण्डी हुँदोरहेछ कि नहुने कुरालाई हुने बनाउन प्रयत्न गरेको हुन्छ । प्रयत्नमात्र कहाँ हो र बनाएरै छाड्छ । किनकि त्यहाँ उसको हैकम चलेको हुन्छ । ऊ भन्दा ठूलो त्यहाँ कोही हुँदैनन् । भए पनि उसैले मात्र मान्यता पाएको हुन्छ ।
धन्न ‘म’को करामत । अनि धन्न मान्छेको जात । यो म भन्ने शब्द यति बलियो हुँदोरहेछ कि भन्नै लाजमर्दो– कहिल्यै नब्याउने गोरुलाई पनि गोरु ब्याउँछ भन्ने पुष्टि गरिदिँदोरहेछ यो ‘म’ले । गोरु ब्याउने कुरै हुँदैन तर ‘म’ले ब्याउँछ भन्ने दलिल पेश गरेर पनि आफ्नो ‘म’को करामत देखाएको हुन्छ ।
घटना प्रस्तुत स्मरण गरौं–
म सानो हुँदा दुई मानिसले धान झाँटिरहेका थिए । धानका मालिक अलि टाठाबाठा थिए र साधारण पढे लेखेका थिए । अर्को मान्छे भने निरक्षर सिधासाधा नपढेका ।
टाठाबाठा भन्छन्– ए ठूले अम्बा भनेको के हो ?
सिधासाधा जवाफ दिन्छन्– अम्बा भनेको बेलौंती हो ।
टाठाबाठा भन्छन्– तँलाई के थाहा । पढेको छैनस् । अम्बा भनेको आँप हो । अबदेखि बेलौंती भनेर कहिल्यै नभन्नु ।
वास्तवमा अम्बा भनेको बेलौंती नै हो । तर, टाठाबाठाको ‘म’ले त्यस्तो यथार्थता स्वीकारेन ।
यो एउटा प्रतिनिधिमूलक घटनामात्र हो । यस्ता धेरै घटना हुन्छन् । म भन्ने शब्द नै यस्तो रहेछ कि अरुलाई टेर्दे टेर्दैन । अरु भनेका केही होइनन् । म मात्र हुँ र मैले जे भने पनि ठीक हुन्छ भन्ने भावना धेरै मानिसमा भएको हुन्छ । यो नै मानवीय दुर्गुण रहेछ ।
सिधा मान्छेलाई राम्रै थाहा छ– अम्बा भनेको बेलौंती नै हो । तर, उसको त्यहाँ बोली बिक्दैन । उसको बोलीको मान्यता हुँदैन । अनि अरुले जे भने पनि हो हजुर भनेर भन्नैपर्ने बाध्यता छ । त्यहाँ टाठाबाठाको ‘म’ मात्र बिकेको हुन्छ । सिधा मान्छेको अम्बा र बेलौंती एउटै हो भन्ने कुरा बिक्दै बिक्दैन ।
तर, म केटाकेटी भए पनि अम्बा भन्नु र बेलौँती भन्नु एउटै हुन् भन्ने थाहा थियो । मलाई मेरा गुरुले यसरी नै सिकाउनुभएको थियो । यहाँ पनि टाठा मान्छेको मले काम गर्यो । यसैको विकृतरुप हो अहिलेको म ।
‘म’ को इतिहास पनि त्यत्तिकै रमाइलो रहेछ । हामी सबैलाई थाहा छ कखरा पढाउँदा पनि ‘राम्रो म’ भनेर पढाइन्छ । यसको अर्थ म मात्र राम्रो अरु सबै नराम्रा । ममात्र राम्रो अरु सबै नराम्रा भन्ने कुराको छाप पहिलेदेखि नै परेको हुँदोरहेछ बच्चाहरुलाई पनि । मान्छेले आफ्नो प्रभुत्व बढाउन चाहँदा रहेछन् । हो, अम्बा र आँप भनेको एउटै हुन् भन्नेको स्कुलिङ पनि यस्तै हो ।
‘केश पाके पाको अंग्रेजी बोले विद्धान्’ भन्ने उखान पनि यही ‘म’को करामत रहेछ । मानिसको कपाल सेतो भएपछि उसले ठान्छ– म जस्तो पाको कोही छैन । किनकि उसले धेरै वसन्त पार गरिसकेको छ । उसलाई धेरै कुरा थाहा छ । अनुभव छ र ज्ञान पनि ।
तर, उमेर पाको हुँदैमा सबै ज्ञान उसमा हुन्छ भन्ने हुँदैन । ज्ञानको क्षेत्र अर्कै हो, अनुभवको क्षेत्र अर्कै हो । भन्न खोजिएको कुरा सेतो कपाल हुँदैमा अथवा बुढ्यौलीको कारणले कपाल झर्दैमा म भन्दा ठूलो अरु कोही छैन भन्नु हुँदैन । यो गलत मानसिकता हो । तर, अहिले म को प्रयोग जथाभावी हुने गरेको छ ।
अंग्रेजी बोल्दैमा मानिस विद्धान् हुने होइन । अंग्रेजी एउटा सञ्चार गर्ने भाषामात्र हो, जस्तो हाम्रो नेपाली भाषा । अंग्रेजी भाषाले जे जस्तो काम गर्छ नेपाली भाषाले पनि त्यस्तै काम गर्ने हो । अब विचार गरौंं ! अंग्रेजी, नेपाली र अरु भाषामा के फरक भयो त ? तर, जसले अंग्रेजी बोल्छ, जसको केश पाकेको छ, उसको फुर्ति अर्कै हुन्छ । यो भनेको म को घमण्ड हो ।
म को अर्थ बुझ्न धेरै टाढा जानै पर्दैन । हाम्रै बूढा नेता हेरे भइहाल्यो । उनीहरुको हुइँया सबैलाई थाहा भएकै छ । प्रत्येक बूढा नेताको पण्डित्याइँ सुन्दा–सुन्दा सबैको दिमाग भरिएको छ ।
उनीहरुको म अरुको म भन्दा राम्रो छ भन्ने बखान गरेकै हुन्छन् । मैले गरेको जस्तो अरु कसले गरेको छ भन्ने भनाइ छताछुल्ल गरेकै हुन्छन् । यस्तो भन्ने एउटा बूढो नेताले मात्र भनेको हुन्न, धेरै बूढा नेताहरुले भनिरहेका हुन्छन् । तर, काम भने कसैले केही गरेका हुँदैनन् ।
काम गरेको भए नेपालीको दैनिकी किन यस्तो दयनीय हुन्थ्यो र ? उनीहरुको बोलीमा एउटा हुन्छ, व्यवहारमा अर्कै । बोलीअनुसार काम गरेको भए नेपाल पक्कै स्वीटजरल्याण्ड हुन्थ्यो होला । त्यतिमात्र कहाँ हो र ? बेलायत, अमेरिका पनि भइसक्थ्यो होला । यो पनि म कै करामत हो ।
सबै नेताको म सर्वश्रेष्ठ तर व्यवहारमा शून्य । भन्नलाई जे पनि भन्ने गर्न भने शून्य । अहिले पनि तपाईं हामीलाई थाहा भएकै हो दलहरूले कति राम्रा एजेण्डा ल्याएका हुन्छन् । राम्रा–राम्रा नारा दिएका हुन्छन् । मिठा–मिठा भाषण गरेका हुन्छन्, मातहतका अधिनस्थहरूलाई निर्देशन गरेका हुन्छन् तर यिनीहरुले केही काम गरेकै हुँदैनन् । म को मात्र फुर्ति लगाएका हुन्छन् ।
साँच्चै नै प्रत्येक ‘म’ले देश बिगारेको छ । एउटा ‘म’ले आफूलाई मात्र सबै कुरा गर्दोरहेछ । धेरै म मिलेर सबैको लागि काम गरेको भए देशको अवस्था कति राम्रो हुने थियो होला ? खै नेताहरुले बुझेका ?
जीवनको उत्तराद्र्धमा आइपुग्दा पनि आफ्नै ‘म’को कति बिघ्न माया लाग्ने रहेछ यिनीहरुलाई । त्यसैले पद र पैसाका लागि सधैँ भोकमात्र लाग्ने । कहिले पनि नअघाउने । कस्तो अचम्मको म ?
छोरा, नाति, पनातिसम्मका लागि सबैथोक गर्नैपर्ने । त्यतिमात्र कहाँ हो र अरु कतिलाई कति–कति गर्नैपर्ने । भोट नदिए देशमा बिग्रह आउने अरे ! आफ्ना मान्छेलाई नजिताए सरकारी बजेट पनि नदिने अरे ! कस्तो ‘म’को घमण्ड ?
म को घमण्ड यसरी बढिरहेको छ कि– सबै ‘म’ले धेरै गरेका कुरा भाषणमा भनेका हुन्छन् । जति भने पनि जनताले पत्याउने आधार त केही छैनन् । आर्यघाट नपुगेसम्म ‘म’ले कसैलाई छाड्दै नछाड्दो रहेछ । सधैँ मन, मस्तिष्कमा बसी नै रहँदोरहेछ । धन्न ‘म’को करामत ।
‘म’को घमण्ड शहरबजार र नेताहरुमा मात्र होइन, जहाँसुकै जताततै फैलिएको छ । गाउँघरमा पनि शहरमा जस्तै ‘म’को सञ्जाल फैलिएको छ । यो म भन्नेले अरुलाई त के गर्ला तर हामी जस्तालाई भने ठगेकै हुन्छ, हडपेकै हुन्छ ।
उनीहरुकै बोली बिकेको हुन्छ । कानुनले गर्न हुँदैन भने पनि अपव्याख्या गरेर आफ्नो स्वार्थ पूरा गरेकै हुन्छन् । शक्तिशाली ‘म’ले कमजोर ‘म’लाई ठगेकै हुन्छ । जालझेल, छलकपट गरेकै हुन्छ । भ्रमका खेती गरेकै हुन्छ । हो, यहाँ यस्तै चलिरहेछ र यस्तै भइनै रहेछ । कस्तो ‘म’को करामत ?
संक्षेपमा, हो यस्ता बिग्रिएका धेरै म मिलेर एउटा सिंगो हामी भन्ने शब्द बनिदिए कति राम्रो हुने थियो है ! त्यसैले भन्न मनलाग्छ ‘हैन ! के हो यो हामी हुन नसकेको म भनेको ?’