नेपाली कम्युनिष्ट आन्दोलनले अविछिन्न यात्री, अनवरत संघर्षशिल, निष्ठाको पहाड, वर्गीय तथा महिला मुक्तिको क्रान्तिकारी अगुवा यमुना भुसाललाई गुमाएको छ ।
पछिल्लो समय वामपन्थी आन्दोलनमा हुर्कदो अवसरवाद, वैचारिक स्खलन, बुर्जुवा जीवनशैली, हराउँदै गएको वर्गीय चरित्रको वर्तमान परिवेश हेर्दा निष्ठाको पहाड हुनुहुन्थ्यो, नेतृ भुसाल । अर्घाखाँची निवासी भुसाल पछिल्लो पुस्ताका लागि जान्ने र सिक्नै पर्ने आदर्श प्रेरणामा पर्नुहुन्छ ।
मुलुकको वर्गीय असमानता, अन्याय, अत्याचार र लैङ्गिक विभेदविरुद्ध सानैदेखि लड्नुभएका भुसाल जीवनको अन्तिम यात्रासम्म आफ्ना मूल्य, मान्यता र आदर्शमा दृढ हुनुहुन्थ्यो ।
२०४१ सालदेखि राजनीतिक संघर्षमा अविचलित लाग्नुभएका उहाँ आफूविरुद्ध लागेको रोगसँग भने पराजित हुनुभयो । ०७८ कार्तिक ७ गते एकाएक हृदयघात भएर अप्रेशन गरी नयाँ जीवन पाउनु भएका भुसाल अन्ततः ०७९ पुस ७ गते त्यहीँ पीडा दोहोरिएर विदा हुनु भयो ।
पुस ७ गते देशमा राजनीतिक गर्मागर्मी थियो । शक्ति र सत्ता हत्याउने राजनीतिक माहोलबीच एक्कासी भुसालको निधन भएको खबर सामाजिक सञ्जालभर फैलियो । सुरुवातमा भुसालबारे लेखिएका सन्देशको खासै विश्वास लागेको थिएन । अन्ततः सत्य कुरा स्वीकार्नु बाहेक अर्को विकल्प थिएन ।
२०१९ भादौ ३१ गते जन्मनु भएका भुसालले एक्लो जीवन बिताउँदै आउनुभएको थियो । देश, जनता र क्रान्तिको पक्षमा सिंगो जीवन समर्पित गर्नुभएका भुसालले विवाहसमेत गर्नुभएन । राजनीतिक कार्यकर्ताले एक्लो जीवन बिताउनखोज्नु चानेचुने त्याग होइन् । धन, सम्पत्ति, परिवार उहाँको प्राथमिकतामा कहिल्यै परेनन् । वर्गीय मुक्ति र कम्युनिष्ट सत्ता नै उहाँको सर्वपरी सपना थियो ।
यहीँ सपना पुरा गर्ने ध्येयले उहाँ राजनीतिमा होमिनुभएको थियो । सायद सपना पुरा नभएरै होला स्वास्थ्यले हार खादै गर्दा पनि उहाँको राजनीति सक्रियता बढो गज्जवको थियो । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा गाउँगाउँ खटिएर उहाँले देखाउनुभएको आत्मविश्वास कार्यकर्ताको मनमा ताजै स्मरण छ ।
सिंगो जीवनको यात्रा राजनीति बनाए पनि राजकीय सुविधामा भुसाल कहिल्यै पुग्नुभएन । राजनीतिमा लागेर धन कमाउनु पर्छ भन्ने मान्यता उहाँमा थिएन । क्रान्तिप्रति निष्ठावान उहाँ ०४१ देखि पूर्णकालीन भएर राजनीतिमा सक्रिय हुनु भयो ।
भुसाल दाजु शहीद सरोज शर्माकी कान्छी बहिनी हुनुहुन्छ । शर्मा तत्कालीन मसालका नेता हुनुहुन्थ्यो । उहाँ २०४० सालमा (अहिले प्रकाशन हुँदै आएको) हाँक पत्रिकाको सम्पादक र प्रकाशक हुनुहुन्थ्यो । साथै सिन्धुपाल्चोकमा रहेर शर्माले शिक्षण पेशा अङ्गाल्नुभएको थियो ।
राजनीतिक कार्यकर्ताले एक्लो जीवन बिताउनखोज्नु चानेचुने त्याग होइन् । धन, सम्पत्ति, परिवार उहाँको प्राथमिकतामा कहिल्यै परेनन् । वर्गीय मुक्ति र कम्युनिष्ट सत्ता नै उहाँको सर्वपरी सपना थियो ।
रामराजाप्रसाद सिंहको नेतृत्वमा काठमाडौं लगायत देशका विभिन्न ठाउँमा बम विष्फोट भएपछि शर्मालाई तत्कालीन सरकारले पक्राउपूर्जी जारी गरेको थियो । त्यसपछि भारत जानु भएका शर्मा प्रवाशमा रहेर पत्रकारिता गर्नुभयो । त्यसताका उहाँ नेपाली एकताको सह–सम्पादक हुनुहुन्थ्यो ।
त्यहाँ पत्रिका वितरण गर्दैगर्दा गुप्तचर लगाएर उहाँलाई रहस्यात्मक ढंगले २०४३ भदौ ११ गते भारतको दिल्लीस्थित बेलारोडमा हत्या गरिएको थियो ।
राजनीति परिवारको पृष्ठभूमि रहेकी भुसाल नेकपा (मसाल)मा लामो समय काम गर्नुभएको थियो । मसालमै रहँदा दैलेख, चितवन लगायतका धेरै जिल्लामा उहाँ भूमिगत रुपमा रही काम गर्नुभएको थियो । पार्टीले जहाँ खटाए पनि उहाँ निसंकोच जानुहुन्थ्यो ।
विभिन्न कालखण्डमा मसालमा देखिएको टुटफुटसँगै उहाँको राजनीति यात्रा विभिन्न पार्टीमा हुन पुग्यो । सधैं विद्रोहलाई साथ दिने भुसाल ०७८ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गर्नुभएको थियो ।
माओवादी हुँदै ०७४ सालमा नेकपा (एमाले)मा प्रवेश गर्नुभएका उहाँलाई पार्टीले लुम्बिनी प्रदेश कमिटी सदस्य बनाएको थियो । ०७७ मा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भुसाल केन्द्रीय सदस्य बन्नुभयो । (नेकपा) विभाजन पश्चात एमालेमा रहनुभएका भुसाल एमालेबाट विद्रोह गरी माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) मा लाग्नुभएको थियो ।
पछिल्लो समयमा भुसाल नेकपा (एकीकृत समाजवादी)मा क्रियाशिल हुनुहुन्थ्यो । एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्घाखाँची सह–इन्चार्ज भएर काम गरिरहनुभएको थियो ।
कम्युनिष्ट पार्टीमा देखिँदै आएका विभाजनका रुपमासमेत अविचलित भएर उहाँले कम्युनिष्ट आन्दोलनविरुद्ध कुनै सम्झौता गर्नुभएन । भुसालका तीन दाजुभाई र उहाँसहित पाँच दिदी बहिनी हुनुहुन्छ । भुसालको सिंगो परिवार राजनीतिमा समर्पित छ । पछिल्लो समय भुसाल शहीद शर्माका छोरीहरुसँग अर्घाखाँची–काठमाडौं बस्दै आउनुभएको थियो ।
भुसालको निधनप्रति विभिन्न व्यक्तिहरुले निष्ठावान नेताको अवशान भएको टिप्पणी गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भुसालको देवसानले कम्युनिष्ट पार्टीलाई गम्भीर क्षति पुगेको प्रतिक्रिया दिनुभएको छ । भुसालको अन्त्यष्टीमा पुग्नुभएका दुवै नेता भावह्विल देखिनुहुन्थ्यो ।
सामाजिक सञ्जालमा भुसालबारे केपी खनालले लेख्नुहुन्छ– ‘०६२–६३ तिर पहिलोपटक भेट्दा उहाँको ओजिलो भाषणले खुबै प्रभावित भएको थिए । आजसम्म कुनै लाभको पद नलिएरै दिलोज्यान दिएर राजनीति र सामाजिक सेवामा होमिए नेता, आज अप्रत्याशित रुपमा अस्ताएको सुन्दा भाव विह्विल हुन पुगेँ ।’ हार्दिक श्रद्धाञ्जली दिदी !
रामहरि धिताल विगत सम्झदै लेख्नुहुन्छ– ‘२०५४ देखि २०६५ सम्म दिदी यमुना भुसालको समिपमा बसेर काम गर्दाका क्षण स्मरण भैरहेको छ । दिदीको न्यानो माया, नैतिकता, कम्युनिस्ट आदर्श र जीवन र दर्शन बुझ्ने मौका पाएको झल्झली सम्झिरहेछु । आज दिदीको निधन भएको खबरले निक्कै भावुक भएको छु । वर्गीय दिदी यमुना भुसाललाई मुठ्ठी कसेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दछु ।’
बाँचुन्जेल केही नपाए पनि कमरेड भुसालले देखाएको बाटोमा हिडे मात्र उहाँप्रतिको श्रद्धाञ्जलीले अर्थ दिन सक्छ । वर्गीय विभेदविरुद्ध लडिरहेको कम्युनिष्ट आन्दोलन क्षतविक्षत भएको बेला भुसाल जस्ता नेताको जीवनबाट धेरै कुरा सिक्न जरुरी छ ।
राजनीति केवल स्वार्थ र सत्ताका लागि मात्र होइन् भन्ने बलियो उदाहरण कमरेड भुसाल हुनुहुन्छ । प्रेरणादायी नेता आदरणीय कमरेड यमुना भुसालप्रति भावपूर्ण श्रद्धासुमन, शोक सन्तब्ध परिवारजनमा हार्दिक समवेदना !