दरबारहरूको हातामा कैद भएको सपना
अनिकाल र विभेदको मानचित्रमा हाँसिरहेको देशसँग
जीवनको हिसाब खोज्दै, मृत्यु रोजेर
सम्बन्धबाटहरूबाट बिच्छेद भएका हौं हामी ।
समाजवादको सागरमा
भविष्यको जहाज खियाउँदै
मोक्ष प्राप्तिको लक्ष्य बोकेर
रगतले मृत्युपत्रमा हस्ताक्षर गरि
बोइलर मुटु बोकेर हिँडेका
शासकहरूलाई परास्त गर्न
आफ्नै आयुलाई हत्केलामा राखेर
शयर भएका हौं ।
यो अँध्यारोविरुद्ध
जुनकीरीको उज्यालो निकालेका हौं
र’त मैदानमा
कोही हिँड्दाहिँड्दै बीच बाटोमा
कोही लड्दालड्दै आधा मोर्चामा
सहिद भएका हौँ ।
तर –
अचम्म दुनियाँ
अभाव र विभेदको पहाड
झन् झन्
सगरमाथा छिचोल्दै उकालै उकालो लाग्दै गयो ।
समृद्धको सालिक पूज्नेहरूले
म र म जस्ता शहीदहरूको रगत
सिनित्तै पारेपछि
वर्ष दिनमा एकचोटि डकार्ने
शहीद दिवस चाहिँदैन अब ।।
शहीदहरूको सम्मानमा एक मिनेट मौनधारणमा
लत्रिने तिम्रा शिरहरू चाहिँदैन अब
सालिकबाट निस्केर म शहीद
तिमी विरुद्ध युद्ध मैदानमा फेरि तैनाथ भइसकेको छु ।