माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वका सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि भूमिका रह्यो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन राप्रपासहितका सात दलले राष्ट्रपतिलाई चिठी लेखे । त्यही आधारमा प्रचण्डलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्ति गरिन । प्रधानमन्त्रीले २६ पुसमा विश्वासको मत लिँदा पनि राप्रपा प्रचण्डकै पक्षमा उभियो । तर, सातदलीय गठबन्धन दुई महिनामै भत्कियो ।
राष्ट्रपति निर्वाचनमा सातदलीय गठबन्धन भत्किएर विगतको पाँचदलीय गठबन्धनकै जगमा आठदलीय समिकरण बन्यो । त्यसपछि राप्रपा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो । सरकारमा सहभागी र फिर्ता हुनुको कारण र नेकपा (एमाले)सँगको सम्बन्ध लगायतका विषयमा राप्रपाका महामन्त्री तथा संघीय सासद डा. धवलशमशेर राणासँग दृष्टिले विज्ञाशा राखेको छ ।
एमालेले गणतन्त्रमा जाने निर्णय गरेपछि राणा त्यतिबेला एमाले पार्टी परित्याग गरेर राप्रपामा लागेका हुन् । वि.सं. २०६३ को राजनीतिक परिवर्तनपछि राप्रपाको सदस्यता लिएका राणा हाल संघीय सांसद छन् । वि.सं. २०५४ सालमा एमालेबाट नेपालगञ्जको मेयरमा जितेका राणा वि.सं. २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।
वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा राणा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । राणा यसपटक एमाले–राप्रपा गठबन्धनबाट निर्वाचत भएका हुन् । उनै राणासँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।
गत निर्वाचनमा नेकपा (एमाले)सँग मिलेर जानुभयो । एमालेकै कारण राप्रपा सरकारमा पनि गयो । तर, राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा एमालेसँग किन टाढिनुभयो ?
गत प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकअर्कालाई सहयोग गरेकै हुन् । पाँचदलीय गठबन्धन निर्वाचनका गएको अवस्थामा हामी पनि मिल्नुको विकल्प थिएन । हामीले केन्द्रमा नीतिगत निर्णय गरेर तालमेलको अधिकार प्रदेशलाई दिएका थियौँ । त्यसैअनुसार कतिपय क्षेत्रमा तालमेल भएको हो । मिल्न सक्ने ठाउँमा हामी मिल्यौँ, मिल्न नसक्ने ठाउँमा एक्लै निर्वाचन लड्यौँ । राजनीतिक आवश्यकताले सरकारमा जाने स्थिति पनि बन्यो । हामी अनुकुल सरकार चल्न नसक्ने देखिएपछि सरकारबाट फिर्ता भएका छौँ । हामीले चाहेको संवैधानिक राजासहितको प्रजातन्त्र हो । एमालेले राष्ट्रपतिमा उमेदवार उठाएपछि हामीले समर्थन गर्ने कुरै भएन नि ।
विगतमा राष्ट्रपति निर्वाचनमा राप्रपाले भोट हालेको थियो । यसपटक एमाले उम्मेदवार हार्ने निश्चित भएपछि राप्रपा तटस्थ बसेको त होइन ?
विगतका गल्तीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने हुन्छ । विगतमा गल्ती भयो । हामीले त्यसबाट पाठ सिकेर अहिले राष्ट्रपतिमा भोट नहाल्ने निर्णय लिएका हौँ । आखिर जीवन र राजनीतिमा गल्ती, कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्ने त हो नि । विगतका गल्ती भयो भनेर नै अहिले गल्ती नदोहोर्याउने निर्णयमा पुगेका हौँ ।
अब उपराष्ट्रपति निर्वाचनमा राप्रपाले के गर्छ ?
राष्ट्रपति निर्वाचनमा हामीले जे गर्यौं, उपराष्ट्रपति निर्वाचनमा पनि हामी त्यही गर्छौँ । अर्थात, हामी उपराष्ट्रपति निर्वाचनमा पनि कसैलाई पनि मतदान गर्दैनौँ । हामी त संवैधानिक राजा ल्याउँछौँ भनेर हिँडेका छौँ । हामी त्यसतर्फ नै केन्द्रित छौँ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केमा कुरा मिलेन र टाढा हुने स्थिति बन्यो ?
एमाले र राप्रपा अलग–अलग पार्टी हो । हामी हाम्रो निर्णय गर्न स्वतन्त्र छौँ । हामीले पार्टीनीति र जनताको हित हेरेर काम गर्ने हो । त्यहीअनुसार हामीले निर्णय लियौँ । त्यो क्रममा कहिले कोसँग नजिक, कहिले कोसँग नजिक हुन सकिन्छ । मुद्धा मिलेको अवस्थामा राजनीतिक दलहरूसँग सहकार्य गर्न सकिन्छ । यसको अर्थ अर्को दलकै सहयोगी हो भन्ने हिसाबले हेरिनु हुुँदैन । हामी छुट्टै विचार र अस्तित्व भएको राजनीतिक दल हौँ ।
एमालेलाई राप्रपाले धोका दिएको त हो नि ? राष्ट्रपति निर्वाचनमा एमाले एक्लै पर्याे ?
यहाँ धोकाको कुरै छैन । हामीले एमालेलाई राष्ट्रपतिमा भोट हाल्छौँ भनेकै छैनौँ । हामीले आफ्नो विचार अनुसार निर्णय गरेका हौँ । हामीले राष्ट्रप्रमुखको रुपमा राजसंस्थालाई अगाडि सारेका छौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा कसरी भोट हाल्ने ?
स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा राप्रपालाई सहयोग गर्यौं, अहिले राष्ट्रपतिको निर्वाचनमा राप्रपाबाट धोका भयो । जसको कारण माहोल बिग्रियो भन्ने छ नि त ?
निर्वाचनमा उहाँहरूले मात्रै हामीलाई सहयोग गरेको होइन । हामीले पनि उहाँहरूलाई सहयोग गरेका छौँ । उहाँले हामीहरूलाई भन्दा हामीले उहाँहरूलाई चौगुणा बढी परिणाम दिलाएका छौँ । राष्ट्रप्रमुखमा राजा हुनुपर्छ भन्ने हाम्रो विचार भएका कारण हामीले राष्ट्रपति निर्वाचनमा भोट नहालेका हौँ । अर्को कुरा के भने, यसअघिका दुबै राष्ट्रपतिको भूमिका दलगत देखियो । राष्ट्रपतिले निष्पक्ष भूमिका, अभिभावकीय भूमिका खेल्न सक्ने देखिएन । त्यसकारणले हामीले विगतको कमजोरी सच्याएका हौँ ।
भनेपछि अब राप्रपा एक्लै अगाडि बढ्छ ?
हाम्रो योजना त्यही छ । हामी हाम्रो मुद्धालाई सशक्त रुपमा उठाउने छौँ । मुद्धामा आधारित सहकार्य भने गर्न सकिन्छ ।
एमालेसँग अब सहकार्यको सम्भावना समाप्त भयो कि अझै बाँकी नै छ ?
अहिले स्थिति हेर्दा एमाले र हामी प्रतिपक्षमा हुन्छौँ । त्यसअर्थमा फेरि पनि हाम्रो सहकार्य हुन सक्छ । साझा एजेण्डामा मिलेरै अगाडि बढ्नुपर्ने हुन्छ । त्यसकारण राष्ट्रपति र उपराष्ट्रपतिमा सहकार्य भएन भनेर सहकार्यको ढोका सँधैको लागि अन्त्य भयो भन्ने होइन । राष्ट्रियताको विषयमा एमालेसँग मिलेर जान सक्ने सम्भावना रहिरहन्छ ।
राष्ट्रियताको अर्थ पनि राप्रपा र एमालेको फरक होला नि ? कि एउटै छ ?
राष्ट्रियताको विषय पनि कही फरक हुन्छ र ? राष्ट्रियता भनेको त राष्ट्रियता नै हो नि । यसमा पनि फरक आँखाका हेर्नुपर्छ र ?
अब तपाईँहरू के एजेण्डा उठाउनुहुन्छ ?
संवैधानिक राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र हाम्रो मुख्य एजेण्डा हो । यसका साथै सुशासन, विकास–निर्माण र जनजीविकाको सवाललाई हामीले जोड दिएका छौँ । विकृति, विसंगति र भ्रष्टाचार निर्मूल पार्ने हाम्रो अठोट छ । विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गरेर देशमा थिति बसाल्नु छ । अहिले व्यापक मात्रामा भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचारको अन्त्य र देशको उन्नती, प्रगतिको लागि हामी राजनीतिमा होमिएका छौँ । यही विषयलाई हामी सशक्त रुपमा अगाडि बढाउछौँ ।
तर, तपाईँहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जानुभयो, काम गर्न सक्नुभएन, बाहिरिनुभयो । जनताले तपार्ईँहरूबाट अब के आशा गर्ने ?
हामी सरकारमा राम्रै गर्न गएको हो । चारैतिर देखा परेको आपत्कालीन परिस्थितिमा सुधार गर्न सकिन्छ कि भनेर हामी सरकारमा गएका हौँ । तर, त्यो गलत साबित भयो । अस्थिर मनस्थितिका नेताहरूको कारणले हामीले समर्थन पनि फिर्ता लियौँ । र, सरकारबाट पनि फिर्ता भयौँ । काम गर्ने वातावरण नभएपछि त हामी फिर्ता भइहाल्यौँ नि ।
केन्द्रमा सरकारबाट फिर्ता हुनुभयो, प्रदेशमा त फेरि सरकारमै हुनुहुन्छ नि किन ?
प्रदेश सरकारबाट पनि छाड्नुपर्छ भन्ने निर्णय हामीले गरेका छौँ । निर्णयलाई परिस्थिति हेरेर कार्यान्वयन गर्ने जिम्मा प्रदेश समितिहरूलाई दिएका छौँ । प्रदेश समितिहरूले निर्णय कार्यान्वयन गर्दै हुनुहुन्छ ।
माओवादी केन्द्रका नेता मुख्यमन्त्री भएको ठाउँमा सरकारबाट फिर्ता हुनुभयो, एमाले नेता मुख्यमन्त्री भएको ठाउँमा फिर्ता हुनुभएन । कस्तो दोहोरो नीति हो तपाईँहरूको ?
हामीले प्रदेशका मन्त्रीहरूलाई सरकारबाट फिर्ता गराउ प्रदेश समितिहरूलाई नै जिम्मा दिएका छौँ । प्रदेश समितिहरूले आफ्नो अनुकुल हुने गरी निर्णय गरिरहेका होलान । त्यसक्रममा कही चाँडो फिर्ता भए होलान, कही ढिलो भयो होला । यसलाई दोहोरो नीतिमा रुपमा बुझ्नु हुँदैन ।
राप्रपा फेरि सरकारमा जान्छ कि जाँदैन ?
अहिले पार्टीभित्रको मनस्थिति के छ भने, हामी प्रतिपक्षकै भूमिकामा जानुपर्छ । सशक्त विपक्षको रुपमा जनताको जीवनस्तर उठाउनका लागि भूमिका खेल्नुपर्छ । सरकारमा गएर केही हुन्छ कि भन्ने ठानेका थियौँ । तर, त्यस्तो हुन सकेन । र, अब हामी सरकारभन्दा बाहिर बसेर जनताको पक्षमा आवाज बुलन्द गर्छौँ । हाम्रो मूल्य र मान्यतालाई कायम गर्नका लागि आन्दोलनमा जानुपर्छ भन्ने मानसिकता पार्टीमा बन्दै छ ।
कस्तो आन्दोलनको तयारी हो फेरि ?
सदन र सडक दुबैतिरबाट हामीले आन्दोलन उठाउनुपर्ने भएको छ । सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रका लागि आन्दोलन गर्नुपर्ने छ । राजासहितको प्रजातन्त्रका लागि पनि आन्दोलनको विकल्प छैन । संघीयता सफल भएन भन्ने कुरालाई पनि आन्दोलनको रुपमा उठाउनुपर्छ भन्ने कुरा पार्टीमा उठेको छ ।
पूर्वअध्यक्षले नयाँ पार्टी खोलेर बस्नुभएको छ, दुर्गा प्रसाईँहरूले तपाईँहरूको एजेण्डा बोकेर हिडेको देखिन्छ । खोइ त राप्रपाको उपस्थिति ?
हल्ला गरेर मात्रै हुँदैन । सुस्पष्ट योजनाका साथ काम गर्नुपर्छ । हामी त्यो दिशामा अगाडि बढिरहेका छौँ । हामीप्रतिको जनविश्वासलाई गुम्न दिँदैनौँ । हामीले गरेको प्रतिवद्धता पूरा गरेरै छाड्छौँ । कागले कान लग्यो भनेर कागको पछि दगुर्ने पक्षमा हामी छैनौँ । हामी आफ्नो एजेण्डामा स्पष्ट छौँ । त्यसबाट तलमाथि भएका छैनौँ । देश अस्थिरतामा जाला भनेर हामी सरकार गएका हौँ । सरकारमा हुँदा पनि हामीले हाम्रो एजेण्डा नियमित उठाइरह्यौँ । राप्रपाप्रति जनताको आशा छ । त्यही कारण हामी संसदको पाँचौँ शक्ति बन्न सफल भएका छौँ । त्यो जनताको आशालाई हामी मर्न दिँदैनौँ ।
तपाईँ दुई पटक मेयर भएर काम गर्नुभयो । अहिले संघीय संसदमा आउनुभएको छ । अब तपाईँको भूमिका के हुन्छ ?
मैले दुई कार्यकाल मेयर भएर काम गरेँ । नेपालगञ्जको विकास र जनताको जीवनस्तर सुधार गरेकै भएर म अहिले संघीय संसदमा छु । अहिले देश बनाउने एजेन्डामा काम गर्न संसदमा आएको छु । आफुले सकेको जति राष्ट्रका लागि योगदान गर्छु । संसदमा प्रभावकारी रुपमा एजेण्डाको उठान गराउने छु । जनताको बीचमा एजेण्डा पुर्याउने छु । जनतालाई धोका दिने काम हामीबाट हुँदैन । हामीले जे मुद्धा निर्वाचनमा उठाएका थियौँ, त्यही मुद्धा बोकेर जनतामा जान लागेका छौँ । जनताले विस्तारै हाम्रो कुरा बुझ्दैछन् । अझै बुझाउनुपर्छ ।
निर्वाचनबाट नयाँ–नयाँ दल आएका छन । पुरानो दललाई पुनस्र्थापित हुन सजिलो छ र ?
नयाँ र पुरानो विचार र एजेण्डाको आधारमा हुने हो । नयाँ दर्ता गर्दैमा नयाँ हुने र धेरै पहिलेदेखि क्रियाशील दल पुरानो कामै नलाग्ने भन्ने हुँदैन । नेपालको आजको आवश्यकता राजासहितको प्रजातन्त्रको हो । मुलुकमा एउटा अभिभावक त चाहियो नि । राजा सबैको साझा हुन्छन । तर, विगतको अभ्यासले राष्ट्रपतिमा त्यो गुण देखिएन । त्यसकारण राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको एजेण्डाले नेपाली राजनीतिमा हाम्रो उपस्थिति सशक्त हुन्छ । नेपालको संविधानले पनि हामीलाई त्यो अधिकार दिएको छ । यही व्यवस्थाभित्र रहेर हामी राजनीतिक व्यवस्था र जनताको अवस्थामा परिवर्तन ल्याउँछौँ ।