नेपालको पत्रकारितामाथि बारम्बार प्रश्न उठ्ने गरेको छ । जो कोहीमाथि पनि प्रश्न उठाउने अधिकार प्राप्त पत्रकारितामाथि कसैले प्रश्न उठाउँदा आत्तिनुपर्ने, मात्तिनुपर्ने कुनै कारण छैन ।
बरु, कसैले हाम्रो स्वतन्त्र पेशामाथि प्रश्न उठाउँदा त्यसको आत्मसमीक्षा गर्नु हाम्रो जिम्मेवारी हो । त्यो जिम्मेवारीबाट भागेर नेपाली पत्रकारितालाई किन यसो भनिस्, किन उसो भनिस् भनेर आरोप लगाउनेमाथि खनिनु हामी आफ्नो जिम्मेवारीबाट पन्छिनु हो ।
जुनसुकै पेशा, व्यवसायमा लागेका व्यक्तिहरु जब आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्छन्, तब त्यो पेशा व्यवसायमा विकृति र विसंगति झाँगिदै जान्छ । नेपालको पत्रकारिता क्षेत्रमा भएको पनि यही नै हो ।
गृहमन्त्रीबाट राजीनामा दिएपछि रवि लामिछानेले १२ भाइमाथि झोंक पोखे । उनले लिएका १२ भाइको नाम नेपालका चर्चित पत्रकार र मिडिया हाउस थिए ।
आलोचना गर्ने जति छुट नेपाली पत्रकारहरुलाई छ, त्यत्ति नै आलोचना नेपाली पत्रकारिता जगतलाई गर्ने छुट अरुलाई पनि छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।
त्यसमध्ये एक जना मिडिया हाउसका मालिकले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफ्नो लगानीको स्रोत सार्वजनिक गर्न बाध्य भए । यो एउटा मिडिया मालिकको दायित्व थियो । उनले सार्वजनिक गरेको लगानीमाथि कसैले प्रश्न गर्ने आँट गरेनन् ।
आरोपित १२ भाइमध्ये ११ भाइ आजसम्म मौन छन् । उनीहरुको लगानीको स्रोत अपारदर्शी छ । कतिपय मिडियामा विदेशी लगानी भएको आरोप छ ।
नेपाली मिडियामा विदेशी स्वार्थका लागि अपारदर्शी ढंगबाट लगानी भित्र्याउनु राष्ट्रघाती कुरा हो । मिडियाको आवरणमा विदेशीको स्वार्थ पूर्ति गर्ने कुरा अपराध हो । यस्ता अपराधबाट नेपाली मिडिया अलग हुनुपर्छ । अन्यथा, नेपालका मिडिया देशै ध्वस्त पार्ने ‘मिसायल’ बन्न सक्छ ।
विगतमा नेपाली मिडियाको गैरजिम्मेवारका कारण ठूला दुर्घटना पनि निम्तिएको छ । भविष्यमा त्यस्ता दुर्घटना निम्तन नदिन पनि सार्वजनिक आलोचनाबाट नेपाली मिडिया भाग्नु हुँदैन ।
भर्खरै, सभामुख देवराज घिमिरेले नेपालका मिडिया बिक्रीमा छन् भनेर आरोप लगाए । सभामुखजस्तो व्यक्तिले यो शब्द त्यत्तिकै बोलेका होलान् जस्तो लाग्दैन । यो उनको भोगाइ पनि हुनसक्छ ।
हामी त्यतातिर नगई ‘चोरको खुट्टा काट्…’ जस्तो शैलीमा सभामुखमाथि खनियौं । उनले यस्तो आरोप किन लगाए होलान् भनेर त्यसको आत्मसमीक्षा गर्नेतर्फ लागेनौं ।
सभामुखले नेपाली मिडियामाथि लगाएको आरोपलाई पत्रकारिता पेशाले आफ्नो गल्ती, कमजोरी सच्याउने अवसरका रुपमा लिनुपर्छ । अनि मात्र नेपाली पत्रकारिताको विश्वसनीयता बढ्छ ।
पत्रकारहरुको एउटा कार्यक्रममा तराईतिर जाँदा एक जना अतिथिले लाजै मर्ने गरी कलम चलाउने पत्रकारले भन्दा कलम नचलाउने पत्रकारहरुले बढी पैसा कमाउँछन् भनेर बोले । उपस्थित पत्रकारहरु मुखामुख गरे । मञ्चमा बसेका अतिथिहरु गलल्ल हाँसे ।
बेला–बेला हाम्रो पेशामाथि किन यस्तो आरोप लाग्छ ? पक्कै पनि हामीमा केही कमजोरी छन् । त्यसलाई सच्याउनु पर्छ भनेरै पाठकहरुले पत्रकारहरुको आलोचना गर्ने गर्छन् । त्यो आलोचनाबाट भागेर हामी समाजमा स्थापित हुन सक्दैनौं ।
हाम्रो पूँजी भनेकै पाठकहरु हुन् । हामीलाई जति बढी पढियो, सुनियो, हेरियो त्यति नै बढी हामी शक्तिशाली बन्दै जान्छौं । विश्वमा आज मिडिया जति शक्तिशाली बन्दै गएका छन्, त्यो पाठकहरुकै विश्वासको कारणले हो ।
यो कुरा बिर्सिएर हामीले पत्रकारिता गर्छौं भने त्यो पत्रकारिताले व्यक्तिगत जीवनमा केही फाइदा त पुर्याउँला, देश र जनताको सेवा गर्न सक्दैन ।
पत्रकारिता, पेशा स्वतन्त्र भन्दैमा आफूलाई जे मनमा लाग्यो, त्यो लेख्ने पेशा होइन । यो मर्यादित र जिम्मेवार हुनुपर्छ ।
रवि लामिछाने र सभामुखको आरोपको एउटै निष्कर्ष नेपाली पत्रकारिताले सीमा नाघ्नु भएन भन्ने नै हो । अरुलाई आलोचना गर्ने जति छुट नेपाली पत्रकारहरुलाई छ, त्यत्ति नै आलोचना नेपाली पत्रकारिता जगतलाई गर्ने छुट अरुलाई पनि छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।