– रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
हालैका दिनमा भारतमा एउटा नयाँ बहसको थालनी भएको छ । महात्मा गान्धीको हत्या आरोपी विनायक दामोदर सावरकरलाई ‘भारत रत्न’ दिनु हुन्छ कि हुँदैन भनेर ? यस विवाद वा बहसको थालनी भर्खरै निर्वाचन सम्पन्न भई मुख्यमन्त्री कुन पार्टीको हुने भन्ने विवाद उत्कर्षमा पुगिरहेको बेला महाराष्ट्र राज्यबाट भएको हो । भारतीय जनता पार्टी र शिवसेनाले यस राज्यमा बहुमत प्राप्त गरेका छन् । तर, चुनाव परिणाम आएको दुई साता हुन लाग्दा पनि ‘मुख्यमन्त्री’ विवादका कारण सरकार गठन हुन सकेको छैन ।
बिजेपीले आफ्नो चुनावी घोषणापत्रमा आफ्नो पार्टी विजयी भएमा सावरकरलाई ‘भारत रत्न’ दिलाउने वाचा गरेको थियो । सावरकरले बेलायतमा देशभक्त भारतीयहरुलाई संगठित गर्न ठूलो भूमिका खेलेका थिए । यसमा कुनै सन्देह छैन । तर उनले अंग्रेजको दश वर्षे कारागारबाट मुक्त हुन अंग्रेज सरकारसमक्ष माफी मागेर सन् १९२३–२४ मा जेलमुक्त भएपश्चात् उनको व्यक्तित्व विवादित बन्यो । त्यसपछि भारत अंग्रेजको शासनबाट मुक्त होउन्जेल उनको कुनै भूमिका रहेन । भारतलाई बेलायती उपनिवेशबाट मुक्त गराउन कुनै आन्दोलनको नेतृत्व उनले गरेनन् । यसकारण भारतमा सावरकरलाई एउटा तप्का (बिजेपी)ले महिमा मण्डीत गर्दछ भने भारतीय कंग्रेसलगायत अन्य राजनीतिक शक्तिले सावरकरलाई ‘भारत रत्न’ दिनु सर्वोच्च सम्मानको दुरुपयोग हो भनिरहेका छन् ।
त्यसो त, सन् २००० मै तत्कालीन अटल बिहारी बाजपेयीको सरकारले राष्ट्रपति के आर नारायणसमक्ष सावरकरलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ दिन सिफारिस गरेको थियो । तर, राष्ट्रपतिले यो प्रस्तावलाई स्वीकृति प्रदान गरेनन् ।
महात्मा गान्धीका पलाति तुषार गान्धीले आफ्नो जिजुबुबा महात्मा गान्धीको हत्याका संरक्षक सावरकरलाई ‘भारत रत्न’को सिफारिस गरिएकोबारे आफ्नो मुख खोलेका छन् । उनले भने– ‘सावरकर, महात्मा गान्धी हत्याराको संरक्षक थिए । सावरकरलाई गान्धी हत्या मामिलामा जाँचको सामना गर्नु परेको थियो । अदालतले उनलाई छोडेको भए पनि उनलाई निर्दोष मानेको थिएन ।’
यसबीच महात्मा गान्धीका पलाति तुषार गान्धीले आफ्नो जिजुबुबा महात्मा गान्धीको हत्याका संरक्षक सावरकरलाई ‘भारत रत्न’को सिफारिस गरिएकोबारे आफ्नो मुख खोलेका छन् । उनले भने– ‘सावरकर, महात्मा गान्धी हत्याराको संरक्षक थिए । सावरकरलाई गान्धी हत्या मामिलामा जाँचको सामना गर्नु परेको थियो । अदालतले उनलाई छोडेको भए पनि उनलाई निर्दोष मानेको थिएन ।’
उनले अगाडि भनेका छन्– महात्मा गान्धी हत्याको संरक्षकलाई ‘भारत रत्न’ दिने विचार भइरहेको यस्तो अवस्थामा म सोच्दछु यो कुरा महत्वपूर्ण हो, हामी महात्मा गान्धीको हत्याको पछाडिको मुख्य उद्देश्य र षड्यन्त्रलाई बुझौँ । अदालतले सावरकरलाई छोड्दा भनेको थियो ‘सावरकरको अपराधलाई सन्देह भन्दा पर सावित गर्न पर्याप्त प्रमाणहरु प्रस्तुत गरिएन ।’
तुषार गान्धीसँग मेरो (लेखक) भेट महात्मा गान्धी बलिदान दिवस (हत्या भएको दिन) ३० जनवरीको सन्दर्भमा प्रसिद्ध शैक्षिक अध्ययन संस्थान एमआईटी पुनेले युनेस्कोको सहकार्यमा आयोजना गरेको वल्र्ड पिस कङग्रेसमा भएको थियो । त्यहाँ मलाई उनले ‘विश्व शान्ति पुरस्कार’ बाट सम्मानित पनि गरेका थिए । भारतका राष्ट्रपिता महात्मा गान्धीका पलाति भएपछि म त्यसै पनि उनीप्रति आकर्षित हुने नै भएँ । त्यसका अतिरिक्त म उनको शालिन व्यक्तित्वबाट निकै प्रभावित भएको थिएँ । त्यहीँ गान्धीले सम्झनास्वरुप आफ्नो हस्ताक्षर मलाई दिएका थिए ।
सावरकरको मृत्यु सन् १९६६ मा भएको थियो । आफ्नो मृत्युको कैयौ दशकसम्म भारतमा सावरकर ‘ध्रुवीय व्यक्तित्व’ हुन् । भारतीयहरुका लागि उनी या त हिरो हुन या भिलेन । सन् २०१४ मा संसद्को सेन्ट्रल हलमा प्रधानमन्त्री नरेन्द्र मोदीले सावरकरको तस्वीरलाई गान्धीतर्फ पिठयँु फर्काएर सम्मान गरे । किनभने, सावरकरको तस्वीरको ठीक अगाडि गान्धीको तस्विर थियो । आजको भारतको राजनीतिक वास्तविकता भनेको पनि सावरकरलाई सम्मान दिँदा गान्धीको विचारधारातर्फ पिठयुँ फर्काउनुपर्ने बाध्यता छ । अर्थात्, गान्धीको विचारधारालाई स्वीकार्ने हो भने सावरकरको कट्टरवादी हिन्दूत्वको विचारलाई त्याग्नै पर्दछ । आजको भारतको वास्तविकता पनि यही नै हो ।