बुद्धिसागर भन्नासाथ दिमागमा ‘कर्णाली ब्लुज’ को रंगीचंगी कभर आइपुग्छ ।
कर्णाली ब्लुज नियालेको एक दशक बित्यो । तर, अझै अघाएको छैन । उनलाई बुद्धिसागर बनाएको कर्णाली ब्लुजले नै हो ।
बुद्धिसागरलाई त्यही एक दशक पुरानो उपन्यासमा मात्र चिन्नु एउटा कविको अवमूल्यन गर्नु हो । मलाई त्यस्तै लाग्यो । जब उनका कविता पढेँ ।
एउटा रोचक कुरा भनिहाल्छु । उनका ‘बुद्धिसागरका कविता’ संग्रह २०६७ सालमै आएको रहेछ । अहिले तेस्रो वा चौँथो संस्मरण आइसक्यो ।
हाम्रो जस्तो देशमा कविता सङ्ग्रहको दोस्रो संस्मरण विरलै आएको पाइन्छ । तर, यति छिटो समयमै तेस्रो÷चौँथो संस्करणमा आउनु ठूलो उपलब्धि मान्नुपर्छ । कविता सङ्ग्रहको दयनीय अवस्था भूपि शेरचनका एउटा कविता पढे काफी हुन्छ–
मैले तिम्रो प्रतिक्ष गरेँ
असङ्ख्य मिलनको इच्छा गरेँ
तिमी भने
कुनै अप्रसिद्ध नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैँ
वादा गरेर पनि कहिल्यै आइनौ ।
-मेरो जीवन लेकझैँ
भूपिले यो कविता कुनै अनाम प्रेमिकालाई सम्झेर लेखेका थिए । प्रेमिकाको प्रतिक्ष गर्न नसकेपछि पुस्तकको दोस्रो संस्करणको बिम्ब प्रयोग गरेका छन् । प्रमिका कविता सङ्ग्रहको दोस्रो संस्करणसँग तुलना गरेका छन् । अर्थात् जति पर्खँदा पनि नआउने !
बुद्धिसागरका कविता संग्रह पनि झण्डै भूपिका प्रमिका जस्तै बन्यो । तर, पढेपछि यस्तो लाग्यो– भूपिका प्रेमिका जस्तो होइन रहेछ, जिउँदै रहेछ ।
बुद्धिसागरलाई उपन्यासकार भनेर चिन्थे । तर उनका कविता पढेपछि महसुस भयो– अन्याय पो गरिरहेको रहेछ । उपन्यासकार मात्रै होइन, कवि पनि रहेछन् ।
कविता पढ्नु सामान्य होला, तर बुझ्नु चाहिँ कठिन काम हो । त्यसै पनि अन्तरिक्षबाट पृथ्वी हेरेजस्तो हुन्छ कविता ! जब पृथ्वी घुम्ने र कविताको गाँठाहरू फुस्काउने प्रत्यान्त गरिन्छ, कहिल्यै सकिँदैन ।
एकपटक कविता पढ्नु भनेको कविता बुझ्छु भन्ने अभिमानबाट बाहिर निस्कनु हो । त्यसमाथि कवितामा प्रयोग हुने बिम्ब र संरचनाले खास अर्थ बोकेको हुन्छ । जब पटकपटक पढ्न थालिन्छ, त्यसको गहिराइ कति हो थाहै हुँदैन ।
त्यसैले बुद्धिसागरको स्वीकारोक्ति छ– कविता लेख्न कहिले जानिनँ । यसको विचार, भावन, गहिराइ नाप्न कहिल्यै आएन । प्रतिशतमा निकाल्ने त कुरै भएन । त्यसै पनि गणितमा कमजोर छु ।
उनको स्वीकारोक्तिले कम घोत्लिएँ । बढी अनुभूति गरे । र, पढ्न सजिलो बनाइदियो ।
कसैको सृजना पढ्नुअघि सर्जकले आफ्नो सिर्जनामाथि गरेको टिप्पणी पढ्न जरूरी छ । कविताको भ्रूण कस्तो थियो ? कसरी जन्मियो ? कसरी हुर्कियो ? यसले विषेश अर्थ राख्छ ।
स्पष्ट भन्दा कवितामा कविले देखाएको एउटा पहलु थाहा हुन्छ । हुन त कुनै रचनामाथि लेखकले देखाएको अर्थ नै सत्य हुन्छ भन्ने होइन । तर, रचना लेखकसँग असम्पृक्त हुन्छ । उसँग रचनाको गर्भ हुन्छ । त्यसकारण लेखकीय दृष्टिकोण बुझ्न जरूरी छ ।
अब सुरु गरौँ बुद्धिसागर किन कविता लेख्छन् ? यसको उत्तर कवितामै दिउँ–
हिँड्दा हिँड्दै कतै कलिलो वर्ष छुट्छ
छुट्छ कतै छायाँ
कतै नाम
कतै आफू ।
-उमेरका घोडा
छुट्दै छन् वर्षहरू । आफ्नै छायाँ । नाम पनि छुट्नेवाला छ । छुटिनु, हराउनु, बिर्सिनु, सन्दर्भहीन हुनु कति भयावह हुन्छ ? त्यो कविलाई नै थाह छ ।
सम्झाइराख्नु, जीवितै छु भनेर देखाउनु, सँगै हिँडिराख्नु लेखकहरू लेखिरहन्छन् । विश्वविख्यात नोबेल पुरस्कार विजेता ओरान पामुक भन्छन्– आई राइट बिकज आई एम अफ्रेड अफ बीइङ फर्गटन ।
बुद्धिसागरले पनि पामूककै बाटो पक्डिन्छन् । कमलो भाषामा गर्हुङ्गो भावना । यसैमा उनी खप्पिस छन् । हुन पनि हो, संसारका ठूलाठूला सत्यहरू सजिलो भाषामा हुन्छ । तर, केहीलाई लाग्दो रहेछ– कमलो भाषामा त केवल रुन्चे माया प्रेमका कथा लेखिन्छन्, सस्तो भावना मात्र कोरिन्छन् ।
प्रत्येक सचेत कवि आफ्नो अघि जे छ, आफूलाई जे बुझेका छन् त्यसलाई कहिले पुज्दैनन् । उनी खोज्छन्– आफ्नो अघि जे छ । जसलाई सभ्यता भनिएको छ ।
बुद्धिसागर सस्तो भावनाबाट टाढा छन् । उनलाई देशले निर्धारण गरेका राष्ट्रियताका मानक चित्त बुझेको छैन् । देशले बुझ्ने गरेको देशप्रति विद्रोह छ । त्यहीँ भएर बेलाबेला उनी आफ्नो रुमानी मिजासलाई सुस्ताउन छाडिदिन्छन् । र, सजिलो भाषामा विद्रोह गर्दछन्-
म यायावर कवि
बागी मैले नागरिकतासित विद्रोह गर्नुपर्छ
रगतको रङसित विद्रोह गर्नुपर्छ
आफ्नै देशसित
एक टुक्रा जमिनका लागि विद्रोह गर्नुपर्छ ।
-रेशमी कविता
देशको कुरा गर्दै गर्दा कविलाई तथाकथित मास्टरहरू सम्झिन्छन् । जसले कलिला दिमागमा देश घुसाउन खोजिरहेका छन् । राज्यसत्ताको नोकरी गर्ने मास्टरहरूलाई विद्रोही नागरिक जन्माउने डर छ ।
मास्टरहरू पनि राज्यले रटाएको देशप्रेम र राष्ट्रियताका परिभाषा कण्ठ पार्दापार्दै हैरान छन् । त्यही भएर उनी प्रश्न गर्छन्–
त्यो जून, त्यो डाँडामाथि टुकुटुकु हिँड्छ
र जान्छ कहाँ ?
त्यो सानो तारा ल्वाङ्गफुली झैं झिमिक्क गर्छ
र पुग्छ कहाँ ?
त्यो नौरङ्गी डाँफे भुर्र उड्छ, आकाशको डिलैडिल भएर,
लुक्छ कहाँ ?
मास्टर साप,
यसै वेला देश कहाँ हुन्छ ?
-के के चाहिन्छ देश हुन ?
यो कविता पुरा पढे देश हुन के–के चाहिन्छ भन्ने प्रस्ट हुन्छ ।
देशलाई नै निर्विकल्प सत्य ठान्ने र ठान्न वाध्य बनाउनेहरूको निम्ति रामवाण प्रश्नहरू–
घोप्टियो भने समुन्द्र– देश कहाँ जान्छ ?
टुक्रियो भने पृथ्वी– देश कहाँ जान्छ ?
सल्कियो भने सूर्य– देश कहाँ जान्छ ?
–उही
बख्खु भित्रको छातीमा
चिरा पर्दा
देश रुन्छ की रुँदैन ?
-उही
यस कविता सङ्ग्रहमा देश बुझाउने प्रतिनिधि कविता नै ‘के–के चाहिन्छ देश हुन ?’ हो । कहिले पनि जनता नअट्ने देशको परिभाषाविरुद्ध यो कविता बलियो वैचारिक अस्त्र हो ।
सच्चा कविहरूको एउटा खास विशेषता हुन्छ । उनीहरूसँग ‘प्यान्डोरा बक्स’ हुन्छ । जहाँ आशाका चम्किला ताराहरू हुन्छन् । सबैथोक सकिए पनि नसकिँदो रहेछ– आशा ।
‘यस्तो दिन आउनेछ’ कवितामा कवि आशावादी पनि हुँदैछन् । आशा राख्छन्– देश अहिले जस्तो भएपनि बादलको खुड्किला टेकेर आएको दिन देश जनताहरूको हुनेछ । श्रमको गीत गुञ्जिने छ । सहर पनि खुला हुनेछ । सबै गाउँ फर्केछन् । शान्ति आउनेछ ।
कविले बिर्सेका छैनन्– कविता छपाउन नाइट बसको गन्ध बोकेर काठमाडौं आएको छ । सिङ्गो काठमाडौँलाई गाउँ लखेट्ने सपना देखेको ।
यस्तो लाग्छ– बुद्धिसागरसँग बेग्लै जादु छ ! मायालुसँगको बिछोडमा पनि सौन्दर्य देख्ने । हुन त वियोगले जन्माउने कविता प्रायः सुन्दर हुन्छ । भारतीय कवि सुमित्रानन्दन पन्तको कविता ‘वियोगी होगा पहला कवि’ को अन्तर्यलाई प्रमाणित गरेर देखाउने कवि हुन् बुद्धिसागर ।
‘जानु छ भने जाऊ
लैजाऊ तिमीले र मैले दुई फेरो तानेर तन्काएको इन्द्रेणी
लैजाऊ तिमीले र मैले माया पोतेर टाँगेको आकाश
लैजाऊ चोर औँला समाएर डोर्याउँदै डोर्याउँदै नानी जस्तो पृथ्वी’
– जानुभन्दा पहिले
यस्ता कविता पढ्दा लाग्छ– बुद्धिसागर सबैका कवि हुन् । उनको कविता अनुभूति गर्नलाई कठिन छैन । र, दुर्बोध्य हाडेओखर फुटाइराख्नु पर्दैन । प्रेमावधिमा खाएका वाचाहरू र असंख्य सपनाका कोसेलीहरू फिर्ता लिन उनको अनुरोध हुन्छ । कुरा कति गहिरो । तर बुझ्न उस्तै सजिलो ।
यो कविता सङ्ग्रहको बारे भन्नुपर्ने कुराहरू धेरै छन् । कविताको बहावमा बग्दै जाँदा धेरै पात्र र चरित्रहरू बोल्छन् । कहिले कवि विद्रोही बन्छन् । यथास्थितिलाई आलोचना गर्छन् । प्रेममा फस्दै जान्छन् । प्रेमिकालाई छाड्दै जान्छन् । बेलाबेलामा नोस्टालिजक हुन्छन् ।
कविताको हरफभरि कैलाली सम्झिन्छन् । कालिकोट सम्झिन्छन् । सम्झिन्छन् सालको ठुटो । र, कल्पिन्छन् हाटबजार र हाटेरूको भीड । कतैकतै आफ्नो बालाई पनि सम्झिन्छन् । सुनाउँछन् काठमाडौंको कथा । संघारमा खप्टिएर आमाको आँखाको जुन, तारा, शीत र आकाशगंगाको यादमा हराउँछ ।
कविता पढ्दै जाँदा बुद्धिसागरभित्र लुकेका मान्छेसँग चिनापर्जी गर्ने मौका पनि पाउँछौँ । साँच्चै बुद्धिसागर आफू मेटिनुअघि आफूलाई सम्पूर्ण रूपमा प्रस्तुत गर्न चाहन्छन् ।
अहिलेको देशको हालत हेर्दा फुलवाहरूको साहित्य लेखिन जरूरी लाग्छ । कारण– वास्तविक इतिहास साहित्यमा मात्र प्रतिबिम्बित हुन्छ । आधिकारिक भनिएको इतिहासमा शासक र अभिजात वर्गहरूको हालीमुहाली हुन्छ ।
‘फुलवाहरुको कथा’ आधिकारिक इतिहासले देख्न मान्दैन । त्यहीँ भएर बुद्धिसागरहरू फुलवाको जिन्दगी हेर्छन् । र, कविता लेख्छन् ।
आदिम तिर्खा, सुस्केरा र ऐँठनमा गुम्सिएर जिन्दगी बिताइरहेका फुलवाको कथा कवि यसरी लेख्छन्– बिहान उठेर गोबर सोहर्नेदेखि राति तारा गन्दासम्मका फुलवालाई एकटकले हेरिरहेका छन् ।
फुलावा रुन्छे
– घाम लागिरहन्छ
फुलवा थला पर्छे
– जुरेली झ्याङमा उफ्रिरहन्छ
फुलवा कठ्याङ्ग्रिएर कुनामा गुजुल्टिन्ने
बतास चलिरहन्छ
पृथ्वी घुमिरहन्छ
– फूलवा
दुनियाँ आफ्नै लयमा छ । उसलाई फूलवाको कुनै फिक्री छैन । किनकि फूलवा छोरी मान्छे हुन् । उनी सुदूरपश्चिममा बस्छन् । फुलवाले रोजेको मान्छे संसद्मा छिरेका छैनन् ।
फुलवा ति पात्र हुन् । जसलाई थाह छ– आफूमाथि जे भइरहेको छ । त्यो ठीक छैन तर चुपचाप बस्नुको विकल्प पनि छैन । शायद फुलवा आफ्नै कल्पना र सौभाग्यको तानाबाना बुनेर बस्छन् ।
बुद्धिसागरको वर्णन गर्ने तरिका देख्दा गुल्जारका कविताहरूको सम्झना आउँछ । बिम्ब सुदूरपश्चिमभर डुलिरहन्छ । नयाँ बिम्बहरू, अभूतपूर्व र मिठो सुनिने । जुन, कविताको सशक्त पक्ष हो ।
अन्तिममा एउटा सुझाव– तपाईंहरू पनि बुद्धिसागरका कविता पढ्नुहोस् । बुद्धिसागरलाई पढ्नुहोस् । उनलाई पढ्नु भनेको आफूलाई फर्केर हेर्नु हो । देशको हालत देख्नुहुनेछ । धेरै जिन्दगी एकसाथ अनुभूति गर्नुहुनेछ । बुद्धिसागरभित्र आफै पाउनुहुनेछ । साथै एउटा निरीह जनता, पागल प्रेमी, विवश छोरा÷छोरी, विद्रोही, एउटा कवि पनि ।