संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ढिलो चाँडो इतिहासको पानामा थन्किँदैछन् । सम्भवतः माओवादी केन्द्रको राजनीतिमा प्रचण्ड नै अन्तिम प्रधानमन्त्री हुन् ।
जनयुद्धकालमा माओवादीको एजेण्डाप्रति जनताका जुन आशा र भरोसा थियो, त्यो टुटेको छ । तीन पटक प्रधानमन्त्री भएका प्रचण्डले जे गर्छु भनेका छन्, त्यो हुन नसक्दा अहिले जनतामा चरम निराशा छाएको छ ।
महँगी, बेरोजगारी, आर्थिक संकट, भ्रष्टाचारले देश आक्रान्त बनेको छ । यतिबेला प्रधानमन्त्री प्रचण्डले गर्छु भनेका धेरै काम गर्न नसके पनि शान्ति प्रक्रियालाई छ महिनाभित्र टुंगोमा पुर्याउन सके र भ्रष्टाचारीहरुलाई जेल कोच्ने काम गरे भने त्यो देशको भविष्यका लागि कोसेढुंगा हुने थियो ।
चीनका राष्ट्रपति सी चिनफिङले सोल्टी होटलमा प्रचण्डलाई साक्षी राखेर ‘माओले गरेको एउटा क्रान्तिले मात्र चीनले आर्थिक समृद्धि हासिल गरेको होइन, चिनियाँ कम्युनिष्ट पार्टीको जनतासँगको निरन्तर सम्पर्क, सम्बन्ध र कडा सुशासनका कारणले हामीले यो सफलता हासिल गरेका हौँ’ भनेका थिए ।
राष्ट्रपति सीको कुरालाई मनन गर्ने हो भने माओवादीसँग जनयुद्धमा जसरी जनता गाँसिएका थिए, आज त्यो टुटेको अवस्था छ । सुशासनको कुरै नगरौं, जनयुद्धपछिका दिनमा माओवादी नेता, कार्यकर्ताको एउटै ध्यान कसरी कमाउने भन्नेमा केन्द्रित छ ।
जनयुद्धकालमा माओवादीको एजेण्डाप्रति जनताका जुन आशा र भरोसा थियो, त्यो टुटेको छ । प्रचण्डले जे गर्छु भनेका छन्, त्यो हुन नसक्दा जनतामा चरम निराशा छाएको छ । प्रचण्डले आफ्नो प्राथमिकता के हो भन्ने कुरा पहिल्याउन सकेनन् भने उनको यो कार्यकाल पनि विगतको जस्तो असफल हुनेमा दुईमत छैन ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २२० सिट ल्याएर अभूतपूर्व सफलता हासिल गरेको माओवादी २०७० मा ८० सिटमा झर्यो । २०७४ मा ५३ सिटमै चित्त बुझाउनुपर्यो । २०७९ मा ३२ सिटमा खुम्चनु भनेको माओवादीप्रति जनविश्वास नभएरै हो ।
अबको पाँच वर्षमा माओवादी एक्लै निर्वाचन लड्ने हो भने २० सिट पनि ल्याउँछ÷ल्याउँदैन भन्न सकिने स्थिति छैन । यसो हुनुको मुख्य कारण माओवादीमा वैचारिक विचलन, भ्रष्ट चरित्र र आचरण नै प्रमुख कारण हो । जनयुद्धमा ‘गोल्ड स्टार’ जुत्ता लगाउने माओवादी नेता, कार्यकर्ताहरु आज अकूत सम्पत्तिका मालिक बनेको सबैले देखेकै कुरा हो ।
माओवादीले जनयुद्धको माध्यमबाट राजनीतिक परिवर्तन त गर्यो, तर त्यसको नेतृत्व लिन नसक्दा देश थप बर्बादीको बाटोमा लागेको मात्र छैन, देश विदेशी शक्तिहरुको हातमा पुगेको छ । सरकार बनाउने र ढाल्नेसम्मका खेलमा विदेशीहरु संलग्न हुने गरेको यथार्थलाई स्वयं प्रचण्डले कटुवाल काण्डमा भोगी पनि सकेका छन् ।
अहिले दुई वर्षका लागि गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डका लागि त्यो दुई वर्ष टाढाको यात्रा हो । उनको यो यात्रालाई बीचैमा टुंग्याउने खेलमा नेपाली कांग्रेसका एकथरि नेताहरु अहिलेदेखि लागिसकेका छन् । जसको कारण मन्त्रिपरिषद्ले समेत पूर्णता पाउन सकेको छैन ।
केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्दा उनले ‘मेरा लागि भोलि गर्छु भन्ने समय छैन, त्यसैले आर्थिक समृद्धि र सुशासनको क्षेत्रमा आजैदेखि काम सुरु गर्छु’ भनेका थिए । तर दुईतिहाइको सरकार बीचमै ढाले । साढे तीन वर्षको कार्यकाल पनि ‘गजेडी गफ’मै बित्यो ।
ओलीबाट शिक्षा लिने हो भने प्रचण्डले पनि आकाशको तारा खसाल्ने गफ जनतालाई दिनुभन्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट द्वन्द्वपीडितहरुलाई न्याय दिनु उनको पहिलो प्राथमिकता बन्नुपर्छ ।
दिनहुँ सार्वजनिक सभामा यो गर्छु, त्यो गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डले आफ्नो प्राथमिकता के हो भन्ने कुरा पहिल्याउन सकेनन् भने उनको यो कार्यकाल पनि विगतको जस्तो असफल हुने कुरामा दुईमत छैन ।
त्यसको साथै तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासनलाई प्राथमिकतामा राखेका प्रचण्डले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई चाँडो टुंगोमा पुर्याएर न्यायालय शुद्धिकरणकोे अभियानलाई तीव्रता दिनुपर्छ । भ्रष्ट नेता, कर्मचारी र न्यायाधीशहरुलाई कानुनको कठघरामा उभ्याएर सुशासनलाई अगाडि बढाउनु पर्छ ।
कम्तीमा एक वर्षभित्र उनले सय, दुई सय जना भ्रष्ट नेता, कर्मचारीलाई जेल पुर्याउन सके भने त्यो उनको लागि ठूलो सफलता हुनेछ । त्यसैले प्राथमिकता के हो ? त्यसको प्रस्थानविन्दु पहिल्याएर आजैदेखि काम थाल्नुपर्छ ।