Logo
Logo

भोजपुरेको ‘मुसुक्क म’ बजारमा


567
Shares

काठमाडौं । लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृति सार्वजनिक भएको छ । एक सय ८ वटा लघुकथाहरुको यो संग्रहित भोजपुरेको ‘मुसुक्क म’ पब्लिकेशन नेपालयबाट प्रकाशन भएको हो ।

नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरुका लागि हिरण्य ‘भोजपुरे’ परिचित नाम हो । साढे पाँच दशकअघि नेपालमा केहि तन्नेरीहरु मिलेर साँगीतिक समूह ‘लेकाली’ जन्माएका थिए । त्यसमा विशेषगरि भोजपुरेबाहेक गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठ लगायतको उपस्थिति थियो ।

भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ । उनीहरुले विशेषगरि लोक र आधुनिक नेपाली संगीतको माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए ।

भोजपुरेको सिर्जनशिलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरुभएको थियो ।

आफैले संगीत दिएर गाएको भोजपुरेको यो गीत राष्ट्रिय भावनाका नेपाली गीतहरुमाझ अजम्बरी मानिन्छ । यसरी नेपाली साहित्यमा गीतकारका रुपमा उदाएका भोजपुरेले कालान्तरमा कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिइसकेका छन् । यसपटक भने उनी लघुकथाकारका रुपमा पाठकमाझ उपस्थित भएका हुन् ।

‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ का यी सर्जक आफू वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन् । उमेरको उत्तरार्धमा पनि साथीसंगत बीच रमाइलो गरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यहि गुण झल्कने हिसाबले जीवनका साना साना भोगाइहरुबाट निस्कने भावलाई यी लघुकथाहरुमा अभिव्यक्त गरेका छन् ।

‘जुन बखत जस्तो घटनाले जसरी झस्का दिन्छ त्यसको चस्का नै मेरो मनको बुनोट बन्छ,’ भोजपुरे यी लघुकथाहरुको रचना बारेमा भन्छन्, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यहि कुरा आफूलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयारभएको हो ।’

दुई विषयमा उतिबेलै स्नातकोत्तर भोजपुरे लामो समय सरकारी सेवामा पनि संलग्न रहे । तर, उनको पहिचान भने साहित्य र संगीतको समानान्तर साधनामै स्थापित छ । भोजपुरेले यी लघुकथाहरु छ वर्षयता सिर्जना गरेका हुन् ।

‘यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,’ भोजपुरे भन्छन्, ‘त्यो कालखण्डमा म छोरी ज्वाईं , छोरा बुहारी र नाती नातिना समिप अमेरिकातिर रहेकोले, प्रवासिँदाका नेपाली भोगाइहरु पनि यी कथाहरुमा समेटिन पुगेका छन् ।’

प्रतिक्रिया दिनुहोस्