देश असन्तुष्टिको भुँमरीमा फसेको छ । सामाजिक सञ्जालमा यसको आकृति देख्न सकिन्छ । आजको जमानामा सबैको हातहातमा स्मार्ट फोन छ । मिनेट मिनेटमा मानिसहरूले आफ्नै मोवाइल सेटबाट सूचना ग्रहण गरिरहेका हुन्छन् ।
समाजमा घटेका घटनाहरूले क्रिया–प्रतिक्रिया जन्माइरहेको हुन्छ । एक प्रकारले हाम्रो समाजलाई सामाजिक सञ्जालले तरंगित बनाइरहेको छ । त्यसैको प्रभावले होला, हरेक मानिसको अनुहारमा आक्रोश देखिन्छ ।
शान्तिपूर्ण रुपमा आफ्नो कुरा राख्ने अधिकार जनप्रतिनिधिहरूलाई छ । तर, संसदमा जनप्रतिनिधिहरूको प्रस्तुती नै आक्रोशपूर्ण छ । यस्ता दृष्यले जनमानसलाई थप उत्तेजित पार्दै लगेको छ ।
आफ्नो भविश्यप्रति कसैलाई यो देशमा भरोसा छैन । जुनसुकै सरकार आएपनि जनतालाई आशावादी बनाउने काम भएको देखिन्न । गफ ठूलठूला गर्ने र जनता झुक्याउने भन्दा बाहेक नेताहरूले अरु काम गरेका छैनन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणले सबै नेता नांगिए । नांगिन बाँकी मुद्दा मिलाउन व्यस्त छन् । दोस्रो चरणको अनुसन्धानमा यस अपराधमा संलग्न थपको अनुहार उदांगिने निश्चित छ ।
एउटा कम्युनिष्ट नेताले दुर्गम गाउँका जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन अस्पताल नखोलेर किन पशुपतिमा सुनको जलहरी लगाउने सोच बनाएका रहेछन् भन्ने कुरा महालेखाको प्रतिवेदनले छर्लंग पार्यो ।
संसदमा कुरा उठेपछि आरोपित व्यक्तिले जवाफ दिनुपर्नेमा संसद नै ठप्प पारिदियो । त्यतिले नपुगेर ती सांसदले बोलेका कुरा सार्वभौम संसदको अभिलेखबाट हटाएर चोख्याउन खोजे । तर, अपराध त अपराध नै हो । पशुपतिनाथको नाममा गरिएको भ्रष्टाचार ‘पाप धुरीबाट कराउँछ’ भनेझै एक दिन सत्य तथ्य बाहिर आउने नै छ ।
टिकापुर घटनाका अपराधिलाई सर्वोच्च अदालतले थुनामै राख्ने आदेश दियो । सर्वोच्च अदालतको पूर्णपाठ नआउँदै सरकारलाई सुनपानी छर्कने हतारो भयो । संविधान र कानुनले छुट नदिएको कुरा सरकारले गरेर राष्ट्रपतिलाई विवादमा तान्ने काम गर्यो ।
सत्ता जोगाउन हिजो ओलीले पनि रेशम चौधरीलाई माफी दिन खोजेकै हुन् । एमालेका नेताहरू जेल गएर चौधरीलाई भेटेकै हुन् । तर, आज तिनै एमाले त्यसको विरुद्ध उत्रिएका छन् । नैतिकता विहीन राजनीतिले एउटै दल र नेतालाई सत्तामा हुँदा र प्रतिपक्षमा बस्दा कुन ठाउँ पुर्याउदो रहेछ भन्ने कुरा एमालेको हर्कतले देखायो ।
नेपाल एकीकरणपछि राजतन्त्रात्मक मुलुक रहँदै आएको थियो । राजाले गल्ती गर्दैनन् भन्ने मान्यता हो । तर, समयक्रममा राजाले गल्ती गर्दै जाँदा नेपाली जनतामा राजतन्त्र चाहिँदैन भन्ने मनोविज्ञानले घरजम गर्दै गयो ।
राजतन्त्र ढलेको पनि डेढ दशक बित्यो । तर, राजापछि आएका राष्ट्रपतिले पनि गम्भीर खालका गल्ती दोहोर्याइरहेका छन् । राष्ट्रपतिबाट एकपछि अर्को गल्ती दोहोर्याउँदै जाँदा आम जनतामा यो व्यवस्था पनि काम रहेनछ भन्ने मनोविज्ञान विकसित हुँदै गएको छ ।
राजालाई विस्थापित गरेर स्थापित भएको गणतन्त्रलाई संस्थागत गर्न पनि राष्ट्रपतिबाट अक्षम्य गल्ती हुनुहुँदैन थियो । तर, भयो । यसको हिसाब किताब जनताले गरेर बसेका छन् । भोलि कुनै दिन जनता जागे भने श्रीलंकाको अवस्थामा नआउला भन्न सकिन्न ।
राज्यका हरेक क्रियाकलापलाई जनताले सुक्ष्म ढंगले नियालिरहेका छन् । जनता अजेय शक्ति हुन् । इतिहास निर्माता पनि जनता नै हुन् भन्ने कुरा यतिबेला शासकहरूले दिमागमा राख्नुपर्छ ।