काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भारतको प्रवासमा रहँदाको जीवनको भोगाइ समेटेर ४५ वर्ष अगाडि लेखिएको ‘समाज विकासको एक झलक’ नामक पुस्तकको विमोचन गरेका छन् ।
स्रष्टा समाज नेपालले बुधबार ख्वप इन्जिनियरिङ कलेज भक्तपुरमा आयोजना गरेको ‘समाज विकासको एक झलक’ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित पुस्तक उनले विमोचन गरेका हुन् ।
साहित्यिक नाम हरिबहादुर श्रेष्ठले परिचित नेमकिपाका अध्यक्ष बिजुक्छेँले भारतमा प्रवासमा रहँदा लेखेका विभिन्न विषय समेटिएर प्रकाशित गरिएको पुस्तकको नारायणमान बिजुक्छेँअर्थात् हरिबहादुर श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् विश्वमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले संयुक्तरूपमा विमोचन गरेका हुन् ।
पुस्तकका बारेमा परिचर्चा गर्दै बिजुक्छेँअर्थात् श्रेष्ठले चार दशकभन्दा अगाडि लेखिएका विषयवस्तुको सङ्कलन पुस्तकमा समेटिएको बताए ।
कार्यक्रममा बिजुक्छेँले पुस्तकको पाण्डुलिपि सङ्कलनमा ढिलाइ भएकाले पुस्तकको प्रकाशन ढिला गरी भएको बताउँदै राजनीतिक आन्दोलनलाई सघाउ पुर्याउन लेखिएका कुरा आजका दिनमा पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले ढिला भए पनि पुस्तक प्रकाशित गरेर पाठकसमक्ष ल्याउनु सान्दर्भिक रहेको चर्चा गरे ।
पुस्तकमा किसान आन्दोलनदेखि समाज विकासका विविध विकासक्रम उल्लेख गरिएको, समाजको उत्पति, विकासक्रम, दास समाज, सामन्ती समाजलगायतका विविध विषय पुस्तकमा समावेश गरिएको उनले बताए ।
एक सय ५४ पृष्ठको रहेको पुस्तकमाथि विभिन्न साहित्यकार, लेखक एवं समालोचकले परिचर्चा गर्दै पुस्तकले नेपालको राजनीति, जनताको परिवेश, किसानको जिन्दगीदेखि विविध पक्ष उजागर गरेको बताए ।