Logo
Logo

संविधान जोगाउन समाजवादी मोर्चा


1.4k
Shares


नक्कली भुटानी शरणार्थी प्रकरणको टुंगो कसरी लाग्ला भन्ने आम नागरिकमा जिज्ञाशा थियो । किनभने, यस प्रकरणमा जोडिएका अभियुक्तहरू चानचुने थिएनन् । उनीहरू अदालतबाट छुट्ने कुरामा ढुक्क थिए । उनीहरूलाई धरौटीमा छुटाउन ठूलै चलखेल भएको अनुमान लगाउन सकिन्छ । तर, आम अनुमानभन्दा अदालतको फैसला फरक आयो ।

अन्ततः अभियुक्तहरू जेल चलान भए । अपराध गरेपछि कानुन बमोजिम सजाय भोग्नुपर्छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने कुरा यो फैसलाको हकमा लागू भएन । र, यो फैसलाले न्याय मर्दैन भन्ने आशा र विश्वास जगाएको छ ।

सत्ताको चरम दुरुपयोग गरेर यस्ता धेरै काण्डहरू विगतमा पनि भएका छन् । ती काण्डहरूको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै टुंगो लगाइदिएको भए आम नागरिकमा यतिधेरै निराशा उत्पन्न हुने थिएन । तर, दुर्भाग्य अख्तियार राजनीतिक भागबण्डामा चलेका कारण अर्वौँ अर्वको नीतिगत भ्रष्टाचार गर्ने नेताहरू जोगिदै आएका छन् ।

‘जो चोर, उसैको ठूलो स्वर’ भनेझै तिनै नेताहरूले सार्वभौम संसदमा भ्रष्टाचारीमाथि कारबाही गरेर देखाउन चुनौती दिइरहेका छन् । यो दुस्साहस तिनीहरूमा कहाँबाट आयो ? किन सरकारले यस्ता भ्रष्टाचारीलाई जेल कोच्न सक्दैन ? आम नागरिकको मनभित्र जन्मिएको प्रश्न हो यो ।

हालै गठित समाजवादी मोर्चाले विगतमा राजनीतिक दलका नेताहरूले गरेको गल्ती सच्याउँदै जनभावनालाई सम्बोधन गर्न सके भने युवा आकर्षण बढ्ने छ । अन्यथा, संघीयता विरोधी कुराले देश गृहयुद्धमा होमिन सक्छ ।

यही प्रश्नको जवाफ खोज्ने क्रममा नयाँ दलप्रति युवाहरूको आकर्षण बढ्दो छ । रवि लामिछानेको सिद्धान्त, विचार ठीक लागेर उनका पछाडि युवाहरू लामवद्ध भएका होइनन्, आम नागरिकको मनमा उठेको प्रश्नलाई उनले सम्बोधन गरेका कारण उनी लोकप्रिय भएका हुन् ।

उनका अगाडि पचासौँ वर्षदेखि राजनीति गरेका जेल नेल भोगेका नेताहरू किन पुड्का भए भन्दा नैतिक रुपमा ती नेताहरूभन्दा लामिछाने उँचो छन् । त्यसैले उनले हरेक नेतालाई औला ठड्याएर प्रश्न गर्ने हैसियत राख्छन ।

नागरिकता र राहदानी विवादमा उनको कमजोरी थियो । त्यसविषयमा अदालतले किनारा लगाइसकेको छ । त्यसबाहेक बुढा नेताहरूले उनीमाथि प्रश्न सोध्ने हैसियत राख्दैनन् ।

यो सबै परिस्थिति निम्तिनुको पछाडि बुढा नेताहरू जिम्मेवार छन् । जसले राजनीतिलाई अकुत सम्पत्ति जोड्ने माध्यम बनाए । वीपी कोइरालाको आदर्शमा हिड्ने नेपाली कांग्रेस देउवा प्रवृत्तिमा कुदिरहेको छ । पुष्पलालको आदर्शमा हिड्नु्पर्ने कम्युनिष्ट पार्टी ओलीको स्वार्थमा रुपान्तरण हुँदैछ ।

देउवा र ओलीबाट नेपाली युवाले के अपेक्षा गर्ने ? जसको राजनीतिक यात्रा नै दुर्गन्धित छ । तै पनि आफ्ना अपराधबाट जोगिन यी नेताहरू पार्टीको शक्तिशाली पदमै विराजमान छन् । अझ ओलीले त युवाहरूलाई ७० वर्षे बुढासँग प्रतिष्पर्धा गर्न चुनौती दिइरहेका छन् । बरु, नेपाली कांग्रेसमा भने केही पविर्तनको आशा देखिँदैछ ।

राणा शासनमा जन्मेका पुराना दलले गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तन गरेका हुन् । तर, त्यो परिवर्तनले नागरिकको जीवनमा कुनै पनि सुधार ल्याउन सकेको छैन । उल्टै देश लुटेर बदनाम भएका छन् । यही कारण नागरिक नयाँ बैकल्पिक शक्तिको खोजीमा छन् । नयाँ चेतनासहित अगाडि बढ्ने सोचमा छन् । यो सोचलाई सार्थक बनाउने भनेकै माक्र्सवादी वैचानिक सोच हो ।

तर, नेपालका कम्युनिष्ट पार्टीले सिद्धान्त र विचार त्यागेको कारण युवाहरूमा निराशा बढेको छ । यो कुरालाई एमालेबाट विद्रोह गरेर जन्मिएको एकीकृत समाजवादी पार्टीले जसरी उठाउनुपर्ने हो, त्यो अझै गर्न सकेको देखिदैन ।

हालै गठित समाजवादी मोर्चाले विगतमा राजनीतिक दलका नेताहरूले गरेको गल्ती सच्याउँदै जनभावनालाई सम्बोधन गर्न सके भने युवा आकर्षण बढ्ने छ । अन्यथा, संघीयता विरोधी कुराले देश गृहयुद्धमा होमिन सक्छ ।

संघीयताको विरोधमा एमाले, राप्रपा र रास्वपाजस्ता पार्टी एकढिक्का भएकाले संविधान जोगाउन पनि मोर्चाको आवश्यकता समय सान्दर्भिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्