Logo
Logo
कविता

मृत्यु नहुन सक्छ…?


2.5k
Shares

आतसबाजी–
यसलाई म के भनूँ ?
यति मात्र भन्छु
असल मान्छे
हो, असल मान्छे
पृथक हुन्छन्
राजनीतिक आतसबाजी भन्दा ।
हो, पृथक भएर नै बाँचेका हुन्छन्
चाहे त्यो अमेरिकामा होस्
या नेपालमा ।
पृथक् हुँदाको त्यो तागत
त्यो आनन्द
अकल्पनीय, अवर्णनीय छ
एक्लै हिँड्दा
यात्राको समग्र दृश्य
कृष्णले देखाएको त्यो रूपजस्तो
त्यो विश्व रूपजस्तो
सर्वाङ्ग, छर्लङ्ग छ
न कर्ण, न भीष्म छन् त्यहाँ
फगत एउटा मञ्चन छ
त्यो अलौकिक
यो लौकिक
लोकतन्त्रमा लौकिक नै हुन्छ
तर अति दुर्बल !
अति मूर्खतापूर्ण !
अति दुष्टतापूर्ण !
अति नै घिनलाग्दो !

म छैन त–
कोही पनि छैन ।

तर हामी त छौ नि !
सिङ्गो मुलुक छ
यहाँ कसैको मृत्यु नहुन सक्छ
किनकि यहाँ कोही जिउँदा छैनन्
तर मुलुक अझै बाँचेको छ ।

प्रतिक्रिया दिनुहोस्