संविधान जस्तोसुकै राम्रो भएपनि त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक दलका नेताहरुको नियत ठीक भएन भने त्यो संविधान कागजको खोस्टोमा परिणत हुन्छ । नेपालमै पनि धेरैवटा संविधान कागजको खोस्टोमा परिणत भएको उदाहरण छ ।
नेपालकै सन्दर्भमा दुई–दुई पटक संसद् भंग हुनु संविधानलाई कागजको खोस्टोमा परिणत गर्नु थियो । धन्न, सर्वोच्च अदालतले संविधानको रक्षा गर्दै संसद् पुनःस्थापना गर्यो र देशको राजनीति सही मार्गमा आयो । नभए, नेपालको राजनीतिले बाटो बिराएर देश कता जान्थ्यो कसैले अनुमान गर्न सक्दैन ।
विगतमा जसले संविधानविपरीत संसद् विघटन गरेको थियो । उसको नियत अहिले पनि ठीक छैन । प्रमुख प्रतिपक्ष दलले संसद्मा जुन भूमिका खेल्नुपर्ने हो, त्यसको उल्टो यात्रामा प्रमुख प्रतिपक्ष दल लागेको छ । त्यसमाथि संविधानविरोधी प्रतिगामी र पुनरुत्थानवादी शक्तिसँग प्रमुख प्रतिपक्षको साँठगाँठ भएकोले संविधानमाथि तरबारको धार झुन्डिएको छ ।
नेपालको संविधानलाई सर्वोत्कृष्ट संविधान त भनियो । तर त्यसमा उल्लेख भएका जनताका अधिकारका कुरा कार्यान्वयन नहुँदा संविधानप्रति जनअसन्तोष चुलिँदै गएको छ ।
हिजो संविधान निर्माणमा एकजुट भएका राजनीतिक दलहरू त्यसको कार्यान्वयनमा पनि एकजुट भइदिएको भए, राजनीतिक दलहरूप्रति जनताको वितृष्णा यति साह्रो बढ्ने थिएन । तर, दुर्भाग्य प्रमुख राजनीतिक दलहरू सत्ता भागबन्डामा अल्झनुबाहेक जनताको जनजीवन सुधारमा लागेनन् । जसका कारण देश आँधी आउनु अगाडिको सन्नाटाजस्तै बनेको छ ।
देशमा कोही सन्तुष्ट छैनन् । जहाँ गएपनि मानिसहरूको असन्तुष्टि बढेको देखिन्छ । अझ, युवाहरूले त देशमा आफ्नो भविष्य नै देख्न छाडिसके । दिनहुँ हजारौँको सङ्ख्यामा युवा विदेशिँदा हामी भने रेमिट्यान्स बढेकोमा दंग छौँ ।
हरेक संविधान दिवस अपराधीहरूको लागि खुसीको पर्व बन्ने गरेको छ । कानुनले नै छुट नदिएका हत्यामा संलग्न अपराधीलाई राष्ट्रपतिबाट रिहा गरिन्छ भने यो व्यवस्थामाथि कसले विश्वास गर्लान् ? नेताको चरित्र र व्यवहार लोकतन्त्रकै लागि लज्जाको विषय बनेको छ ।
रेमिट्यान्सले देश बन्दैन । देश बनाउन उत्पादन र रोजगारीमा ध्यान दिनुपर्छ । तर, उत्पादन गर्ने उद्यमीहरू स्वयं निराश छन् । भएका उद्योगधन्दा पनि बन्द हुने अवस्थामा पुगेको छ । बैंकको ऋण तिर्न नसकेर दिनहुँ सयभन्दा बढी साना उद्योगधन्दाको बैंकले लिलामी सूचना निकाल्ने गरेको छ ।
आफैँले उत्पादन गर्न सकिने वस्तु पनि आयातकै भर पर्नुपरेको छ । सरकार भने आयात घटेकोमा चिन्तित छ, आन्तरिक उत्पादन र निर्यात बढाउनुपर्ने कुरामा उसको ध्यान गएको छैन । देश असफल बनिसक्यो । तै पनि प्रमुख राजनीतिक दलका नेताहरू एकमुठ्ठी खरानीका लागि घरमा आगो झोस्दै छन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा ‘कतै हाम्रो कमजोरीलाई व्यवस्थाको कमजोरी भनेर लोकतन्त्रलाई कमजोर बनाइरहेका त छैनौं’ भन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उठेर हिँडे ।
राजनीतिक दलका नेताहरू आफूभित्रको कमजोरी केलाउने र त्यसलाई सच्याउने पक्षमा देखिएका छैनन् । संविधान दिवसको अवसरमा सैनिक मञ्चमा आयोजित औपचारिक कार्यक्रम छाडेर हाम्रा नेताहरू कुनै चौरमा सेल्फी मनाउन गएको कुराले सामाजिक सञ्जाल भरियो ।
के असोज ३ सेल्फी दिवस हो ? पक्कै होइन । संविधान दिवसजस्तो महत्वपूर्ण राष्ट्रिय पर्वलाई यसरी भद्दा मजाकमा उडाउँदा लोकले के भन्ला भन्ने लाजसमेत पचेपछि त्यस्ता नेताहरूको चरित्र र व्यवहारले लोकतन्त्र कसरी सुदृढ होला र ? त्यसमाथि हरेक संविधान दिवस अपराधीहरूको लागि खुसीको पर्व बन्ने गरेको छ ।
कानुनले नै छुट नदिएका हत्यामा संलग्न अपराधीलाई राष्ट्रपतिबाट हरेक वर्ष रिहा गरिन्छ भने यो व्यवस्थामाथि कसले विश्वास गर्ला ? नेताहरूको चरित्र र व्यवहार लोकतन्त्रकै लागि लज्जाको विषय बनेको छ । लोकतन्त्र सुदृढ गर्न सबैभन्दा पहिला हाम्रा नेताहरूको चरित्र र व्यवहार सुधार हुनुपर्छ ।
‘बाह्र वर्ष ढुङ्ग्रोमा राख्यो जस्ताको तस्तै’ भनेझैं नेताहरूको व्यवहार छ । ३० औँ वर्षदेखि सत्ताको वरपर बसेर लुटतन्त्र मच्चाइरहेका नेताहरू नसुध्रिदासम्म परिवर्तनको आशा गर्नु व्यर्थ छ ।
समाजवाद उन्मुख संविधान लेखिएको छ । संविधानले मौलिक हकको ग्यारेन्टी गरेको छ । त्यसको कार्यान्वयन गर्नेतिर दलका नेताहरूको ध्यान गएको छैन । जनतालाई समाजवादको सपना देखाइएको छ । त्यो सपना कहिले पूरा हुन्छ कसैले भन्न सक्दैनन् ।
राष्ट्रपति पौडेलले भनेझैं दोष संविधानमा होइन, हामीमा छ । देश किन बिग्रियो ? देश कसले बिगार्यो ? संविधान मिच्ने काम कोबाट भयो ? सेल्फी खिच्नेहरूले सबैभन्दा पहिला आफ्नो अनुहार आफैँ हेरे पुग्छ ।