काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनलागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म स्वीट्जरल्याण्डको डाबोसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा भट्टराईले मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने बताउनुभयो । ‘मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा गर्न सम्मेलनले थोरै भए पनि सहयोग पु¥याउनेछ’, उहाँले भन्नुभयो ।
विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताउनुभयो ।
भ्रमणका क्रममा प्रधानमन्त्रीको विभिन्न सभा तथा विभिन्न देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीसँग भेटघाट हुने कार्यक्रमसमेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उहाँको भनाइ छ । ‘सम्मेलनमा विदेशी मुलुकको ज्ञान, प्रविधि र पुँजी भित्र्याउन नेपालले प्रयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘विश्वका दुई÷चार वटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सके पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ’, उहाँले भन्नुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा डाबोस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने बताउनुभयो । उहाँले सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
स्वीट्जरल्याण्डका लागि पूर्व राजदूत डा शम्भूराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भए पनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने बताउनुभयो । (रासस)