Logo
Logo

तुइनबाट जीप र इन्धन आपूर्ति : उपभोक्ताको ढाड सेकिँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै

जाजरकोट, १८ फागुन । डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । ती जीप अहिले जाजरकोट–डोल्पा सडकखण्डमा निर्वाध रुपमा सडकमा गुडिरहेकाछन्  ।
यातायातका साधन तुइनमा तारे पनि यस सडकखण्डमा इन्धनको डिपो नहुँदा दैनिक तुइनबाटै इन्धन भरिएका ड्रमहरु ओसारिँदै आइएको छ । सल्यानको सल्लीबजारमा मात्र रहेको इन्धनको डिपो जाजरकोट सदरमुकाममा समेत छैन । डिपो नहुँदा गाडी चलाउनका लागिसल्लीबजार अर्थात बजारमा राखिएको मिसावटयुक्त इन्धन प्रयोग गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् ।
गाउँ–गाउँमा सञ्चालनमा रहेका यातायातका साधन चलाउनका लागि मानिसले पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता रहँदै आएको छ । यसरी बोकेर ल्याइएको इन्धन रु २० देखि ३० सम्म महँगो पर्ने यातायात व्यवसायी नवराज सिंहले जानकारी दिए । व्यवसायीले ड्रम र जर्किनमा भरेको इन्धन गाडीमा प्रयोग गर्नको विकल्प नरहेको उनको भनाइ छ ।


तीन तहका सरकारको पहलमा जाजरकोट, रुकुम र डोल्पाका विभिन्न भागमा सयौँ किलोमिटर सडक निर्माण भई यातायातका साधन सञ्चालनमा छन् । जाजरकोट–डोल्पा, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्गसमेत जाजरकोटबाटै भएर जाने गर्दछ  । सडक निर्माणको काम पूरा भएपछि स्थानीय बासिन्दाको गाडी चढ्ने सपना त पूरा भयो तर इन्धनको चर्को मुल्यका कारण भाडादर चर्को हुँदा यात्रु मारमा पर्दै आएका छन् ।
गाउँमै गाडी चलाउन त पाइएको छ तर जीपमा प्रयोग हुने इन्धन नदी पार गराउन कम्ती सास्ती छैन । यातायात व्यवसायी धनबहादुर रावतले भने, ‘नदीमा गाडी जाने पुल छैन, ड्रममा बोकेको इन्धनले गाडी सञ्चालन गर्नुपर्ने बाध्यता छ, सडकको ट्र्याक खोल्ने क्रममा प्रयोग गरिएको इन्धन पनि तुइनबाटै नदीपारि पठाइएको थियो ।’
सडक निर्माण गरे पनि भेरी नदीमा पुल नहुँदा तुइनकै भरमा सबै काम हुँदै आएको छ । फलामको लहरोमा जोडिएको तुइनबाट गाडीदेखि इन्धन ओसारिँदै आइएको छ । यसरी वारपार गर्दा रु ५० हजारभन्दा बढी खर्च हुने गरेको छ । भेरी नदीको तुइनमा तीन वर्षअघि जीपहरु तारिएको थियो  ।
अहिले पनि दैनिक तुइनमार्फत यातायातका साधनदेखि अन्य सामग्री सारिँदै आइएको डोल्पा त्रिपुरासुन्दरीका धनबहादुर खत्रीले बताउनुभयो । जाजरकोट, डोल्पा र रुकुम जिल्लामा सडक निर्माणको कामदेखि स्थानीय तह हुँदै जिल्लाका सरकारी कार्यालयमा प्रयोग हुने सबै इन्धनका बोकेर ल्याएर प्रयोगमा आइरहेको छ ।
जाजरकोट, रुकुमपश्चिम र डोल्पामा इन्धन प्रयोग गर्ने डिपो नहुँदा समस्य हुँदै आएको छ । सल्यानको सल्लीबजारमा रहेको नेपाल आयल निगमको डिपोबाट तीन जिल्लाको काम हुँदै आएको छ । सोही डिपोबाट खरिद गरी ल्याइएको इन्धन स्थानीय व्यापारीले पसलमा राखेर जोखिमपूर्ण तरिकाले व्यापार गर्दै आएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्