Logo
Logo

चीनका लागि प्रस्तावित राजदूत पाण्डेमाथि सुनुवाइ प्रक्रिया सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ फागुन । संघीय संसद् संसदीय सुनुवाइ समितिले जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिमा बुधबारको बैठकले प्रस्तावित राजदूत पाण्डेका बारेमा कुनै गुनासो वा उजुरी भएमा त्यस्ता सूचना र उजुरी स्रकलन गर्न १० दिनको सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
मन्त्रिपरिषद्को यही १८ फागुनमा बैठकले उनलाई चीनका लागि आवासीय तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । नुवाकोट लिखु गाउँपालिका–१ निवासी प्रस्तावित राजदूत पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् ।
नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिशमा राजदूत पदमा नियुक्ति हुनुअघि संघीय कानूनबमोजिम संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ । सुनुवाइ प्रक्रिया अघि बढाउने सन्दर्भमा बैठकले प्रस्तावित राजदूत पाण्डेको शैक्षिक योग्यता र अनुभवबारे अध्ययन गरेको थियो ।
सभापति कर्णले भने, ‘हाम्रो प्रक्रियाअनुसार प्रस्तावित व्यक्तिको नाम आइसकेपछि उहाँका विषयमा सर्वसाधारणमा कुनै गुनासो रहेछ भने सूचना र उजुरी आह्वान गर्छाँै, त्यसका लागि सरकारी सञ्चारमाध्यममा १० दिने सूचना प्रकाशित गर्ने निर्णय भएको छ ।’ उजुरी आइसकेपछि आगामी दिनको बाँकी कार्यक्रम अघि बढ्छ ।
विसं २०५६ मा संसद् सदस्य बनेका पाण्डेसँग तत्कालीन नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भएर काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयमा सन् १९७५ देखि १९९४ सम्म एशोसिएटेड प्रोफेसरका रूपमा काम गर्नुभएका प्रस्तावित पाण्डे हाल नेकपाको केन्द्रीय सदस्य हुन् । तत्कालीन नेकपाको पोलिटव्यूरो सदस्यका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ ।
राजदूत लिलामणि पौड्याललाई फिर्ता बोलाएर सरकारले चीनमा माथिल्लो श्रेणीको राजदूत पठाउने क्रममा उनको नाम सिफारिश गरिएको जनाइएको छ । तत्कालीन मुख्यसचिव पौड्याललाई चीनमा राजदूत बनाउनुअघि सरकारले पाण्डेको नाम सिफारिश गरेकामा सरकारको फेरबदल भएसँगै उनको संसदीय सुनुवाइ रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्