Logo
Logo

संक्रमित किशोरका परिवारसहित २६ जनाको रिपोर्ट नेगेटिभ, ९० जनाको आउन बाँकी


- दृष्टि न्युज/संवाददाता

0
Shares

मलंगवा, १४ बैशाख । सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित धनकौल गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित किशोरका परिवारसहित २६ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार धनकौलबाट संकलन गरिएका सबै २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । ‘कोरोना भाइरसबाट संक्रमित भएका १४ वर्षीय किशोरका परिवारका ५ जना सदस्यसहित उनले नजिकबाट सम्पर्क गरिएको अनुमानमा धनकौल गाउँपालिकाबाट स्वाब संकलन गरिएका २६ जनाकै रिपोर्ट नेगेटिभ देखिएको भन्ने लिखित पत्र टेकु अस्पतालबाट आएको छ’, प्रजिअ जिसीले खुशी प्रकट गर्दै भने, ‘सर्लाहीको अत्यन्त जोखिम ठानिएको ठाउँबाट संकलन भएको स्वाब नेगेटिभ देखिनुले हामीलाई खुसी तुल्याएको छ ।’
धनकौल गाउँपालिका–५ हरकठवा गोठ गाउँका १४ वर्षीय एक किशोरको स्वाबको काठमाडौंको टेकु अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाईरस पोजेटिभ आएको थियो । गत वैशाख ५ गते शुक्रबार आरडीटी पोजेटिभ देखिएपछि ती किशोरलाई धनकौलको क्वारेन्टाईनबाट थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको थियो । उनी र उनीसँगै क्वारेन्टाईनमा बसेका अर्का एकजनालाई सँगै जनकपुर पठाएर दुईपटकसम्म गरीएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि दुवैजनालाई आईतबार पुनः धनकौल गाउँपालिकाकै क्वारेन्टाईनमा फर्काईएको प्रअिज जिसीले जानकारी दिए ।
‘प्रादेशिक अस्पताल जनकपुरबाट दुईवटा रिपोर्ट नै नेगेटिभ आएपछि बुधबार १४ दिन पुगेकाले ती किशोरलाई क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा पठाइएको थियो’, प्रजिअ जिसीले भने, ‘अनि विहिबार त काठमाडौंको टेक अस्पतालबाट पोजेटिभ रिपोर्ट देखियो भन्दै पो खबर आयो, खबर आउने वितिकै तत्काल सुरक्षानिकाय पठाएर किशोरको घर परिवारलाई नियन्त्रणमा राखिहाल्यौँ ।’
प्रजिअ जिसी नेतृत्वको टोली विहिबार दिउँसै धनकौल पुगेर ती किशोर एवं परिवारका सदस्यलाई सोधपुछ गरेको थियो । ‘धन्न ठूलो एरियामा अन्य सर्वसाधारणसँग भेटघाट गर्न भ्याइसकेका रहेनछन्’, प्रजिअ जिसीले भने, ‘त्यसैले अहिले हरकठवा गोठ गाउँलाई सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा राखेका छौँ ।’
किशोरलाई भने विहिबार साँझ नै वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आईसोलेसनमा पठाइएको छ । परिवारका ५ जना सदस्यलाई तत्कालै गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको प्रजिअ जिसीले जानकारी दिए । भारतको दिल्लीस्थित झोला उद्योगमा काम गर्ने ती किशोर गत चैत २३ गते रौतहटको गौर छिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्