Logo
Logo

काठमाडौं परिसरद्वारा सांसद ‘अपहरण’ मुद्दा दर्ता गर्न अस्वीकार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ बैशाख । सांसद ‘अपहरण’ मु्द्दा महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ । आइतबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित जनता समाजवादी पार्टीका नेताले लिएर गएको सांसद ‘अपहरण’सम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको हो ।
परिसरको मुद्दा शाखाका डीएसपी कृष्ण चन्द र एसपी सोमेन्द्र सिंह राठोरले घटनास्थल महोत्तरीमै दर्ता गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । मुद्दा दर्ता गर्न शाखाका प्रहरी अधिकारीले आनाकानी गरेपछि प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसँग नेताहरुले छलफल गरेका थिए ।
मु्दा दर्ता गर्न अस्वीकार गरेको डा. बाबुरामका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उनले प्रहरीले जाहेरी लिन नमानेका भन्दै किटानी जाहेरी नेपाली जनताकोमा दिने बताए ।
आइतबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न पुगेका थिए । मुद्दा दर्ता गर्न अपहरित भएका भनिएका सांसद एवं पूर्वस्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादवसमेत टेकु पुगेका थिए ।
यही १० बैशाखमा महोत्तरी पुगेर सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयास गरेको आरोप लागेको छ । उनीहरुले सांसद यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवको अपहरण गरेको दाबी गरेका छन् ।
महोत्तरीबाट अपहरणको शैलीमा काठमाडौंको नक्सालस्थित मेरियट होटलमा राखेपछि सांसद यादव डा. भट्टराई र नेता उपेन्द्र यादवको सम्पर्कमा पुगेका थिए । सांसद यादव स्वयमले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याएको सञ्चार माध्यमलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्