Logo
Logo

प्रेम, पुरुष मनोविज्ञानका कथा


मणि लोहनी

567
Shares

प्रेम सम्बन्ध होइन । स्थिति हो, स्वभाव हो । स्थिति वा स्वभाव कुनै बेला सम्बन्धजस्तो देखिन सक्छ, तर प्रेम आफैँमा कुनै सम्बन्ध होइन । प्रेम र सम्बन्धलाई एकैस्थानमा राखेर बुझ्नु गलत हुन्छ । एकअर्काबीचको सम्मानलाई जोगाउन नसकेर अक्सर सम्बन्धहरू टुट्छन् । र, त्यही टुटेको सम्बन्धलाई हामी प्रेम बुझिरहेका छौँ । प्रेम सम्बन्धभन्दा माथि हुन्छ । जब हामी प्रेमलाई सम्बन्धमा सीमित राख्न खोज्छौँ, त्यहीँबाट सुरु हुन्छ– प्रेममा पराजित हुने सिलसिला ।

साहित्यमा प्रेम सर्वाधिक पढिने र बिक्ने कुरा हो ।

मेरो हातमा छ रेजिना पाण्डेका कथाहरू । यसमा प्रेमसँग जोडिएका धेरै घटना–परिघटनाहरू बनेका छन्, बिग्रिएका छन् । प्रेमभन्दा पर मानिस छैन । मानिसको सर्वोत्तम सीप वा क्षमता भनेकै प्रेम गर्न सक्नु हो र सबभन्दा ठुलो उपलब्धि प्रेम पाउन सक्नु ।

पुरुषहरू अक्सर महिलालाई ज्यादा प्रशंसा गरिदिन्छन् । उनीहरूको अनुहार, कपाल र शरीरमा अलमलिन्छन् । प्रशंसा त्यसैको वरिपरि मात्र गरिदिन्छन् । अक्सर पुरुषहरू के कुरा बिर्सन्छन् भने पछिल्लो समय महिलाहरू हरेक सन्दर्भमा क्षमतावान् हुँदै अघि बढिरहेका छन् । बुझेर पनि धेरै पुरुषले यो सत्यलाई स्विकार्न सकिरहेका छैनन् । रेजिनाका अधिकांश कथाले पुरुषले स्विकार्न नसकेको यही सत्यलाई उजागर गरेको छ ।

सामान्यतया महिलालाई पुरातन सोचबाट बुझ्ने समाजमा बसेर रेजिनाले महिलाहरू शरीरमात्र होइनन्, भन्ने विषयमा स्पष्ट वकालत गरेकी छिन् । उनका कथाहरू सम्बन्धमा आएको तिक्तताले भरिएका छन् । प्रेमको अभाव र वासनाका हतारोले भरिएका । नरुचाइएका सम्बन्ध र त्यसले दिने चोटहरूले भरिएका । अहिलेको समाज र त्यसभित्र रहेका यौन र वासनाहरूले भरिएका ।

प्रेम जितहारभन्दा माथिको कुरा हो ।

तर प्रेमलाई जब सम्बन्धको रूपमा हुर्काउँछौ, त्यहाँ प्रेम कम र आग्रह ज्यादा भेटिन्छ । अहम् भेटिन्छ । जहाँ अहम् हुन्छ, त्यहाँ जितहार नै हुन्छ, प्रेम हुँदैन । अंहमको त्यो जटिल उपस्थितिलाई चलनचल्तीमा प्रेम भनिएको छ । प्रेमको नाममा चलेको यो अहम्युद्ध मानिसका सम्बन्धहरूमा सदियौँदेखि रहिआएको छ । र प्रत्येक मानिस आफूभित्र सम्बन्धको घाउ बोकेर हिँडिरहेछ, हिँडिरहेछ । रेजिनाले मानिसको यही चोटयुक्त यात्रा र यसक्रममा निस्किएका ‘आहट’हरुलाई शब्दमा उतारेकी छिन् ।

प्रेम र सम्बन्धलाई एक ठाउँमा राखेर बुझेकैले प्रेम असफल भएका घटना सुनिन्छन् । त्यो प्रेम होइन, सम्बन्ध असफल भएको हो । सम्बन्ध प्राविधिक कुरा हो । यो जोगाउन कसरत गर्नुपर्छ, तर प्रेम जन्मिसकेपछि जोगाउन कुनै कसरत गर्नु पदैन, प्रेम आफैँ जोगिन्छ । प्रेम हार्दैन । कहिल्यै असफल हुँदैन । अनुभूति पनि कहीँ हार्छ ?

प्रेमको खोजीमा रहेकी रेजिनाले मानिस मानिसबीचका सम्बन्धमाथि कलम चलाएकी छिन् ।

पछिल्लो समय हाम्रो समाज विवाह इतरको सम्बन्धमा रमाइरहेछ । प्रेमी, पति र साथी होइन, त्योभन्दा पर खुसी हुन खोजिरहेछ । यो समय मानिसलाई प्रेम होइन, तत्कालको तृप्ति चाहिएको छ । खुसी होइन तत्कालको न्यानो चाहिएको छ । अहिले धेरैसँग कहीँ कतै नामहीन सम्बन्धहरू छन् । सम्बन्धका रूपमा प्रेमलाई लिएर हिँडेकै कारण अक्सर हामी आफ्ना नजिकका मानिसहरूसँग खुसी हुन सकिरहेका छैनौँ ।

प्रेममा सम्बन्ध भित्र्याउनु गलत हो । तर सम्बन्धमा प्रेम मिसाउनु कला हो । जीवन जिउने कला । र यही कला बुझ्न नसकेर धेरै सम्बन्धहरू टुटिरहेका छन् ।

म रेजिनालाई चिन्दिन । तर उनका केही लेखहरू मैले दैनिक पत्रिकाहरूमा पढेको छु । समाज र अधिकारसम्वन्धि उनका केही लेखहरू मेरा सम्झनामा छन् । उनी कथा पनि लेख्छिन् भन्ने मलाई हेक्का थिएन । त्यसो त नयाँ नयाँ कथा पढ्न म उत्साहित हुने मानिस हुँ ।

अहिले रेजिनाका कथाहरूको पाण्डुलिपि पढिरहँदा म झनझनाएको छु । एउटी स्वास्नी मानिसभित्रका चाहना र रहरहरूलाई हुबहु शब्दहरूमा उतार्नु त्यति सहज हुँदै होइन । नारी मनका भावलाई कथाहरूमा लेखिरहँदा उनले पुरुष मनोविज्ञानलाई गज्जबसँग उतारेकी छिन् । पुरुषभित्रको खालीपन र महिलाका बाध्यता एकसाथ कथामा आएका छन् ।

हरेक कथामा महिला पात्र छन्– हेपिएका र सधैँ दमन र पीडामा परेका । त्यसो त हरेक कथामा महिलाका दमित इच्छाहरू छन् । सपना र चाहनाहरू छन् । रेजिनाले आफ्ना कथाहरूमा निकै सजिलोसँग स्वास्नीमानिसका असहजतालाई केलाएकी छिन् । जिन्दगी बाँच्ने क्रममा एउटी महिलाले भोग्ने हरेक दुर्दशालाई उनका कथामा पढ्न सकिन्छ ।

नामै गज्जब छ– ‘अस्तित्व हराएको रात’ । प्रेम अभावकै कारण अक्सर घर र सम्बन्धहरूमा मानिसले आआफ्नो अस्तित्व गुमाएका छन् । रात रातभर सँगै रहेर पनि पर पर छन् कति जोडीहरू । १६ वटा कथाहरूको यो संग्रह यस्तै अस्तित्व हराएका र अस्तित्वका लागि सङ्घर्षरत नारी अन्तरमनका दबिएका इच्छाहरूको तस्बिर हो ।

एउटी स्वास्नी मानिसभित्रका चाहना र रहरहरूलाई हुबहु शब्दहरूमा उतार्नु त्यति सहज हुँदै होइन । नारी मनका भावलाई कथाहरूमा लेखिरहँदा उनले पुरुष मनोविज्ञानलाई गज्जबसँग उतारेकी छिन् । पुरुषभित्रको खालीपन र महिलाका बाध्यता एकसाथ कथामा आएका छन् ।

म आफै कथा लेख्ने मानिस । मानिस मानिसबीचका सम्बन्ध र प्रेममाथि लेखेका मेरा केही कथाहरू चर्चामा छन् । पछिल्लो समय मृत्यु र त्यसपछिका महाशुन्यतामाथि कथा लेखिरहँदा मलाई महसुस भएको छ जिन्दगीमा प्रेम र चाहना पुरा नहुँदा मानिसको मृत्यु समेत कठिन हुने गरेको छ । मृत्युपछि पनि आत्माको रूपान्तरण असहज हुने गरेको छ । त्यसैले बाँच्नु र बाँच्ने क्रममा चाहना र सपनाहरूको सम्मान गर्न सक्नु ठुलो कुरा हो । यो जो कोहीको भाग्य या प्रारब्धमा हुँदैन ।

अहिले रेजिनाका कथाहरू पढिरहँदा मृत्युको अघिल्तिर बाँचिरहेको प्रत्येक जीवनसँग संघर्ष र दुःखका आआफ्नै कथा छन् भन्ने लाग्छ । मर्नुअघि त बाँच्नै पर्यो नि । बाँच्न पनि त्यति सहज कहाँ छ र ? अझ महिलालाई जिउन कति कठिन ? अधिकांश परिस्थिति महिलामैत्री छैनन् । यौन र प्रेमको कचमचमा किन सधैँ महिला नै पिल्सिन्छे ? महिला हुनु के अभिशाप बाँच्नु हो ? ०००

यस संग्रहमा एउटी महिलाले महिला पात्रहरूकै सहारामा लेखेको पुरुष मनोविज्ञानका कथाहरू छन् । कथाले समाजभित्र रहेका बहुसङ्ख्यक पुरुषहरूको मनोवृत्तिलाई देखाएको छ । तर नारी भावनाको उचित कदर छ । अधिकांश कथा लोग्ने स्वास्नीका सम्बन्धमाथि लेखिएका छन् । समाजले कसरी बुझेको छ आममानिसको दाम्पत्यता जीवनलाई रेजिनाले त्यसैगरि देखाएकी छिन् । कति कथाहरूमा पुरुष कमजोर र खराब देखाइएको छ ।

कतिमा नारीलाई लाचार र विवश बनाइएको छ । तर महिलालाई बोल्ड बनाइएका अधिकांश कथाले पुरुष सत्तालाई हाँक दिएको छ । नारी स्वाभिमानको कुरा गरिरहँदा रेजिनाले नारी संवेदनालाई दुरूह रुपमा प्रस्तुत गरेकी छिन् ।

बोल्ड महिलालाई प्रमुख पात्र बनाइएका कथामा पुरुषलाई गाली गरिएको छैन । पुरुष मनोविज्ञानलाई प्रस्ट पारिएको छ । पुरुषको नकाब खोलिदिएको छ । र समाजमा असल पुरुष पनि छन् भन्ने सत्यलाई कथाकारले आत्मसात् गरेकी छिन् ।

तर केही कथामा जानी जानी रेजिनाले महिलालाई कमजोर बनाएकी छिन् । त्यसो त समाजमा कमजोर महिला नभएका होइनन् । हरेक गाउँमा काइला बाजेहरु छन् र रेवतीको शरीरसँग निर्धक्क निःसंकोच चलिरहेका छन् । ‘कुरुप’ कथाभित्रको आमाछोरीबीचको प्रेमको शौन्दर्य अजीवको छ ।

‘तेजाव’ शीर्षकको कथामा भव्य दरवारभित्रका विसंगति र पीडाहरू छताछुल्ल भएको छ । ‘मन’ ले पुरुष मनोविज्ञानलाई उजागर गरेको छ । ‘मुक्ति’, ‘सन्तुष्टि’ र ‘भुल’ कथा यौन र प्रेमको रस्काकस्सीले बेरिएका छन् । रेजिनाका अधिकांश कथाले समाजमा हुर्किँदै गएका नामहीन सम्वन्धहरूको बढ्दो ग्राफलाई उतारेको छ ।

त्यसो त यस संग्रहमा रेवतीजस्तो विपन्न र टुहुरी किशोरीदेखि लुसी मैयाजस्ती दरवारकी राजकुमारीसम्मका कथाहरू छन् । यसभित्र समाजका हरेक अनुहारलाई कथाहरूमा पढ्न सकिन्छ । यो रेजिनाको सबैभन्दा सुन्दर पक्ष हो ।

त्यसो त केही कथाहरू सिकारु कथाकारका जस्ता सामान्य पनि छन् । थुप्रै ठाउँहरू छन् – मिलाउन र छाँटकाँट गर्न सकिने । तर पनि ती कथाहरूले संग्रहलाई कमजोर बनाएको छैन । किनभने त्यसमा यही समाज छ । यही समाजका मानिसहरू छन् । समाजमा सबै कुरा कहाँ राम्रा मात्र छन् र ? कति कथाहरू रेजिनाले सुनेर लेखेकी छिन् । कति अनुभव गरेर र कति देखेर लेखेकी छिन् ।

म रेजिनालाई चिन्न आतुर छु ।

निर्धक्कसँग प्रेम – यौनका बारेमा लेख्न सक्ने र पुरुष सत्तालाई चुनौती दिनसक्ने कथाकारसँग गफिन इच्छुक छु । कथा लेख्दै गर्दा उनले भोगेका मानसिक उतारचढाव सुन्न चाहेको छु ।

मेरो साहित्यिक संघर्षका बेला मलाई सहयोग गर्ने केही अनुहारहरूमा जयदेव भट्टराई दाजु एक हुन् । उनले भनेको म कसरी हार्न सक्छु ।

‘भाइ, एउटा पाण्डुलिपि छ कथाको । मेल गरेको छु । पढ्नु र भूमिका लेखिदिनु है ।’ जय दाजुको आग्रह हो कि निर्देशन म ठम्याउन सक्दिन ।

‘हस दाजु, तर कसको हो ? कथाहरू कस्ता छन् ? नपढी म के भनुँ ?’ म अवाक् हुन्छु ।
‘पढ्नु न । कथा राम्रा छन् ।’

म मेल खोलेर कथा पढ्न थाल्छु र रन्थनिन्छु । संग्रहभित्रका केही कथा राम्रा मात्र होइन शक्तिशाली छन् । सबै कथा पढिसकेपछि जय दाजुलाई फोन गर्छु र भन्छु –

‘दाजु म भूमिका लेख्छु । कथाहरू राम्रा लागेँ ।’

प्रतिक्रिया दिनुहोस्