काठमाडौं । कवि एवं मुक्तककार कल्पना काफ्ले अशान्त धड्कन लिएर पाठकमाझ आएकी छन् । बिएन पुस्तक संसार प्रालिद्धारा प्रकाशित उक्त कृति शनिबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको हो ।
वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राडा माधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डा. नवराज लम्साल, प्राडा रामप्रसाद ज्ञवाली, प्राडा देवी नेपाल, पुष्पा काफ्ले, रामकाजी कोने लगायतले पुस्तकको संयुक्त विमोचन गरेका थिए ।
‘प्रभावशाली कवि कल्पनाभित्र एक खालको साहित्यिक उज्यालो छ, त्यो उज्यालोले गर्दा यो बेजोड उपस्थिति देखिएको छ । उहाँको मुक्तकमा नयाँ नयाँ विम्वको प्रयोग भएको छ । मुक्तकमा विम्वको प्रयोग गरेर लेख्नसक्नु उहाँको खुवी हो’ पुस्तक समीक्षाका क्रममा प्राडा रामप्रसाद ज्ञवालीले भने ।
समीक्षाकै क्रममा प्राडा देवी नेपालले कल्पनाका मुक्तकमा गहिरो भाव रहेको धारणा सुनाए । त्यसैगरी, अर्का वक्ता डा अशोक थापाले अशान्त धड्कनमा समेटिएका मुक्तकहरु मुक्तकको रचना विधानअनुरुप नै आएको बताए । मुक्तकले आजका मान्छे र तिनका प्रवृत्तिमाथि मीठो व्यङ्ग्यसमेत गरेको थापाको भनाइ थियो ।
गणेश मार्किकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सरोज घिमिरले गरेका थिए ।