काठमाडौं । दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अवार्ड अन्तर्गतको बेस्ट डिजिटल बैङ्किङ अवार्ड एन आईसी एशिया बैंकले जितेको छ । इन्डियन चेम्बर अफ कमर्सले प्रदान गर्दै आएको सो अवार्ड एन आईसीले जितेको हो ।
बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रूपले डिजिटल माध्यममा रूपान्तरण गरिरहेको छ । बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैङ्किङमा अझ बढी उत्प्रेरणा मिल्ने बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन खनियाले बताए ।
इन्डियन चेम्बर अफ कमर्सले सन् २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कन्क्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
यस अवार्डमा बिमस्टेक अन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलङ्का, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इन्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।