भनिन्छ, जस्तो मुहान उस्तै खोला । मुहान धमिलो छ भने खोला संग्लो बग्ने कुरै भएन । नेपाली राजनीति ठिक यस्तै देखिन्छ । मुहान फोहोर छ । तर, खोला कञ्चन बगेको देख्ने बेग्रल्ति नजर छन् । राजनीतिक विज्ञानले मानेको राजनीतिको मुहान नेता नै हो ।
पार्टीको मुख्य नेता जस्तो हुन्छ, त्यस्तै पार्टी हुन्छ । जस्तो पार्टी हुन्छ, त्यस्तै कार्यकर्ता हुन्छन् । जस्ता कार्यकर्ता हुन्छन्, त्यस्तै जनता हुन्छन् । जस्ता जनता हुन्छन्, त्यस्तै देश बन्छ । अर्को कुरा परिवर्तन एकोहोरो ओरालो बग्ने नदी पनि होइन ।
कहिले काहीँ बंगलादेश बनिदिन्छ । मथलव जनताले पनि परिवर्तन गर्न सक्छन् । नेताहरू निकम्मा र काम नलाग्ने भए, नातावादी, कृपावादी, घोसखोर, चोर, गुटवादी भएभने जनताले आफ्नो तागत प्रयोग गर्न सक्छन् भन्ने कुरा बंगाली जनताले पुष्टि गरिसकेको अवस्था छ । खैर आजको यस स्तम्भमा उकुसमुकुस अवस्थामा देखिने एकीकृत समाजवादीको बारेमा संक्षिप्त विचार विमर्श गरिने छ ।
कागजी कुराले क्रान्ति गर्दैनन्
एकीकृत समाजवादीले महाधिवेशनबाट पारित गरेको समाजवादी कार्यक्रमले मात्र यो पार्टी बाँच्न सक्छ भन्ने कसैलाई लागिरहेको छ भने त्यो दिवा सपना हो । सत्य के हो भने एकीकृत समाजवादीले नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादको यात्रामा अघि बढाउने बाटो तय पक्कै गरेको हो । तर, कागजी अक्षरले क्रान्ति सम्भव छैन ।
युरोपमा भएको त्यही थियो । मार्क्स\एंगेल्सले पूँजीवादी मुलुकमा समाजवादी क्रान्ति हुन्छ भनेर कागजमा लेखेको यतिका वर्षसम्म पनि युरोपमा समाजवादी क्रान्ति हुने सकेको छैन । तर, लेनिनले मार्क्सवादलाई व्यवहारमा उतार्नका निम्ति प्रयास गर्दा गरिब, विपन्न, अविकसित रूसमा समाजवादी क्रान्ति सम्पन्न गरेको इतिहास साक्षी छ । ठोस् परिस्थितिको ठोस् विश्लेषण गरेर क्रान्तिको बाटो वा लय समात्नु प्रमुख कुरा हो ।
आज एकीकृत समाजवादीले समाजवादी कार्यक्रम, राम्रो खालको संगठनात्मक संरचनालगायतका काम गरेकोमा जनता खुसी र दुःखी छैनन् । अझ जोडले भनौँ एकीकृत समाजवादीको समाजवादी कार्यक्रम जनतालाई हर्ष र बिस्मात । यस्तो किन भयो ? भन्ने बारेमा छलफल बहस गर्ने जिम्मा त एकीकृत समाजवादीकै हो । तर, हाम्रो चिन्ता एकीकृत समाजवादी पार्टीको भलाई सिवाय अरू थोक केही होइन ।
लिखितमा जतिसुकै सुन्दर नारा लेखे पनि त्यसको प्रभाव जनतामा प¥यो कि परेन ? भन्ने कुरा मुख्य सवाल हो । साधारण जनताको कुरा छोडौँ साढे तीन सयजति केन्द्रीय सदस्य मध्ये अधिकांशलाई पार्टीले अघि सारेको समाजवादी कार्यक्रमका बारेमा जानकारी छैन ।
ज्ञान छैन । जसरी पनि केन्द्रीय सदस्य बन्ने, जसरी पनि नेताको प्यारो बन्ने, जसरी पनि पदाधिकारी बन्ने, जसरी पनि शक्तिमा बसिरहने, जसरी पनि पद हत्याउने बाहेक अर्थोकको ध्यान छैन । कसरी पार्टी बनाउने भन्नेमा धेरैको चिन्ता देखिँदैन ।
चयन भएका केही केन्द्रीय सदस्यहरूले नै यो पार्टी बन्दैन भनिरहेका छन् । यस खालका टिप्पणी गर्नु केन्द्रीय कमिटीमा चयन नभएकाले भन्नुसमेत पार्टी अनुशासन बाहिरको कुरा हो । तर, केन्द्रीय कमिटीमा चयन भएकालाई समेत यो पार्टी बन्दैन भन्ने लाग्नु जस्तो कायरता अर्को के हुन सक्छ ?
व्यवहारिक छैनन् नेता
एकीकृत समाजवादीका अधिकांश नेताहरू व्यवहारिक छैनन् । विचार, सिद्धान्त र व्यवहारले होइन गफले आदर्शवादी छन् । विचारमा स्खलित र व्यवहारमा च्युत बनेका छन् । निजत्वको चर्मोसिमामा रमारहेका नेताहरूले समाजवादको नारा लगाएको करकस सुनिँदो रहेछ ।
समाजवादको नारा लगाउँदा त सुमधुर धुन बजेको जस्तो आवाज आउनुपर्छ । समाजवादको ध्वनि सुनेर सारा दुनियाँ सुन्न आतुर बन्नुपर्छ । हाम्रोमा त समाजवादको नारा लगाउनेहरू सबैभन्दा भ्रष्ट, स्वार्थी, अव्यवहारिक पो देखिन थालेका छन् ।
विचार समाजवादी, नेता समाजवादी पार्टीको तर, व्यवहार पूँजीवादी । नातावाद, कृपावाद, फरियावाद, गुटवादको सिकार बनिरहेको कम्युनिष्ट आन्दोलनले सही लय समात्नुपर्छ भन्ने हो । यदि सच्चिएन भने नेपाली कम्युनिष्ट आन्दोलन यसरी नै खिइँदै जाने र एकादेशको कथा बन्ने पक्का छ ।
मौन माधव, दुबिधामा कार्यकर्ता
गत असरमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादी अहिले गम्भीर संकटको सामना गरिरहेको देखिन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल मौन छन् । पार्टी पंक्ति अत्यन्तै अस्थिरतामा बाँचिरहेको छ । अध्यक्ष नेपालले हालै एक बहसमा सबै नेता कार्यकर्ताहरूको क्रियाकलाप हेरिरहेको र नाडीनशा छामिरहेको बताएका थिए ।
पार्टीप्रति जनविश्वास घटिरहेको र कार्यकर्ताहरूले पार्टी छोडिरहेको अवस्था अध्यक्ष नेपालले नजिकबाट देखिरहेको हुनुपर्छ । यस्तो बेला कोही पार्टी छोड्छ भने केही फरक पर्दैन भन्नेसम्म नेपाल पुग्नुको पनि केही अर्थ छ ।
अध्यक्षले नै पार्टी छोड्नेहरूलाई छोड्न देऊ भने पनि यो पार्टीमा के हुँदै छ भन्ने कुराको खोजी गर्नु असली कार्यकर्ताको कर्तव्य हो । अध्यक्षले पार्टी नछोड्नुहोस्, केही गल्ती कमजोरी भएका छन् भने सच्याएर अघि बढौँ भन्नुपर्थ्यो जस्तो लाग्छ ।
अर्को कुरा कारबाहीमा परेका, आम निर्वाचनमा भोट हाल्न नगएका, खराब आचरणका, योग्यता, क्षमताहीन, समाजले नपत्याएका र पार्टीपंक्तिमा राम्रो छवि नभएकालाई केन्द्रीय सदस्य चयन गरेपछि पार्टीमा यो संकट आएको सहज अनुमान गर्न सकिन्छ । खैर, यस्तै संटकको सामना गरेर माधव नेपाल, झलनाथ र घनश्यामहरू यहाँसम्म आएका नेता हुन् । पार्टी बन्दै छ । पार्टी बन्छ ।
कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नै एकीकृत समाजवादी हो । अब सांगठनिक रूपमा यसलाई बलियो बनाएर अघि बढाउने जिम्मा केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटीका नेताहरूको हो ।
सबै केन्द्रीय कमिटी सदस्यलाई स्थानीय तहमा खटाउने र पार्टी निर्माणमा शक्ति केन्द्रित गर्ने हो भने पार्टी नबन्ने कुरै छैन । निराशा चिर्नुपर्छ । समाजवादी कार्यक्रमका बारेमा नेता कार्यकर्ता जानकार हुनुपर्छ । जनतालाई हाम्रो कार्यक्रम, मुद्दा र अबको राजनीति यो हो भनेर बुझाउन सक्नुपर्छ ।
अन्त्यमा माधवकुमार नेपाल यसरी मौन बस्नु हुँदैन । कसैको ग्रम्ह्राहमा पर्नु पनि हुँदैन । किन कि माधवकुमार नेपाल कसैको निगाह र आर्सीवादले बनेको नेता होइनन् । महाधिवेशनले चयन गरेको नेतृत्व हो । अध्यक्षको अधिकार प्रयोग गर्नुपर्छ । यसको अर्थ अरूको कुरा नसुन्ने भनेको होइन । तर, कति सुन्ने ? त्यो विचार राख्नुपर्छ ।
गत महाधिवेशनमा गरिएको गल्ती पुनःदोहो¥याउनु हुँदैन । पदाधिकारी चयन केन्द्रीय कमिटी बैठकले गर्नुपर्छ । यो वा त्यो बहाना, कसैको चाहानामा टिका लगाउने काम गरिनु हुँदैन । यदि त्यसो गरियो भने पार्टीको हालत वर्तमानभन्दा खराब हुने निश्चित छ । अर्को कुरा नेताहरूले मात्रै कार्यकर्ताका नाडी नशा छामेका हुँदैनन् ।
कार्यकर्ताहरूले पनि नेताहरूका नशा छामेका हुन्छन् भन्ने कुरा भुल्नुहुँदैन । पार्टी नेतृत्वले जब केन्द्रीयताको नाममा अचाक्ली गर्न थाल्छन्, त्यो बेला सचेत कार्यकर्ताले आक्रोश व्यक्त गर्न थाल्छन् । अहिले भएकै यत्ति हो । योभन्दा धेरै सोच्न थालियो भने यसको असर अर्कै पर्न सक्छ भन्नेमा नेतृत्व सचेत हुनुपर्छ ।