राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा चरम वितृष्णा छ । अहिले नागरिकले हरेक स्थानमा निराशा पोखिरहेका छन् । नागरिकको जल्दोबल्दो विषयमा दल र नेताहरू जिम्मेवार नबन्दा जनता आक्रोशित बनेका छन् ।
टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा सहभागी हुन ठूलो भिड जम्मा भएको थियो । भिडबाट नेताहरूको विरोध गर्दै केही युवाले चर्को नारा लगाएका थिए । नारा चलिरहेकैबीचमा काँग्रेस सभापति देउवा मञ्चमा सम्बोधन गर्न पुगेपछि भिड उत्तेजित बन्यो ।
उत्तेजित भिडले नेताहरूको विरोधमा ‘मुर्दावाद’ को नारा लगाउन थाल्यो । नाराबाजी र होहल्लालाई चुपचाप हेरेका नेताहरूले बोल्ने पालो आएपछि भने समाज अराजक बनेको र नेपालको मौलिकतामाथि प्रहार गरेको आरोप लगाए । काँग्रेस सभापति देउवाले त झोक्किँदै ‘लाज नभएका बदमासहरू’ सम्म भन्न भ्याए ।
देउवाले आक्रोश पोखेपछि प्रधानमन्त्री ओलीले पनि समाज अराजक बन्दै गएको भन्दै अभिव्यक्ति दिए । ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएर नेपाली समाजलाई भाँड्न खोजेको आरोप समेत लगाए ।
नयाँ पुस्तालाई यस्तो गम्भीर आरोप लगाएका ओली र देउवा नागरिकमा निराशा, आक्रोश किन उत्पन्न भयो भन्ने विषयमा भने बोलेनन् । नयाँ पुस्ताले समाज भड्काउन खोजेको गम्भीर आरोप लगाएका प्रधानमन्त्री ओलीले दल र आफूले आत्मसमीक्षाको आवश्यकता पो छ कि भन्ने महसुस समेत गरेको देखिन्न । सधैँ सत्ताको लडाइँमा व्यस्त हुने दलहरूले देश र जनताको लागि नसोच्दा देशमा दुर्दशा थपिएको छ । जसले जनस्तरमा निराशा बढेको छ ।
गौरा पर्वको अवसरमा शीर्ष नेताहरू सहभागी कार्यक्रममा होहल्ला र नाराबाजी सभ्यताभन्दा बाहिरको विषय भएपनि नागरिक सन्तुष्ट छैनन् भन्ने बुझेर दल र सरकारले कदम चाल्ने बेला भएको प्रस्ट सन्देश दिएको छ । तर, सत्तामा बसेकाहरूले अझै पनि नागरिकको निराशा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्ने चासो दिएको छैन ।
देशको विद्यमान अवस्था हेर्ने हो भने अवस्था दिन प्रतिदिन खस्कँदो छ । देशमा बेरोजगारी व्याप्त छ । झूटको खेती दिन प्रतिदिन मौलाएको छ । राम्रा होइन हाम्राले प्रश्रय पाइरहेका छन् । सुशासन हराउँदै छ । भ्रष्टाचार मौलाएको छ ।
युवा पिँढी देशबाट बाहिरिएको छ । जमिन बाझिएको छ । महँगी आकासिएको छ । मानिसमा श्रम गर्ने बानी हराइसकेको छ । देशमा पाका तथा केटाकेटीको उमेर समूह अधिक रहेको छ । यही क्रमले युवा पिँढी बाहिरिने र नफर्कने अवस्था आयो भने घरहरू वृद्धाश्रममा परिणत हुने निश्चित प्रायः छ ।
हिजो एउटा बहाना थियो– राणा, पञ्च र शाहहरूको अलोकतान्त्रिक शासन र चरित्रको कारणले देश बनेन । आज ती छैनन् । तैपनि देश किन बनिरहेको छैन ? यसको उत्तर कसले दिने ? जनता किन जहिले विद्रोहमै ?
आन्तरिक तथा विदेशी ऋणको भार हरेक वर्ष थपिँदै छ । चालु खर्च धान्न आम्दानी तथा राजस्वले धौधौ पर्ने स्थिति छ । देशमा बन्ने आवधिक योजना, नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीति जस्ता नीति निरन्तरताका रूपमा समयमा आउँछन्, तर तिनको कार्यान्वयन पक्षमा फितलोपना देखिन्छ । देशको आर्थिक अवस्था एकदम जर्जर भइसकेको छ । मूल्यवृद्धिले सीमा नाघेको छ । महँगीले ढाड सेकिएको छ । बेथितिले पिरोलेको छ ।
देश रेमिट्यान्सले धानिरहेको छ । विदेशमा पसिना बगाएर ल्याएको रकम खाएर उडाउने र आयातमा लगानी भइरहेको छ । धनी र गरिबबीचको खाडल गहिरिँदै छ । अस्थिर राजनीतिले विकासको गति समाउन सकिरहेको छैन । तर, नेताहरूको ध्यान सत्तामा मात्रै छ । एक–अर्कालाई गाली गर्नमा मस्त छन् । त्यसैले नेताप्रति जनताको चरम वितृष्ण छ ।
नेपालमा वि.सं. १९९० बाट लोकतान्त्रिक आन्दोलन सुरुवात भएको थियो । त्यही क्रममा १९९७ सालमा गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको सहादत भयो । जहानियाँ शासन चलाइरहेका राणाले उनीहरूलाई फाँसीको सजाय दिएका थिए । यी महान् सहिदहरु प्नि त्यतिबेला युवा नै थिए ।
त्यो बेलादेखिको हिसाब गर्दा देशको लोकतान्त्रिक आन्दोलन करिब ९० वर्षको भइसकेको छ । यो अवधिमा धेरै ठूला आन्दोलन भए । सबैभन्दा ठूलो आन्दोलन २००७ साल, २०४६ साल र २०६२–२०६३ भयो । तर, यी आन्दोलनका मर्म र भावनाको यथोचित सम्मान हुन सकेको छैन ।
२००७ सालको जनक्रान्तिले १०४ वर्षे राणा शासन ढाल्यो । तर, देशमा लोकतन्त्रको प्रत्याभूति भने हुन सकेन । ‘राणा परिवार’ को ठाउँमा तिनै राणाले कज्याएर राखेका शाहहरू अघि आए । कुनै एक परिवारको जहानियाँ शासन कायमै रह्यो ।
यसलाई फाल्न जनताले ३० वर्ष कठोर संघर्ष गर्नुप¥यो । २०४६ पछि ‘संवैधानिक राजतन्त्र र संसदीय लोकतन्त्र’ संस्थागत हुने अपेक्षा गरिएको थियो । अन्ततः जनआन्दोलन २०६२–२०६३ आयो । यो आन्दोलनले ‘शाह परिवार’ को जहानियाँ शासनलाई समेत समाप्त ग¥यो ।
हिजो एउटा बहाना थियो— राणा, पञ्च र शाहहरूको अलोकतान्त्रिक शासन र चरित्रको कारणले देश बनेन । आज ती छैनन् । तर पनि देश किन बनिरहेको छैन ? यसको उत्तर कसले दिने ? र, कहिले पनि किन जनता विद्रोहमै छन् ? यसले जुनै जोगी आएको पनि कानै चिरेको भन्ने उखानको चरितार्थ भएको छ ।
२०७४ को आम निर्वाचनमा एउटा भाष्य थियो । कांग्रेसले देश राम्ररी सकेन । कम्युनिस्टहरू बहुमतमा आए पनि निरन्तर जनमुखी गर्नेछ । जनताले पनि पत्याए । कम्युनिष्टहरूले झन्डै दुईतिहाइ सिट पाए । सरकार बनाए । तर, त्यत्रो ठूलो राजनीतिक उपलब्धि २ वर्ष नबित्दै फास्स न फुस्स भयो । फेरि त्यही कचिङ्गल । फेरि त्यही किचलो । फेरि त्यही दाउपेच । छलछाम । षड्यन्त्र । धोकाबाजी ।
हु न त जनताले आफ्नो हैसियअनुसरकै नेता पाउने हो । कुनै पनि समाजलाई नेतृत्व गर्ने नेता त्यही समाजबाट आउने हो । उसको आचरण त्यही समाजको प्रतिबिम्ब हो । यसर्थ समाज, नागरिक र राजनीति एक–आपसमा सम्बन्धित हुन्छन् ।
राजनीति र राजनीतिज्ञप्रतिको दोषारोपणले मात्र नागरिकको जिम्मेवारी पूरा हुँदैन । हामीले आदर्श राजनीतिक दल र आदर्श नेताको परिकल्पना मात्र ग¥यौँ, आदर्श नेता जन्माउन आदर्श समाज चाहिन्छ भन्ने भुलिरह्यौँ ।
अन्त्यमा, अझैँ पनि समय घर्किसकेको छैन । सच्चिने समय बाँकी नै छ । प्रवृत्तिगत सुधार, रूपान्तरणकारी सांगठनिक चेत, असल र सफल नेतृत्वको आजको खोजीको विषय हो । दलहरूले विगतको निर्मम समीक्षा गर्नुपर्छ ।
साथै, आगतमा राम्रो गर्छौँ भन्ने विश्वस्त आधार पेस गरेर जनतालाई विश्वासमा लिन सक्नुपर्छ । अनि मात्रै लोकतन्त्र र संविधानको रक्षा हुनसक्छ । समृद्धि र समाजवादको यात्रा अघि बढ्न सक्छ ।