चीनमा पनि आन्दोलन हुन सक्छ भन्ने कुरा मैले कहिल्यै सोचेकै थिइन् । सन् १९८९ को अप्रिलतिर त्यहाँका पूर्वप्रधानमन्त्री हु याओ–पाङको मृत्यु भएको थियो । टिभीमा शोकसभा हेरेँ । शोकसभामा तत्कालीन अध्यक्ष तङ् स्याओ–फिङ लगायत धेरै नेताहरूको मात्र होइन विशाल जनसमुदायको उपस्थिति थियो । हु याओ–पाङ लोकप्रिय नेता रहेछन् । १४ वर्षको उमेरदेखि चिनियाँ क्रान्तिमा होम्मिएका रहेछन् ।
त्यसको केही दिनपछि नै आन्दोलनको कुरा सुनिन थाल्यो । शुरुमा खासगरि, विद्यार्थीहरू आन्दोलित भएका रहेछन् । ‘शिक्षाको स्तर खस्किँदैछ’ भनेर हामीलाई पढाउने गुरुहरू पनि भन्दै थिए । र, त्यसैले विद्यार्थीहरू असन्तुष्ट छन् भन्ने कुरा गाइँगुईँ सुनिदै थियो ।
त्यही क्रममा राज्य र पार्टीको नेतृत्वप्रति जनताको असन्तुष्टि पनि प्रकट हुन थाल्यो । तैपनि आन्दोलनले त्यति ठूलो रूप लिन्छ होला भनेर एकजना विदेशी विद्यार्थीका दृष्टिले अनुमान नै गर्न सकेको थिइनँ । हु याओ–पाङले यस्तो सम्भावनाबारे बेलामा नै सतर्कता गराएका पनि रहेछन् । तर, बिरामी थिए, केही गर्न नपाउँदै बितिहाले ।
यसको असर पनि जनतामा परिरहेको रहेछ । प्रिय नेताको मृत्युपछि विद्यार्थीहरूले आ–आफ्नो कलेज युनिभर्सिटीमा हडताल सुरु गरेछन् । हामी विदेशी विद्यार्थीलाई पनि केही दिन त पढ्न जान गाह्रो भयो । हामी केवल दर्शक मात्रै थियौँ । तर, ठूलो आन्दोलन नभइदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।
मे महिना सम्ममा पुग्दा त झन् विभिन्न माग थपिँदै गए र ठाउँठाउँमा अनसन नै सुरु भयो । मे महिनाको १४ तारिखदेखि पइचिङको विशाल थ्येन–आन–मन मैदानमा भोक हडताल गर्ने विद्यार्थीहरू कति धमाधम बिरामी पर्न थालेको कुरा सुन्दा हाम्रो मनमा पनि अशान्ति थपियो । विद्यार्थीहरूले आफ्नो माग छोडेनन् । सरकारले माग पुरा गरिदिने छाँटकाँट देखाएन ।
अनि त आन्दोलन झनै चर्किदै ठाउँ ठाउँबाट जुलुसहरू निस्कन थाले । शाङघाईका कलेज, विश्वविद्यालयमा पनि हाम्रै देशमा झैँ हुलकाहुल विद्यार्थी नारा लगाउँदै जुलुसमा हिंडेको देखापर्न थाले । पछि त विद्यार्थीहरू मात्र नभएर बुद्धिजीवि, शिक्षक, प्राध्यापकहरू समेत जुलुसमा सामेल भए ।
मैले हामीलाई पढाउने लीन लाओश्र् सँग सोधेँ – के भइरहेको छ भनेर । उनले भने – ‘अब यो आन्दोलन् हत्पति शान्त हुँदैन । मान्छेमा धेरै असन्तुष्टि बढेको छ …’। मेरो मन झनै अशान्त भयो ।
त्यहीबेला तिर सोभियत युनियनका नेता गुर्भाचोभ चीनमा पुगेका थिए । ३० वर्षपछि चीन र रुसका नेताको त्यसरी औपचारिक भेटघाट भएको रहेछ । विभिन्न देशका पत्रकारहरू पनि चीनमा पुगेको बेला थियो । चीनको आन्दोलनको चर्चा अझै चुलिने नै भयो ।
यो आफै पनि विश्वको ध्यान आकर्षित पार्ने कुरा थियो । बाहिरबाट आएका नेता थ्येन–आन–मन शहीद स्मारकमा फूलको गुच्छा चढाउन जाने औपचारिक कार्यक्रम हुन्थ्यो । तर, विद्यार्थीहरूको अनसन पनि त्यहीँ भएकाले त्यो कार्यक्रम नै रद्द गर्नु प¥यो । यो समाचार सुन्दा पनि मनमा असजिलो लागिरह्यो । अब झन् के हुने होला भनेर पीर पनि लाग्यो !
छैठौँ दिनसम्म पुग्दा त स्थिति झनै तातेको सुनियो । पइचिङमा घटना घटिरहेको भएपनि सबैतिरका जनतामा चासो बढिरहेको थियो ।
शाङघाईका मान्छेहरूमा आन्दोलनप्रति खासै रुची भएजस्तो लागेको थिएन । सबै पैसा कमाउनै लागेजस्तो देखिन्थे । तर, होइन रहेछ । बिहानैदेखि हातहातमा सानो रेडियो बोकेर पइचिङको खबर सुन्दैथिए र सुनेको समाचारले तातेकाजस्ता देखिन थालेका थिए शाङघाईका मानिसहरू । त्यो आन्दोलनले नेताहरुलाई साँच्चै आच्छु आच्छु पारेकै रहेछ । कसैको अनुहारमा पनि खुसी देखिन छोड्यो ।
त्यतिबेलाका प्रधानमन्त्री ली फङ्ग र विद्यार्थीबिच वार्ता भयो भन्ने सुन्दा मन केही सञ्चो जस्तो भएको थियो । ली फङ्गले विद्यार्थीहरूलाई भोक हडताल तोड्ने आग्रह गरे अरे भन्ने सुन्दा अब त केही शान्त होला भन्ने लागेको थियो ।
वास्तवमा विद्यार्थीलाई चित्त बुझाउन अझै सकेका रहेनछन् । जुलुसहरूले बाटो जाम भएको कुरा सुनेँ । म आफै पनि पैदल हिँड्दै निस्किँदा ठाउँठाउँमा जुलस देखेँ । सरोजको युनिभर्सिटीका विद्यार्थीहरू अघिल्लो दिन मौन जुलुसमा देखिएका थिए ।
यो दिन भने अन्तर्राष्ट्रिय गीत गाएर जुलुसमा हिँडेको देखियो । विद्यार्थीमात्र नभएर कर्मचारीहरूले पनि जुलुसमा भाग लिएका थिए । यो विद्यार्थीहरूको आन्दोलनलाई देशभक्तिको आन्दोलन घोषित गरियोस् भन्ने माग पनि थपिएछ ।
उता, पईचिङमा मार्शल ल लगाउँदै छ रे भन्ने सुनियो । मान्छेहरू झनै ताते । विद्यार्थीहरूलाई चुप लगाउन कसैले सकेन । थ्येन–आन–मनमा अनसन बसेका विद्यार्थीहरूलाई सैनिकहरू नै प्रयोग गरी साम्य गराउने पनि प्रयत्न भएछ । पार्टीभित्र पनि उथलपुथल हुन थालेको हल्ला सुनिन थाल्यो । समाजवादका पक्षपाति हामी समाजवादी देशमा कुनै भयानक घटना भएको सुन्न नपरोस् भन्ने चाहन्थ्यौँ ।
नेताहरूका छोराहरू गुण्डागर्दी र भ्रष्टाचारमा लागेको कुरालाई जनता खुल्ला रुपमा विरोध गरिरहेका थिए । पहिले भित्रभित्र मात्र थियो, अब सबैको मुखबाट यस्ता कुरा सुन्दा मनमा धेरै प्रश्न उब्जिन थालेका थिए ।
जनताको शक्तिलाई बुझेर जायज माग बेलैमा पुरा गरिदिए हुन्थ्यो भन्ने हामीलाई पनि लाग्न थाल्यो । तर, हामी त केवल बाहिरिया दर्शक, कसलाई के भन्न सक्थ्यौं र ! तर, त्यति ठूलो आन्दोलनको बेला हामी चीनमा रहनुले एउटा ठूलो अनुभव लिने, पाठ सिक्ने अवसर भने मिल्यो ।
समाजवादलाई नै कसरी बुझ्ने भन्ने बारेमा, साँच्चैको समाजवाद निर्माण गर्न कति गाह्रो हुँदोरहेछ भन्ने बारेमा, कुनै समयका इमानदार क्रान्तिकारीलाई सत्ता र शक्तिले कसरी बिगार्न सक्दोरहेछ भन्ने बारेमा हेर्न, बुझ्न, सोँच्न बाध्य भयौँ ।
सन् १९८९को जुन महिनासम्म पुग्दा त आन्दोलनले अझै उग्र रुप लिइसकेको थियो । सैनिक र विद्यार्थीको मुठभेड र कतिको हत्या पनि भैसकेको कुरा सुन्नुपर्दा मन ज्यादै बेचैन भयो । कतिपय विदेशी विद्यार्थी चीन छोडेर देश फर्किन थालेका थिए ।
पढाइ छोडेर हामी पनि बीचैमा फर्किनुपर्ने अवस्था नआओस् भन्ने पनि लाग्थ्यो । हामी पइचिङभन्दा टाढा शाङघाईमा थियौँ । तर, अनेक हल्ला चल्थे । संकटकालीन अवस्था घोषणा हुन सक्छ भन्ने सुनिन्थ्यो । देश फर्कनसक्नेहरू फर्किनु राम्रो भनेर पनि विदेशी विद्यार्थीका बीच हल्ला चल्यो ।
अहिले चीन स्थिर देखिन्छ, समृद्ध देखिन्छ, बलियो देखिन्छ । अधिकांश मानिस खुसी र सन्तुष्ट देखिन्छन् । इतिहासले सिकाएको धेरै पाठ सिकेका होलान् त्यहाँका नेताहरूले । हाम्रो देशका नेताले पनि अरुको र आफ्नै देशको इतिहासबाट कहिले सिक्ने होलान् पाठ ?