काठमाडौं । आज भएको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा मास्टेफेन इस्किनाजीको अर्धशतक प्रेरित काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।
६ खेलमा तेस्रो जित हात पारेको काठमान्डुले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ । ६ खेलबाट ६ अंक जोडेको काठमान्डु चौथो स्थानमा उक्लेको छ । काठमान्डुका ओपनर इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे भने माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाए ।
बलिङमा पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।
पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौका सहित १८ रन जोडेका थिए । तर, त्यही ओभरको अन्तिम बलमा आउट भए । यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए ।
बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिख खानले ३–३ विकेट लिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए । जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान १ विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए ।