Logo
Logo

संविधानको सहारा लिएर केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने तयारीमा कांग्रेस

१४ औं महाधिवेशनको मिति अन्योल


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले संविधानको सहारा लिएर वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने तयारी गरेको छ । अहिलेको केन्द्रीय कार्यसमितिको म्याद यही महिनाबाट सकिएपछि कांग्रेसले संविधानको सहारा लिने तयारी गरेको हो ।

१४ औं महाधिवेशन यही फागुनमा गर्नुपर्ने थियो । तर, कोभिड–१९ का कारण र पछिल्लो राजनीतिक घटनाक्रमका कारण महाधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै म्याद थपका उपायमा केन्द्रित बनेको कांग्रेसले फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भन्ने उल्लेख छ ।

कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने र असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख छ । विधान अनुसार असाधारण अवस्थाको एक वर्ष पनि पूरा भएकाले संविधानको सहारा लिनुपर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

१३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसको विधानानुसार पार्टीको आगामी १४औँ महाधिवेशन यही फागुन २० गतेसम्म उद्घाटन गरिसक्नुपर्ने थियो ।

पार्टीले गत असार २२ गते केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले महाधिवेशनको नयाँ मिति तोक्न सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसला कुर्ने भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई निर्वाचनमा जानुपर्‍यो भने भदौ पहिलो साता हुन सक्ने उनले बताए ।

हालको महाधिवेशन कार्यतालिकानुसार गाउँ र नगर वडा अधिवेशन गत पुस ६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस ८ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्ने थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन) पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन गत माघ ६ गते र केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने हालको कार्यतालिका थियो।

प्रतिक्रिया दिनुहोस्