Logo
Logo

आज पनि एमिकस क्यूरीको सुझाव लिंदै सर्वोच्च अदालत, फैसला अर्को सातासम्ममा


दृष्टि संवाददाता

504
Shares

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरीले आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासलाई आफ्नो राय दिंदैछ । विघटन गर्नुपर्ने कारण, आधार र संविधानमा भएको व्यवस्थाका बारेमा एमिकस क्यूरीले मंगलबारबाट राय दिंदै आएको छ । सो क्रम आज पनि जारी रहनेछ ।

पहिलो दिन बद्रिबहादुर कार्कीले पार्टीभित्रको किचलोले संसद विघटन गर्न नहुने तर्क राखेका थिए । तर, संसद विघटन सम्बन्धी व्यवस्थाको व्याख्या इजलासले नै गर्नुपर्ने कार्कीको जोड थियो । दोस्रो दिन बुधबार सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । खरेल र मैनालीको राय बाझिएको थियो ।

खरेलले संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए । मैनालीले भने प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको अधिकार भएको जिकीर गरेका थिए । आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् ।

पाँच जना मध्ये तीन जनाको बहस सकिएको छ । आज बाँकी दुई जनाको पनि बहस सकेर सर्वोच्च अदालतले आउने साताभित्रमा फैसला सुनाउने तयारी गरेको छ । एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।

सर्वोच्चले यस विषयमा राय लिनका लागि पाँच सदस्यीय एमिकस क्युरी झिकाएको थियो । एमिकस क्युरीमा नेपाल बार एसोशिएसनका तर्फबाट बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली छन् । यसैगरी सर्वोच्च अदालत बार एसोशिएसनको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला एमिकस क्युरीमा छन् ।

प्रतिक्रिया दिनुहोस्