Logo
Logo

नेकपा प्रचण्ड–माधव समूहले टुँडिखेल घेराउ गर्दै


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज टुँडिखेल घेराउ गर्ने भएका छन् । मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपत्काका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्क– आकाशेपुलदेखि भद्रकालीसम्म, मजदुर संगठनहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका लागि स्थान तोकिएको छ ।

सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।

संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।
प्रचण्ड–माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ । फागुन ७ गते सबै वडामा विरोध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्