काठमाडौं, ७ फागुन । विभिन्न कार्यक्रम गर्दै आज ७१ औं प्रजातन्त्र दिवस मनाईंदैछ । प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह आयोजना गरेकोछ ।
समारोह अघि नेपाली सेनाले तोप सलामी र विगुल बजाएर बढाईं गरेको थियो । जंगीअड्डा र त्रिचन्द्र महांकाल अस्पतालको भवनबाट विगुल बजाइयो । यसअघि धरहराबाट विगुल बजाउने चलन रहेको थियो । धरहरा पुनर्निर्माणको अवस्थामा रहेकाले जंगी अड्डा र अस्पतालबाट विगुल बजाइएको हो ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।