Logo
Logo
टिप्पणी

ओलीको लाचार छायाँमा देउवा


दृष्टि संवाददाता

1.7k
Shares

 

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा संविधान मिचुवा हुन् ! यो अरु कसैले भनेका होइनन् । अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र असंवैधानिक कमद चालेको भनिएको छ । तर, देउवा आफैले आफूलाई ‘संविधान मिचुवा’ भनेकाले उनलाई संविधान मिचुवा भन्दा अनर्थ हुँदैन ।

गत शुक्रबार नुवाकोटको त्रिशुलीमा आयोजित पार्टी कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले भनेका थिए– ‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्, सबैले मिचेका छन् । संविधान नमिच्ने कोही छैन ।’

देउवा संविधान मिचुवा हुन् भन्नलाई यो भन्दा ठूलो आधार केहि हुँदैन । यसको एक मात्र कारण भनेको आफूलाई पनि ओली संँगै उभ्याउन हरपल आतुर छन्, देउवा । नीतिगत भ्रष्टाचारमा देउवाको पनि भाग छुट्याइएको, प्रमुख प्रतिपक्ष भएता पनि नेता कार्यकर्तालाई सरकारले गरेका गलत कामको विरोध गर्न नदिएको, असंवैधानिक रुपमा संवैधानिक परिषद्को पदाधिकारी सिफारिस हुँदा देउवा निकट व्यक्तिको नाम पर्नुले देउवा र ओलीको साँठगाँठ छ भन्ने कतै लुक्दैन ।

तर, पनि ओली जस्तै देउवाले पनि असंवैधानिक कदम चालेको भन्नै कतै छैन । तर, देश नै असंवैधानिक कदमविरुद्ध लागेको देउवालाई असंवैधानिक कदमको ‘काट्टो’ खान देउवा किन तयार भएका होलान् ? नेता कार्यकर्ता नै तीनछक्क छन् ।

वर्तमान संविधान तत्कालिन कांग्रेस सभापति सुशील कोइलाराको नेतृत्वमा जारी भयो । संविधान बनेपछि देउवा एकपटक प्रधानमन्त्री भए । उनकै नेतृत्वमा स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । यी सबै काम संविधान कार्यान्वयनको थियो । तर, उनै देउवा संविधान नै संकटमा पार्ने ओलीको मतियार बन्न आतुर छन् ।

केहि समय अगाडि भैरहवा पुगेर तत्काल निर्वाचनको काम थाल्न उर्दी जारी गरेका देउवा, पोखरा पुगेर कांग्रेससँग प्रतिगमनविरुद्ध शक्ति प्रर्दशन गर्न पैसा नभएको भन्दै थिए । बिहिबार कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखराको कार्यक्रममा पार्टी सभापति भएर ‘जे पायो त्यही बोल्ने ?’ भन्दै झपारे । जवाफमा देउवाले भनेका थिए– ‘राजनीति गर्ने भए चुुनावको तयारी गर नभए राजनीति छोड ।’ देउवाको हरेक गतिविधि ओलीसँगै ‘सती’ देखिन्छ ।

देउवाले बारम्बार ओली कदमकै पक्षपोषण गर्नुको कारण ओलीले फालेको ‘सत्ता साझेदारी कार्ड’ हो । ओली बेला–बेला भन्छन्– प्रतिधिसभा पुनःस्थापना भए कांग्रेससँग मिलेर सरकार बनाउँछु, प्रचण्ड–माधवलाई थाङ्नामा सुताउँछु ।’

ओलीले देउवालाई अनेक आश्वासन दिएका छन् । ओली आश्वासनमै देउवा आशावादी छन् । त्यसैले त ओलीकै मतियार बन्न तयार छन् । तर, ‘न रहेगा बाँस, न बजेगा बाँसुरी’ भयो भने प्रचण्ड–माधव भोली देउवा नै थाङ्नामा सुत्ने दिन नआउँला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्