काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हटाउनेबारे छलफल थालेको छ । आज बोलाइएको सुरक्षा परिषद् बैठकमा विप्लव समूहको गतिविधिबारे छलफल भएको स्रोतले बताएको छ ।
छलफलमा प्रतिबन्ध फुकुवापछि विप्लव समूहले गर्न सक्ने गतिविधिका बारेमा पनि प्रवेश पाएको बताइएको छ । यो समूहप्रतिको विश्वसनियतामा पनि समिक्षा गरिएको बताइएको छ ।
यस्तै परिषद्को बैठक पछि बोलाइएको मन्त्रिपरिषद् बैठकमा पनि विप्लव समूहलाई लगाइएको प्रतिबन्ध हटाउनेबारे प्रस्ताव लैजाने तयारीमा प्रधानमन्त्री रहेको बुझिएको छ ।
गत शनिबार विप्लव समूहले प्रतिबन्ध फुकुवा गरे वार्ताका लागि आफूहरु तयार रहेको विज्ञप्ती मार्फत जानकारी दिएका थिए । त्यसअघि अनौपचारिकरुपमा सरकार र विप्लव समूहका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।