काठमाडौं । प्रतिनिधिसभा पुनर्थापनापछि रणनीति बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको बैठकमा पूर्वपदाधिकारीहरु समेत सहभागी हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेकपाका दुबै समूहको प्रस्ताव र कांग्रेसले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।
यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । ति मध्ये दुई सांसद निलम्बनमा छन् ।