काठमाडौं । नेपालमा राजनीतिक तरलता उत्पन्न भएसँगै दुई छिमेकी राष्ट्रका कुटनीतिज्ञहरु सक्रिय बनेका छन् । नेपालका लागि चीन र भारतका राजदूतहरु राजनीतिक भेटघाटमा व्यस्त छन् ।
अब बन्ने सरकारका बारेमा उनीहरुले नजिकबाट चासो लिएका छन् । चिनियाँ राजदूत होउ यान्छीले हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास वुढानिलकण्ठ पुगेर भेटवार्ता गरिन ।
उनले नेपालको स्थायीत्वका लागि चीन हरेक सहयोगका लागि तयार रहेको जनाएको सभापति देउवाको निजि सचिवालयले जानकारी दिएको छ । साथै नेपालको अबका परिस्थितिका बारेमा समेत कुराकानी भएको बताइएको छ ।
यस्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि कांग्रेस सभापति देउवासँग भेटेका छन् । उनले पनि पछिल्लो परिस्थिति र कांग्रेसको तयारीबारे जानकारी लिएका थिए ।
यी दुबै देशका राजदूतहरुले अन्य नेताहरुसँग पनि भेटघाट सक्रिय बनाएका छन् । गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि राजनीतिक थप तातिएको छ ।
भारतको प्रतिक्रिया
भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको मंगलबारको फैसलालाई नेपालको आन्तरिक मामिला भएको बताएको छ ।
भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको भन्दै नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।
उनले यसअघि जस्तै नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा भारतको विश्वास रहेको समेत बताए ।