ताप्लेजु। । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको प्राचीन ऐतिहासिक ‘पालुङ्वा दरबार’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
सदरमुकाम नजिक फुङ्लिङ नगरपालिका–३ पालुङ्वा चोकमा रहेको पालुङ्वा दरबारको संरक्षणमा तथा प्रवद्धर्नमा राज्यका निकाय तथा सम्बन्धित पक्षबाट समेत चासो नदिइएको स्थानीयवासीको गुनासो छ ।
संरक्षणकै अभावमा १५० वर्षअघि निर्माण भएको सो दरबारको संरचना दिन प्रतिदिन भत्किँदै गएको उनीहरुले बताएका छन् । दरबारको संरक्षण साथै प्रवद्र्धन गरिएमा पर्यटकीय आकर्षण बन्नसक्ने उनीहरुको बुझाइ रहेको छ । आजभन्दा १६१ वर्षअघि अर्थात् विसं १९१६ मा धर्मजीत पालुङ्वाले सो दरबार निर्माण गरेका थिए ।
हुकुमी शासन चल्ने त्यसबेलाको समयमा धर्मजीतले आफ्ना भाइभारदारमा शासन चलाउन उक्त दरबार बताएको बताइन्छ । हाल झिङ्गटी (घर छाउने इँटा) ले छाएको छाना भत्किँदै गएको छ । छाना भत्किएका कारण वर्षात्मा पानी चुहिएर काठ मक्किन थालेको छ । अहिले सामान्य सरसफाइभन्दा अन्य संरक्षणसम्बन्धी कुनै काम नभएको स्थानीयवासी सूर्यबहादुर पालङ्वा बताउँछन् ।
सूर्यबहादुर सोही दरबार निर्माणकर्ता धर्मजीतका पाँचौँ पुस्ताका सन्तति हुन् । उहाँका पिता–पुर्खाले नै दरबारको संरक्षणमा ध्यान नदिँदा संरचना थप जीर्ण बन्दै गएको हो । एउटा जेलघर कोठा (हिरासत), ६ ढोका, ५ झ्याल र १४ वटाभन्दा बढी खोपी रहेको दुईतले दरबारको संरचना धराप बन्दै गएको उनको भनाइ छ ।
यो संरचना पछिल्लो समयमा मात्र ‘पालुङ्वा दरबार’ का रुपमा चर्चा हुन थालेको हो । सूर्यबहादुरका अनुसार पालुङ्वा दरबारको चर्चा हुन थालेपछि भने संरक्षण गर्नुपर्ने प्रसङ्ग उठ्न थालेको हो । पछाडि स्थापना भएको फुरुम्बो पालङ्वा वंश प्रतिष्ठानले दरबारको संरक्षणमा अहिले चासो दिँदै आएको बुझिएको छ । दरबारको स्वामित्व प्रतिष्ठानलाई हुने गरी पहल भइरहेको पनि बताइएको छ ।