काठमाडौं । राजनीतिक सकस बढ्दै जाँदा निर्णायक देखिएको नेपाली कांग्रेसभित्र पनि शक्ति संघर्ष सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारमा जान आतुर रहँदा संस्थापन इतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर तत्काल सरकारमा जान नहुने अडानमा छ ।
सभापति देउवालाई सन्देश दिन पौडेल समूह पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारी निवासमा छलफलमा जुट्यो । यो समूहले नेकपा औपचारिकरुपमा विभाजन नभएसम्म अहिलेकै अवस्थामा सरकारमा जान नहुने स्पष्ट सन्देश दिएको छ ।
पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अघि नै सभापति देउवालाई सरकारको नेतृत्वमा पठाउन चाहेको छैन । यो समूहले अन्तिमसम्म देउवालाई रोक्ने प्रयास गर्नेछ । कांग्रेसकै नेतृत्वमा सरकारमा जानुपर्ने अवस्था आउँदा यो समूहले महामन्त्री सशांक कोइराला वा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई समेत अघि सार्ने संकेत गरेको छ ।
यसो हुँदा १४ औं महाधिवेशनमा पार्टी नेतृत्व पौडेलले गर्ने र सरकारको नेतृत्व कोइराला वा सिंहलाई दिने गरी छलफल थालेको पौडेल निकट एक नेताले बताए । त्यसो हुँदा संसदीय दलको नेता परिवर्तन गर्न पनि पौडेल समूह जोडघटाउमा लागेको छ ।