काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापा बादललाई सहयोग गर्न नसकिने प्रष्ट पारेका छन् । सहयोग माग्न नेपाल निवास पुगेकाेका बादललाई नेपालले सहयाेग गर्न नसकिने बताएका हुन् ।
डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवारी दिन लगाएकाले बादललाई सहयोग गर्न नसकिने जवाफ नेता नेपालले दिएका उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेता नेपालले बादललाई सहयोग गर्ने भनेर आएको समाचार गलत भएको उनको भनाई छ ।
भेटबारे नेता नेपालकाे सचिवालयले जारी गरेकाे प्रेस नोट –
आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।
मोहन गौतम
पूर्व प्रधानमन्त्री मा. माधवकुमार नेपालको सचिवालय २०७८ जेष्ठ ४ गते
एमालेभित्र विवाद बढीरहेका बेला माधव नेपाल समूह, नेपाली कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवारका रुपमा डा देवकोटालाई उठाउने निर्णय गरेको हो । एमालेले भने गृहमन्त्री रहेका रामबहादुर थापा बादललाई उठाएको छ । ६ जेठमा राष्ट्रियसभा उपनिर्वाचनमा हुँदैछ ।