Logo
Logo

गोर्खालीले थाले बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि रिले अनशन


दृष्टि संवाददाता

378
Shares

लण्डन । गोर्खाहरूले पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै बेलायतमा रिले अनशन शुरु गरेका छन् । बुधबार दिउँसो १ बजेदेखि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको हो ।

बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईको भनाई छ ।

बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक(एक जना अनशन बस्ने योजना रहेको उनले बताए । यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईले बताए ।

गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्