Logo
Logo

१९ वर्षपछि प्रहरीलाई सफलता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ जेठ ।
१९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो ।

अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा चक्कुले हानेर उनले विजयश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आठतोला सुन, ६ हजार नगद र चार हजार रुपैयाँ पर्ने ज्याकेट लिएर उनी भागेका थिए । त्यसयता उनी भारतमा लुक्दै आएका थिए । ‘गृह मन्त्रालयकै अनुमति लिएर हामी उनलाई खोज्दै मुम्बई पुगेका थियौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले भने, ‘महिनौँको मिहिनेतपछि उनलाई पक्राउ गर्न सफल भएका हौँ ।’ अधिकारीलाई बेलहिया नाकाबाट पक्राउ गरिएको सिआइबीले जनाएपछि मुम्बईबाटै पक्राउ गरी ल्याएको प्रहरी स्रोत बताउँछ ।

दुई दशकपछिको न्याय
हत्या भएकै दिन विजयश्वरी १४ वर्षीया छोरी तृप्ती र १२ वर्षीय छोरा विमललाई स्कुल बस चढाएर फर्किएकी थिइन् । तर, बेलुका घर फर्कँदा आमा नियमितजस्तै उनलाई कुरेर बसेकी थिइन् । घर चकमन्न थियो । पछि खोज्दा किचेन कोठामा रक्ताम्य अवस्थामा आमालाई देखेपछि छिमेकीलाई खबर गरेका थिए । अहिले तृप्ती विदेश र विमल नेपालमै छन् । बालकमै आमा गुमाएको रहस्य थाहा पाउन उनीहरूलाई १९ वर्ष लाग्यो ।

सुरुदेखि नै अधिकारीमाथि शंका
प्रहरी र मृतकका आफन्तले सुरुदेखि नै दयारामले हत्या गरेको आशंका गरेका थिए । हत्यालगत्तै उनी फरार हुनुले पनि प्रहरीको आशंकालाई बल पुगेको थियो । पर्साको सुवर्णपुरस्थित घर पुग्दा पनि उनी भेटिएनन् । उनी पक्राउ नपरेसम्म हत्याको कारण यही हो भन्न सकिने अवस्था थिएन । पक्राउ परेपछि दयारामले तलबमा विवाद भएपछि रिसको आबेगमा हत्या गरेको भनेर स्विकारेको डिआइजी शाहीले बताए ।

विजयश्वरीको हत्यालगत्तै उनी भारत भागेका थिए । सुरुमा उनी बनारस र पछिल्लो समय मुम्बई बस्दै आएका थिए । उनलाई पक्राउ गर्न प्रहरीले निकै प्रयास गरे पनि कुनै सम्पर्क सूत्र भेटाउन सकेको थिएन । ‘अपराध महाशाखाबाट पनि धेरै नै प्रयास गरेका थियौँ,’ सिआइबीका एसपी दीपक रेग्मी भन्छन्, ‘अहिले निकै मिहिनेतपछि उनलाई पक्राउ गर्न सफल भएका छौँ । यो घटनाले अनुसन्धानमा समय लाग्छ, तर सफल हुन्छ भन्ने देखाउँछ ।’

तुलसीभक्तको पीडा
श्रीमतीको हत्यारा पक्राउ गर्न तुलसीभक्तले के मात्र गरेनन् । सुरुको वर्ष प्रहरी कार्यालय धेरै धाए । पछिल्लो समय पनि उनी प्रहरीकहाँ पुगिरहन्थे । ‘त्यतिवेला नै ७५ जिल्लामै यो व्यक्तिलाई देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोला भनेर उसको फोटो टाँस्यौँ,’ सोमबार सिआइबीमा भेटिएका उनले भने, ‘प्रहरीको निरन्तरको प्रयासले अन्ततः उनी पक्राउ परेका छन् ।’ श्रीमतीका हत्याका अभियुक्तलाई हेर्न उनी सिआइबी कार्यालय पुगेका थिए जहाँ अभियुक्त अधिकारीले तुलसीभक्तको मुखसमेत हेर्न सकेनन् ।

तुलसीभक्त आफैँले अधिकारीलाई पर्साबाट ल्याएका थिए
तुलसीभक्तले नै उनलाई आफ्नो घरमा काम गर्न पर्साबाट ल्याएका थिए । ०५६ सालमा उनी पर्साको जिल्ला वन अधिकृत (डिएफओ) थिए । कार्यालयमा एक कर्मचारी चाहिएको थियो । रेन्जरको सिफारिसमा अधिकारीलाई करारमा नियुक्त गरे । प्रजापतिको क्षेत्रीय वन कार्यालय, हेटौँमा सरुवा भयो । अधिकारीको करार पनि सकिएको थियो । उनले जागिर खोजिदिन आग्रह गरे । प्रजापतिले दिउँसो पसलमा र बिहान–बेलुका आफ्नो घरमा काम गर्ने गरी राखेका थिए । उनको तलब एक हजार पाँच सय रुपैयाँ तोकिएको थियो । सात महिनासम्म पनि आफूले तलब नपाएको भन्दै उनले झगडा गर्दै आएका थिए । त्यो दिन पनि त्यही विषयमा झगडा हुँदा उनले हत्या गरेको प्रहरीले जनाएको छ । विजयश्वरी खाना खाइरहेको वेला सुरुमा उनले कुटोले घाँटीको पछिल्लो भागमा हानेका थिए । त्यसपछि दुईबीच करिब पाँच मिनेट तानातान भयो । पछि चक्कुले घाँटीमा हानेर हत्या गरेपछि धनमाल लिएर अधिकारी भागेका थिए ।

किन १९ वर्ष लाग्यो ?
विजयश्वरीको हत्या हुँदा अच्युतकृष्ण खरेल नेपाल प्रहरीको आइजिपी थिए । उनले यो घटनाको अनुसन्धानलाई प्राथमिकता दिएका थिए । तर, पनि अभियुक्तको चलाखीले प्रहरीले केही गर्न सकेन । अहिलेजस्तो त्यसवेला मोबाइल थिएन । अभियुक्त भारतमै बसेको र लामो समयसम्म परिवारसँग समेत सम्पर्क नगरेकाले प्रहरी पक्राउ गर्न असफल भएको थियो ।

हत्यापछि सीधै उनी भारत गएका थिए । केही दिन बनारस बसेको र पछि पुणे गएको उनले बताएका छन् । पुणेपछि उनी मुम्बई पुगेका थिए । त्यहाँ विभिन्न ठाउँमा जागिर खाँदै उनी पछिल्लो समय लोरी चालक बनेका थिए । त्यहाँ उनले प्रकाश अधिकारीको नाममा भारतीय रासनकार्डसमेत लिएका थिए । भारतीय युवतीसँगै बिहे गरी उनी त्यतै बस्दै आएका थिए । १९ वर्षको अवधिमा उनी चारपटक मात्र नेपाल आएका थिए । उनकी जेठी श्रीमती पोखरामा बस्दै आएकी थिइन् । तर, नेपालको परिवारसँग कमै मात्र सम्पर्क राख्ने भएकाले उनलाई पक्राउ गर्न प्रहरीलाई निकै गाह्रो भएको थियो ।
संयोग कस्तो भने ‘अपने टाइम आएगा’ लेखिएको टिसर्ट लगाएका वेलामा उनी पक्राउ परे । ‘सायद पक्राउ पर्ने उनको समय आएको थियो,’ सिआइबीका एक प्रहरी अधिकारी भन्छन, ‘यअसघि उनको भाग्य बलियो थियो, यसपटक प्रहरीको भाग्य बलियो भयो ।’ महानगरीय प्रहरी वृत्त जगातीले उनीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ । ढिला भएपनि प्रहरीले कुनै पनि घटनाका अभियुक्त पत्ता लगाएरै छाड्छ भन्ने कुरा यो घटनाले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्