Logo
Logo

सरकारी जागिर त्यागेर राजनीतिमा, देश हाँक्ने सपना


88.8k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् । राजनीतिक दलका मात्रै नभइ विभिन्न पेशा र विधाका व्यक्तिले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कतिपयले सरकारी जागिरै त्यागेका छन् ।

तीमध्येका एक हुन्, गोपालचन्द्र राई । जसले सातौँ तहको जागिर छाडेर राजनीति रोजे । उनी, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी बनेका गोपालचन्द्रले नौ वर्ष सरकारी जागिरेका रुपमा जनताको सेवा गरे । अब जनप्रतिनिधि भएर जनताको सेवा गर्न तम्सिएका छन् ।

‘सातौँ तहको जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दैछु’, उनले भने, ‘९ वर्ष १ महिना ८ दिन सेवा गरेपश्चात जनप्रतिनिधि बनेर जनताको सेवा गर्ने प्रण गरेको छु ।’

को हुन् गोपालचन्द्र ?
खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे बोल्पाका गोपालचन्द्र केशरबहादुर राई र कृष्णकुमारीका कान्छा छोरा हुन् । बतासेबाटै एसएलसी उत्तिर्ण गरेका उनले खोटाङको दिक्तेल बहुमुखी क्याम्सबाट स्नातक गरे ।

राजविराजबाट राजनीतिशास्त्र (एलएलवी) र जनप्रशासन क्याम्पसबाट (एमपीए) गरेका उनको राजनीतिक जीवन बतासेस्थित जिल्लाकै पुरानो विद्यालय श्री जनता उच्च मावि भण्डारी डाँडाबाट सुरु भएको थियो ।

गोपालचन्द्रले २०५६ देखि ०५९ सालसम्म अनेरास्ववियूमा रहेर एमालेको राजनीति गरे । त्यसपछि एमाले परित्याग गरी माओवादी रोजेका उनी २०६६ देखि ६९ सम्म जिल्ला सदस्य भए ।

जागिरे जीवन सुरु गरेसँगै पेसागत संगठनमा आवद्ध भए । उनले नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संगठन ट्रेड युनियनको केन्द्रीय अध्यक्षसमेत सम्हाल्ने अवसर पाए ।

यसैक्रममा नेपाल आयल निगमको आधिकारिक ट्रेड युनियनको अध्यक्ष समेत बनेका गोपालचन्द्र हाल माओवादी केन्द्र उपत्यका विशेष प्रदेशको सदस्य हुन् ।

भोको समाजमा धनी हुन चाहन्न
‘गरिबी र अभावले जागिरे भएँ । तर, जागिरबाट व्यक्तिमात्र धनी हुनेरहेछ । घर बनाउन सकिने रहनेछ, छोराछोरी पनि पढाउन सकिने रहेछ । तर, समाज भोकै । समाज भोको हुँदा धनी हुन सक्दिनँ र चाहन्न’ उनले भने ।

‘समाजलाई धनी बनाउन स्थानीय स्रोत र साधन काफी छ । बजेट प्रशस्त छ । ती बजेटलाई समुचित प्रयोग गरी प्रत्येकलाई रोजगारी दिन सकिन्छ ।’, उनले भने, ‘जे सिप र ज्ञान छ, त्यसलाई विकास र उत्पादनसँग जोड्नुपर्छ । सम्पनता यही सम्भव छ । विदेश जानुपर्दैन ।’

राजनीति पेशा होइन
राजनीतिलाई धैरेले पेशा बनाए । तर, गोपालचन्द्र भने विशुद्ध सेवा भन्छन् । सेवालाई चाहिँ पेशा बनाएको उनको कथन छ ।
‘राजनीति पैसा प्रधान भएको छ । त्यसलाई निरुत्साहित गर्ने हो’ उनले थपे, ‘र, युवाको मनोभावना र दिप्रुङबासीको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ । दिप्रुङबासीले चाहने हो भने विकास सम्भाव छ । रोजगारीको वातावरण यही बन्छ । कोही बेरोजगार हुनु पर्दैन ।’

‘आर्थिक समृद्धि र न्यायसहितको समानता, प्रत्येक युवालाई रोजगारी हाम्रो प्रतिबद्धता’ उनको नारा हो । ‘एक घर एक रोजगार’ भन्ने कार्यक्रम ल्याएर युवालाई रोजगारी दिने आफ्नो लक्ष्य सुनाउँदै भने, ‘जसका लागि स्थानीय नीतिगत ऐन–कानुन बनाउनुपर्नेछ ।’

शिक्षा नपुगेको ठाउँमा विद्यालय, जीर्ण भवनहरुलाई मर्मत गर्ने, हिलाम्मय सडक स्तरोन्नती गर्ने उनको योजना छ । पालिकामा कृषि बैंक स्थापना गर्ने उनको चाहना छ ।

मालिकविरुद्ध राजनीति
देश र समाजका लागि सेवा गर्न राजनीतिमा आएको भन्दै उनले भने, ‘म मालिक होइन, सेवक बन्न आएको हुँ ।’ मालिक कस्तो हुन्छ भन्ने उनले जागिरे जीवनमै भोगेका छन् । भन्छन्, ‘मालिक, हाकिम र उपल्ला वर्गले कसरी तल्ला वर्गलाई दमन गर्दारहेछन् भन्ने भोगेको छु’ उनले भने, ‘त्यसैले सेवक बन्न राजनीतिमा आएको हुँ ।’

विभेदरहित वितरणको चाहना
बजेट वितरण विभेदपूर्ण छ । पार्टीका कार्यकर्ता र नजिकालाई मात्रै बजेट दिने, आफ्नो क्षेत्रको विकास निर्माणलाई मात्र प्राथमिकतामा राख्ने गलत परम्परा छ । त्यसविरुद्ध मेरो उम्मेदवारी हो । उनी भन्छन्, ‘म जाती, वर्ग, क्षेत्र र पार्टीको आधारमा विभेद गर्दिनँ, वजेट विनियोजन विभेदरहित हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

पत्रकारिता र साहित्य
विद्यार्थी राजनीतिसँगै गोपालचन्द्र २०६० देखि २०६८ सम्म पत्रकारितामा संलग्न उनले भावना साप्ताहिक, जनविचार साप्ताहिक, रुपाकोट एफएम, सप्तकोशी एफएम र राजधानी दैनिकमा आवद्ध भएर पत्रकारिता गरे ।


सानैदेखि साहित्य र संगीतमा रुची राख्ने उनले थुप्रै गीत रचना गरेका छन् । गोपालचन्द्रको ‘भेटिएका डायरी’ नामक कृति प्रकाशित छ ।

०००

गोपालचन्द्रको प्रतिवद्धता
पालिकामा अनियमितताजन्य विकृति छन् । सुधार गर्न समाज राखेर सार्वजनिक लेखा परीक्षण गर्छु । महालेखा परीक्षकको प्रतिवेदन मात्र होइन, जनताको लेखा परीक्षणलाई विश्वास गर्छु । आर्थिक पारदर्शिताका सवालहरु जनताको घरका भित्ताभित्तामा टाँस्नेछु ।

शासक बनेर कार्यालय टक्क बस्ने र नमस्कार थाप्ने प्रवृत्तिविरुद्ध लड्छु । म नमस्कार खानका लागि होइन, घरदैलोसम्म सेवा सुविधा पुर्याउन आएको हुँ ।

प्रष्ट छु- जनतालाई समृद्ध बनाउन सके मेरो राजनीतिक यात्रा अघि बढ्छ, नसके टुंगिन्छ । म लामो यात्रामा निस्केको यात्री हुँ । पालिका हुँदै देशको नेतृत्व गर्ने सपना बोकेको छु । त्यसैले, जनताप्रति म प्रतिवद्ध हुनेछु ।

प्रतिक्रिया दिनुहोस्