Logo
Logo

एमालेले भन्यो- काम चलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्दैन


882
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन घोषणापछि वर्तमान सरकार काम चलाउ भएको भन्दै सदनलाई बिजनेस दिन नमिल्ने बताएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरे, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’ तर, ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा भने उनले सरकारलाई धन्यवाद दिए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गत बिहीबार गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग पनि कार्यसूचीमा देखेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । गत २९ फागुनमा दर्ता भएको सामान्यत महाअभियोग दर्ता भएको तीन महिनामा टुंगो लाग्ने भएपनि सरकारले राजनीतिक प्रतिशोध राखेर संसदमा प्रस्ताव नल्याएको उनको भनाइ थियो ।

नेता ज्ञवालीले भने ‘हामीले भन्दै आएका छौं, उनी महाअभियोगको भागिदार हुन् भने गहिरो छानबिन गरौँ, महाअभियोग लगाएर हटाऔँ । होइन भने यो ढंगले झुण्ड्याउन मिल्दैन ।’ उनले अब सरकारले नियमित ढंगले बिजनेस दिएर संसद चलाउनु उचित नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्