Logo
Logo

महिला संघकाे स्थापना दिवस मनाइँदै


252
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको ७५औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको हो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएको थियो ।

भेलाले सिंहको अध्यक्षतामा ११ सदस्यीय महिला संघ तदर्थ कार्यसमिति गठन भएको थियो । महिला अधिकारका लागि राजनीतिक संगठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाको प्रवेशका लागि कोशेढुंगाका रूपमा लिने गरिन्छ ।

कांग्रेसक नेत्री एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला नेपाली राजनीतिमा महिलाको ठूलो योगदान रहेको बताउँछिन् । ‘लोकतन्त्र स्थापनामा नेपाली महिलाको महत्वपूर्ण भूमिका छ,’ उनी भन्छिन्, ‘महिलाले नेपाली राजनीतिमा गरेको योगदानको आधारमा आगामी निर्वाचनमा महिलालाई टिकट दिनुपर्छ ।’

महिला आन्दोलनका कारण प्रतिनिधि तथा प्रदेशसभामा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित भएको महिला संघका निवर्तमान अध्यक्ष एवं महिलामन्त्री उमा रेग्मीले बताइन् । ‘स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्ने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने नियम महिला आन्दोलनका कारण भएको हो,’ उनले भनिन् ।

२००३ मा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा दिव्यादेवी कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीलगायतका जेल परेका थिए । २००७ को क्रान्तिपछि पार्टी स्वतन्त्र भएपछि महिला संघले पनि खुलारूपमा काम गर्न थालेको थियो । कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम महिला आन्दोलनका कारण पछिल्लो समय महिला राजनीति र देशका अन्य तहमा पुगेको बताउँछिन् ।

‘महिला आन्दोलनको उपलब्धि जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, त्यो बढ्न नसक्नु दुःखको कुरा हो, तर संविधानमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गरेको छ त्यो महिला आन्दोलनका कारण भएको हो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्