Logo
Logo

प्रचण्डको घोषणा- चितवन तीनबाटै निर्वाचन लड्छु


1.7k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर तीनबाटै निर्वाचन लड्ने बताएका छन् । जापान भ्रमणमा रहेको प्रचण्डले पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४-५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला । बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ । किनकी मैले भनेको छु, म एउटा राष्ट्रिय लिडरको हैसियतले देशभरीको विकास र देशभरीको समृद्धि नै सोच्छु मैले । देशको केन्द्रविन्दुमा भएको र विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएको हुनाले देशैभरीलाई एउटा सन्देश जाओस् भनेर पनि मैले चितवनलाई महत्व दिइराखेकै छु ।’

अध्यक्ष प्रचण्डले देशका विभिन्न ठाउँबाट आफूलाई निर्वाचन लड्नका लागि अनुरोध आएको बताए । उनले भने, ‘मलाई चुनाव लड्नुपर्यो भनेर रुकुमका साथीहरुले गोरखाका साथीहरुले, धनुषाका साथीहरुले, सिरहाका साथीहरुले, कालिकोटका साथीहरुले धेरैले भन्नुभएको छ । भित्रैदेखि भन्नुभएको छ । साथीहरुलाई के परेको छ भन्दाखेरी प्रचण्ड आइदिएखेरि जिल्लाको विकास अलिकति व्यापक रुपले हुन्थ्यो । पहिचान हुन्थ्यो जिल्लाको भन्ने लागेको छ । तर मैले सबै साथीहरुलाई धन्यवाद भन्दै म चाही यो पटक चितवनबाटै लड्छु भनेको छु ।’

उनले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले, अहिले पनि (प्रधानमन्त्रीको प्रस्ताव) छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’

चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको भन्दै प्रचण्डले भने, ‘म त्यस्तो छिनाझपटीमा छैन । म दुईचोटी प्रधनमन्त्री भइसकेको छु । मेरो चाहना देशमा सुशासन र विकासको वतावरण बनोस् भन्ने छ । त्यसमा योगदान गर्न मन छ । एकचोटी जीवनको बाँकी अवधि देशको विकासमा नयाँ मोडल दिन मन छ ।’

प्रतिक्रिया दिनुहोस्