Logo
Logo

अत्याधिक शुल्क वृद्धि गरको भन्दै चक्रवर्ती कलेजविरूद्ध सर्वोच्चमा मुद्दा


693
Shares

काठमाडौं । अत्याधिक शुल्क वृद्धि गरेको भन्दै काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवार्ती कलेजविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र ०७९ को एल.एल.एमतर्फको प्रवेश परीक्षाको परीक्षाफल प्रकाशन गरेपछि कलेजले अत्याधिक मात्रामा शुल्क वृद्धि गरको भन्दै विद्यार्थीहरुले सर्वोच्चमा मुद्दा दर्ता गरेकाे हो ।

उक्त मुद्दामा चक्रवर्ती हवी एजुकेशन एकेडमी (कलेज अफ ल) बिजुलीबजार, पूर्वाञ्चल विश्वविद्यालय विराटनगर, प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

व्यापक शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरू आन्दोलित बनेका थिए । कलेज प्रशासनले वास्ता नगरेपछि न्यायको ढोका ढक्ढक्याउनुको विकल्प नभएकाले मुद्दा दायर गरेको विद्यार्थिहरुको भनाइ छ ।

चक्रवर्ती हवी एजुकेशन एकेडेमीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म स्नातक (बिए.एल.एल.बि) अन्तर्गत पाँच वर्षे कोर्षको लागि जम्मा शुल्क ७ लाख १६ हजार ४ सया रुपैयाँ लिँदै आएको थियो । एकेडेमीले एकैचोटी ४९.३६ प्रतिशतले वृद्धि गरी १० लाख ७० हजार पुर्याएको छ । त्यस्तै स्नाकोत्तर (एल.एल.एम) कार्यक्रम अन्तर्गत दुई वर्षे कोर्षमा ३ लाख २३ हजारदेखि बढाएर ५ लाख ४८ हजार पुर्याएको छ ।

एकेडेमीले आफूखुशी मनपरी शुल्क बढाउँदा कानुन क्षेत्रको विद्यार्थी शिक्षाको हकबाट वञ्चित हुने अवस्था सिर्जना भएको विद्यार्थीको भनाइ छ । साथै भविष्यमा कानुन पढ्न चाहने विद्यार्थीहरुलाई समेत अन्यौलमा पारी निरुत्साहित गर्ने काम भएको रिटमा उल्लेख छ ।

चक्रवर्ती कलेजले अत्याधिक प्रतिशत शुल्क वृद्धि गरेपछि विद्यार्थी आन्दोलित हुँदै आएको छ । कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने साढे तीन लाखभन्दा बढी शुल्क वृद्धि गरेको विद्यार्थीको भनाइ छ ।

शुल्क घटाउन कलेज प्रशासन तयार नभएपछि विद्यार्थीले प्रशासनमा तालाबन्दी समेत गरको थियो । विद्यार्थीहरूमाथि कलेज प्रमुखले सुरक्षा गार्ड र बाउन्सरहरू लगाएर हातपात गर्न लगाएको एक विद्यार्थीले बताए ।

‘प्रहरीले हामीमाथि लाठीचार्ज गर्यो । एक जनाको हाँत भाँचिएको छ भने अर्का एक विद्यार्थीको खुट्टा भाँचिएको छ,’ उनले भने, ‘एक जना साथी एभरेष्ट अस्पताल भर्ना हुनुभएको छ । टाउकोमा गम्भीर चोट छ ।’

प्रहरीले आन्दोलनरत विद्यार्थीमध्ये तीन जनालाई केही घन्टा थुनेर थुनामुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्